Tuesday, March 19, 2013

पेट्रोल अभाव भएकै राम्रो

जाँदाजाँदै भट्टराई सरकारले इन्धन अभावको उपहार दियो । सरकारको अखण्ड विरोध गर्नेहरुका लागि नयाँ बहाना मिल्यो । अरु कुनै विरोधले नगलेको सरकार आप्mनो वहिर्गमन निश्चित भइसकेकाले निश्चिन्त थियो । त्यसैले त्यही भयो, जे आशा थियो – अर्थात केही भएन । अरु बेलामा भएको भए सरकारलाई यस्तो अभावको प्रत्यक्ष फाइदा पुग्थ्यो । विरोधीहरु सरकार नालायक भएको नारा अलाप्थे र सरकार केही दिनमा आपूर्ति सुचारु गरी उनीहरुलाई चुप लगाउने अभूतपूर्व अवसर पाउँथ्यो । यसपालि सरकारलाई त्यस्तो केही गर्नु परेन ।
***
असन्तुष्ट हुनु नै पत्रकारको एक मात्र धर्म हो कि जस्तो लाग्छ । जति सूचना पाए पनि नपुग्ने, जति लेखे पनि नहुने । उनीहरुलाई पात हल्लेको लेख्न हावा चल्नु नै पर्दैन, हावा चल्दैछ भन्ने सुईंको मात्र पाए पुग्छ । कतिपय पत्रकार साथीहरु दिउँसो ४ बजेतिर खुइय सुस्केरा हाल्दै हावा नचलेको निराशा व्यक्त गरिरहेको सुन्न पाइन्छ । पेट्रोल अभाव (यहाँ मैले जानाजान पेट्रोल अभाव लेखेको हुँ किनकि अधिकांश पत्रकारहरु दुई पाङ्ग्रेमा गुड्छन् । अर्कातर्पm जत्ति नै अभाव भएपनि सार्वजनिक यातायात बन्द भएको छैन शहरमा) हुनु भनेको त उनीहरुका लागि आँधी हुरी आए सरह हो । नभए पत्रपत्रिका र टीभी हेर्नुस त, हेडलाइन के छ ? तस्वीर के छ ? भिडियो के छ ? भक्स पप के छ ? सञ्चारमाध्यम मात्र किन पूरा मुलुक डिजेल पेट्रोलमय भएको छ । मट्टीतेलको के कुरा गर्नु र ? पत्रकारले स्टोभमा खाना पकाउने भए मुलुक मट्टितेलमय हुन्थ्यो होला । तर, पत्रकारको जीवनस्तर बढेको छ क्यारे त्यसैले मट्टितेलको चर्चा हुँदैन मिडियामा ।
इन्धन अभावले धेरै पत्रकारलाई रोजगारी दिएको छ । कति सिंहदरबारको चक्कर लगाउँछन्, कति आयल निगम धाउँछन् । धेरैजसो पेट्रोल पम्प पनि पुग्छन् । पत्रकार हुम् भनेर तेल पाइयो भने समाचार अलि नरम हुन्छ, पाइएन भने तेल अभाव निकै चर्को हुन्छ । पेट्रोल पम्पमा लागेको लाइनले पत्रकारको जागिर जोगाइदिएको छ । फोटोपत्रकारले एङ्गल फेरेर तस्वीर लिन पाएका छन् । टीभीले भक्स पप लिन र सरकारलाई गालि गर्न पाएका छन् । इन्धन अभाव नभएको भए के यो सम्भव थियो र ?
***
भद्रकालीस्थित सेनाको रिपुमर्दिनी पेट्रोल पम्पमा लाइन लाग्दै गर्दा छेवैमा एउटी युवती आइपुगिन । विहान नौ बजे लाइन लागेको बताउने उनी दिउसो १ बज्दासम्म पनि लाइनमै थिइन् । नयाँ डियो लिएर आएकी उनी आपूmलाई घामले पोलेको र भोक लागेको भन्दा स्कुटी कोरिएला कि भन्नेमा बढी चिन्तित थिइन् । तर, त्यसबेलासम्म उनको स्कुटीले ३÷४ चोट खाइसकेको देखिन्थ्यो । उनलाई स्कुटी अड्याउन, जोगाउन सघाउने र चर्को घाममा पानी खुवाउने एक अर्का युवा थिए । ५ घण्टा लाइनमा बस्दाबस्दै उनीहरुको आत्मीयता निकै बढेर गएजस्तो लाग्थ्यो । त्यसबीचमा उनीहरुले मोबाइल नम्बर साटासाट पनि गरे । युवक पनि के कम भोली पल्टै एउटा क्याफेमा कफीको निम्ता दिइहाल्यो । युवतीले मुस्कानका साथ मुण्टो हल्लाइन् ।
***
छेउमै उभिएका एक अधवैंशेको फोन बज्यो । फोन छोरीले पढ्ने स्कुलबाट आएको रहेछ । छोरीलाई अचानक ज्वरो आएकाले मिसले फोन गरेकी रहिछन् । ‘आपूm खाना खान नपाईकन यो घाममा टाक्सिएको छु, उता छोरी बिरामी भई,’ उनी भुत्भुताए । अनि उनले आप्mनी जहानलाई फोन घुमाए । नेपाल टेलिकमको केन्द्रीय कार्यालयको छेउमै उभिए पनि उनले फोनमा प्रष्टसँग कुरा गर्न पाएनन् । एक पटक एनटीसीलाई सरापे अनि कटुवाल शैलीमा कराउँदै छोरी बिरामी भएकोले जहानलाई स्कुल जान भने । गृहिणी जहान शायद जान मानिनन् । अनि उनले झपार्दै आपूm पेट्रोलको लाइनमा बसेर निस्किन नसकेको बताउँदै तुरुन्त जान भने । त्यसपछि उनी जान मानिन् क्यारे । उनले सन्तोषको सास फेर्दै भने, ‘एउटा कुरा त राम्रै भयो । मेरी बुढी घरबाट निस्किनै मान्दिन । पेट्रोलकै दुःखले कमसेकम उसले छोरीको स्कुल त देख्ने भइ ।’
***
मुलुकको प्रमुख शासकीय केन्द्र सिंहदरबारको मुखैमा सयौं मानिस त्यसरी ठेलमठेल गर्दै तेल भर्ने लाइनमा बसेको दृष्य अन्य मुलुकमा देख्न कहाँ पाउनु र ? त्यसैले होला, सिंहदरबार–भद्रकाली–शहीदगेट सडकमा गुड्ने सबै पर्यटकीय बाहनका सवारहरुका लागि त्यो विरलाकोटीको दृष्य भयो । त्यहाँबाट हिंड्ने सम्पूर्ण विदेशी पाहुनाहरुले आफुले सकेसम्म र धित मरुन्जेत त्यो लाइनको फोटो र भिडियो खिचे । उनीहरुको अनुहारमा आश्चर्य र रोमाञ्चको भाव थियो । मलाई लाग्यो, यो इन्धन अभावले नेपालको पर्यटकीय महत्व थप बढेको छ । बरु समय तालिका बनाएरै बेलाबेलामा इन्धन अभावको आयोजना गर्ने हो कि ?
***
भद्रकालीको पाँच घण्टे लाइनले अरु पनि धेरै काम ग¥यो । त्यस अवधिमा ३ जनाले पानी बेचे, त्यो पनि एकदुई बोतल होइन केही कार्टोन पूरै । चनाचटपट, मेवा र फलपूmलको विक्री पनि बढ्यो । त्यसले केही नेपालीलाई उद्यमशील बनायो । उनीहरुको व्यापार व्यवसाय केही दिनका लागि भए पनि बढ्यो ।

मोदनाथ ढकाल (चैत ३, २०६९)

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...