Wednesday, February 18, 2015

लगानीको पर्खाइमा डेढ खर्ब




चरम सरकारी उपेक्षाले लगानी हुन सकेन
माघ १२, काठमाडौं । एक दर्जन सार्वजनिक संस्थामा रहेको डेढ खर्ब रुपैयाँ लगानी हुन सकेको छैन । सेना, पुलिसदेखि राष्ट्र बैङ्क र सामाजिक सुरक्षा कोषलगायत संस्थामा रहेको सवा ३ खर्ब रुपैयाँको झण्डै आधा रकम निष्क्रिय भई थन्किएको छ । मुलुकलाई अतिकम विकसितबाट विकासशीलमा ग्य्राजुएट गर्ने तथा स्वदेशमै रोजगारी सृजना गर्ने योजना बुने पनि सरकार तथा नीतिनिर्माताहरूको ध्यान यसरी थुप्रिएको निष्क्रिय रकम परिचालनतर्पm पटक्कै गएको छैन । जलविद्युत्, सडक, सुरुङ मार्ग तथा पर्यटनका ठूला परियोजनामा ठूलो परिमाणमा लगानी आवश्यक छ भने सरकारी संस्थामा नै खर्बौं रुपैयाँ लगानी हुन नसकेर अड्किएको छ । झण्डै दशक अघिदेखि नै यस्ता सङ्घसंस्थामा सङ्कलित रकम परिचालन गर्नेबारे बहस चल्दै आए पनि त्यसको टुङ्गो अझै लाग्न सकेको छैन ।

ती दर्जन संस्थामध्ये कर्मचारी सञ्चयकोषसँग मात्रै करीब रू. १ खर्ब ७० अर्ब लगानीयोग्य रकम रहेको छ । त्यसको करीब ७० प्रतिशत सञ्चयकर्तामा ऋण प्रवाह भएको छ भने २८ अर्ब रुपैयाँ वाणिज्य बैङ्कको मुद्दती खातामा छ । हालसम्म कोषले करीब ९ अर्ब रुपैयाँ जलविद्युत्मा लगानी गरिसकेको छ । यस्तै, करीब रू. ३० अर्बबराबरको प्रतिबद्धता भइसकेको प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

हाल नागरिक लगानी कोषमा करीब ५७ अर्ब रुपैयाँ सङ्कलन भएको  छ । सोमध्ये केही रकम विभिन्न क्षेत्रमा लगानी गरे पनि अधिकांश रकम अभैm लगानी हुन नसकेर वाणिज्य बैङ्कको निक्षेपमा जम्मा गर्नु परेको कोषका प्रवक्ता सुशीलकुमार अर्यालले जानकारी दिए । उनका अनुसार अहिले पनि कोषको करीब रू. २८ अर्ब रकम विभिन्न वाणिज्य बैङ्कको मुद्दती निक्षेपमा छ । यद्यपि कोषले जलविद्युत्लगायत केही उत्पादनशील क्षेत्रमा पनि लगानी परिचालन गरेको छ । कोषका अनुसार हाल नेपाल आयल निगम, जनक शिक्षा सामग्री केन्द्र र उपल्लो तामाकोशीमा आवधिक कर्जा (टर्म लोन)का रूपमा रू. १० अर्ब ३४ करोड प्रवाह भएको छ । यस्तै, कोषले अन्य उत्पादनमूलक क्षेत्रमा लगानी प्रवाह गर्न चाहे पनि अवसर नपाएको प्रवक्ता अर्यालले जानकारी दिए । त्यस्तै बीमा संस्थान र बीमा कम्पनीको अर्बौं रुपैयाँ पनि लगानी हुन सकेको छैन । ती संस्थाले केही रकम जलविद्युत् र केही बैङ्क तथा वित्तीय संस्थामा लगानी गरेका छन् ।

जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडसँगको ८ अर्ब ७७ करोड रुपैयाँमध्ये २ अर्ब ८६ करोड रुपैयाँ मात्र विभिन्न ६ जलविद्युत् आयोजनामा लगानी भएको छ । बीमा समितिसँग पनि करीब रू. ९० करोड लगानीयोग्य रकम रहेको छ । बीमा शुल्कबापत प्राप्त उक्त रकम समितिले विभिन्न वाणिज्य बैङ्कमा मुद्दती निक्षेपमा राखेको छ । यस्तै, नेपाल राष्ट्र बैङ्कसँग पनि करीब रू. १५ अर्ब लगानीयोग्य रकम रहेको छ ।

बैङ्कले आफ्ना कर्मचारीका लागि व्यवस्था गरेको दायित्व शीर्षकमा रहेका उपदानलगायतबाट उक्त रकम जम्मा भएको हो । राष्ट्र बैङ्कले पनि सो रकम विभिन्न वाणिज्य बैङ्कमा निक्षेपको रूपमा रहेको बैङ्क स्रोत बताउँछ ।

ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ)मा जम्मा भएको झण्डै १० अर्ब रुपैयाँले पनि लगानीको बाटो खोजिरहेको छ । नेपालमा सञ्चालित टेलिकम कम्पनीहरूले आफ्नो वार्षिक आयको २ प्रतिशत कोषमा जम्मा गर्दै आएका छन् । सो रकमबाट मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने तथा ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्ने भनिए पनि हालसम्म त्यस दिशामा कुनै प्रगति हुन सकेको छैन ।
नीतिगत अभाव
नेपाली सेना, नेपाल प्रहरी, सामाजिक सुरक्षा कोष, रोजगार प्रवद्र्धन बोर्डलगायतमा ठूलो परिमाणमा रकम थुप्रिन थालेको बर्षौं भइसक्यो । तर, सो रकमको व्यवस्थापनका लागि सरकारले कुनै पहल गरेको छैन । केही सरोकारवाला संस्थाले चरम सरकारी उदासीनताकै कारण ती संस्थामा लगानी हुन नसकेको बताए । खासगरी लगानीका लागि आवश्यक नीतिगत व्यवस्था नहुँदा ती संस्थामा निष्कृय कोषको मात्रा बढ्दै गएको हो । झण्डै २७ अर्ब रुपैयाँ रहेको नेपाली सेनाले उद्योग तथा व्यवसाय सञ्चालन गर्नका लागि सरकारको अनुमति खोजेको थियो । तर, त्यसमा अपेक्षित सफलता पाउन नसकेपछि सैनिक कल्याणकारी कोषको रकम ‘क’ देखि ‘ग’ वर्गका बैङ्क तथा वित्तीय कम्पनीमा थुप्रिएर रहेको छ । त्यो रकम लगानी गरी रोजगारी सृजना गर्न तथा मुलुकको विकासमा भूमिका खेल्न आफू आतुर रहेको सेनाको भनाइ छ । त्यसो हुन सकेमा बहालवाला तथा सेवानिवृत्त सैनिक तथा उनीहरूको परिवारका लागि थप कल्याणकारी योजनाहरू ल्याउन सकिने पनि उसको दाबी छ ।

सामाजिक सुरक्षा कोषको व्यवस्थापनका लागि ऐन ल्याउने हल्ला चलेको २ वर्षभन्दा बढी भइसक्यो । महीनैपिच्छे रकम बढिरहेको सो कोषलगायत रोजगार तथा राज्यबाट सञ्चालित अन्य कोषको व्यवस्थापनका लागि अहिले सरकार एकीकृत सामाजिक सुरक्षा कर ऐन ल्याउने भनिरहेको छ । तर, कर्मचारी सञ्चय कोषजस्तो पौने २ खर्ब रुपैयाँ जम्मा भएको संस्थादेखि नयाँ स्थापना भएका कोषहरूलाई समेत समेट्ने भनिएको सो ऐन विवादित बन्ने सम्भावना रहेको ती संस्थाका उच्च अधिकारीहरू बताउँछन् । तीमध्ये केहीले सरकारको अक्षमताकै कारण जनताको करबाट सृजना भएका ठूला कोषहरू निष्क्रिय बनेको आरोप लगाए ।

यसरी थुप्रिएर रहेको रकम अहिलेको अवस्थामा दुई ‘पी’ अर्थात् पानी तथा पर्यटनमा लगाउनुपर्ने राष्ट्र बैङ्कका पूर्व गभर्नर डा तिलक रावलको सुझाव छ । ‘पछिल्लो समयमा नेपाली पर्यटनमा आकर्षण बढ्दै गएको छ भने भारतसँग हालै भएका ऊर्जा व्यापार सम्झौता (पीटीए)ले विद्युत्मा क्षेत्रीय व्यापारको ढोका खोलेको छ,’ उनले भने, ‘त्यसैले अहिले त्यो रकम ऊर्जा र पर्यटनमा लगानी गर्ने उचित बेला हो ।’ सामाजिक सुरक्षा कोषका निर्देशक पुरुषोत्तम अधिकारीका अनुसार भने जतिसक्दो चाँडो कानूनी आधार खडा गरी निष्क्रिय रहेको रकम परिचालन गर्नु आवश्यक छ ।

January 27, 2015 Published in Aarthik Abhiyan Daily

अटोमोबाइलसम्बन्धी आधारभूत ज्ञानको पुस्तक


पछिल्ला वर्षमा सवारीसाधनको बजार विस्तार हुँदै जाँदा अटोमोबाइल मेकानिक्स तथा यससम्बन्धी तालीम लिनेहरूको सङ्ख्या पनि ह्वात्तै बढेको छ । अटोमोबाइल इञ्जिनीयरिङको साधारण तालीम लिएर विदेश जानेदेखि आपैm मर्मत केन्द्र खोल्ने तथा यसै विषयमा उच्च अध्ययन गर्नेहरू पनि प्रशस्तै छन् । उनीहरूलाई नै लक्षित गरी सरल र बोधगम्य भाषामा लेखिएको ‘अटोमोबाइल टेक्नोलोजी’ बजारमा आएको छ । अटोमोबाइल प्रशिक्षक क्षेत्रबहादुर थापाले लेखेको यो पुस्तकले अदक्ष तथा अर्धदक्ष अटोमेकानिकलाई पूर्णदक्ष बनाउन सहयोग गर्नसक्ने देखिन्छ । 

नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमका पुस्तक कमै पाइन्छन् । त्यसमा पनि नेपाली भाषामै लेखिएका पुस्तकको त झन ठूलै अभाव छ । त्यसैले ‘अटोमोबाइल टेक्नोलोजी’ले यस विषयमा अध्ययन तथा तालीम लिइरहेका विद्यार्थीलाई नेपाली भाषामा नै स्तरीय सहयोगी सामाग्री उपलब्ध गराएको लेखक बताउँछन् । ३ खण्ड र ७० अध्यायमा विभाजित पुस्तकमा अटोमोबाइलको इतिहासदेखि औजार, उपकरण, इञ्जिन, थर्मोडाइनामिक्स, इन्धन, च्याचिस, विद्युत्, मोटरलगायतको जानकारी समेटिएको छ । 

गाडीका हरेक महत्वपूर्ण भाग तथा पार्ट्सका बारेमा सचित्र व्याख्या गरिएकाले सामान्य शिक्षा लिएका व्यक्तिका लागि पनि पुस्तक उपयोगी बनेको छ । उदाहरणका लागि ६ ओटै प्रकारका स्टेरिङ गेयर बक्सको चित्र तथा तिनका विभिन्न भागको नामावलीसमेत पुस्तकमा दिइएको छ । त्यत्ति मात्र होइन गाडीका विभिन्न भागको सर्भिसिङ तालिका पनि प्रस्तुत गरिएको छ । यसबाट निजी सवारीधनीले पनि आप्mनो गाडीको उचित स्याहार गर्ने ज्ञान पाउन सक्नेछन् । पुस्तकमा चुम्बक, ट्रान्सफर्मर, मोटरजस्ता विषयको सैद्धान्तिक जानकारी सरल भाषामा दिइएको छ । 

त्यत्ति मात्र होइन, थापाले अटोमोबाइलका क्षेत्रमा विकास भएका एसी प्रणाली, सेण्टर लकिङ, एण्टी लकिङ ब्रेक, हाइब्रिड कार र यूरो मापदण्डजस्ता पछिल्ला प्रविधिको पनि विस्तृतरूपमा वर्णन गरेका छन् । पुस्तकको अन्त्यमा गाडीमा देखिने सामान्य समस्या, तिनको लक्षण अनि कारण र समाधान प्रस्तुत गरिएको छ । 

नेपाल आर्मी, युनिफिललगायत संस्थामा प्राविधिज्ञ, पेरोडुवा र विजय मोटर्समा वर्कशप म्यानेजर, सानोठिमी प्राविधिक शिक्षालयका अतिथि प्रशिक्षकका साथै युगोस्लाभिया तथा विभिन्न अफ्रिकी मुलुकमा वर्कशप इञ्चार्ज र ट्रान्सपोर्ट म्यानेजरको जिम्मेवारी बहन गरिसकेका थापाले आप्mनो अनुभवले पनि पुस्तकलाई ज्यादै समृद्ध बनाएका छन् । ३ सय ६६ पृष्ठको यस पुस्तकको मूल्य  ६ सय रुपैयाँ रहेको छ ।

January 19, 2015 Published in Aarthik Abhiyan Daily

कानून नहुँदा सार्वजनिक–निजी साझेदारी निष्प्रभावी


पुस ३०, काठमाडौं । सरकार र निजीक्षेत्रले मुुलुकको विकासका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) प्रभावकारी तथा आवश्यक विधि भएको रट लगाइरहे पनि नेपालमा यो प्रभावकारी रूपमा लागू हुन सकेको छैन । २०४९ सालमा विद्युत् ऐनसँगै नेपालले पीपीपीको अवधारणा अपनाएको मानिन्छ । तर, त्यसको २ दशक बित्दासम्म पनि नेपालसँग पीपीपीको अब्बल उदाहरण नभएको विज्ञहरू बताउँछन् । पीपीपीका लागि नीतिगत व्यवस्था नहुँदा त्यसले गति लिन नसकेको उनीहरूको भनाइ छ ।

चार वर्षअघि नै राष्ट्रिय योजना आयोगले पीपीपीका लागि श्वेतपत्र सार्वजनिक गरेको थियो । तर, यससम्बन्धी नियमकानून निर्माण हुन नसक्दा सार्वजनिक–साझेदारीले गति लिन नसकेको नेपाल मध्यस्थता परिषद्का अध्यक्ष वीरेन्द्रबहादुर देउजा बताउँछन् । पीपीपीका जानकार मानिएका देउजाले बुधवार ग्लोबल सेपर्स कम्युनिटी काठमाडौंले आयोजना गरेको सार्वजनिक–निजी साझेदारीसम्बन्धी अन्तरक्रियामा भने, ‘आजभन्दा १५ वर्षअघि नै पूर्वाधारमा बूट (निर्माण, सञ्चालन र हस्तान्तरण)को अवधारणा अपनाइएको थियो । तैपनि पीपीपीमा हामीले अपेक्षित उपलब्धि प्राप्त गर्न सकेका छैनौं ।’

सार्वजनिक पूर्वाधारमा निजीक्षेत्रको अनुशासन, वित्तीय तथा प्राविधिक क्षमता र कार्यकुशलताको प्रयोग गर्न सरकारले सार्वजनिक–निजी साझेदारीको उपाय अपनाउने गर्छ । त्यसका साथै लगानीमा निजीक्षेत्रसँग साझेदारी नगरीकन विकास लक्ष्य पूरा हुन नसक्ने योजना आयोगका सदस्य डा स्वर्णिम वाग्लेको भनाइ छ । ‘नेपालजस्तो अल्पविकसित मुलुकका लागि पूर्वाधार र त्यसमा पनि ऊर्जा र यातायातमा ठूलो लगानी आवश्यक छ । त्यसका लागि सरकार एक्लैको प्रयास पर्याप्त हुनै सक्दैन,’ उनले भने । नेपालमा सरकारलाई भ्रष्ट तथा निजीक्षेत्रलाई नाफाखोर र लुटेराका रूपमा हेर्ने संस्कृति बसेको भन्दै डा वाग्लेले यी दुई पक्षबीचको असमझदारी विस्तारै हट्दै विश्वासको वातावरण निर्माण हुँदै गएको बताए । त्यसका लागि योजना आयोगले पनि विशेष पहल गरिरहेको उनको भनाइ थियो ।

लगानीकर्ताका लागि नीतिगत स्थिरता सबैभन्दा महत्वपूर्ण रहेकाले पीपीपीलाई प्रभावकारी रूपमा अगाडि बढाउन जतिसक्दो चाँडो नीतिगत व्यवस्था गर्नुपर्ने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले बताए । तर, नीति निर्माण मात्रै पनि पर्याप्त नहुने बताउँदै उनले भने, ‘नीतिको कार्यान्वयन पनि ठीकसँग हुनुपर्छ ।’ प्रविधि र मुनाफाको युगमा हाम्रो मुलुक सुन्दर छ, यहाँका जनता प्रिय छन् भनेर लगानीकर्ता नआउने उनले बताए ।

पञ्चकन्या ग्रूपका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले पीपीपी नेपालका लागि उपयुक्त मोडल भए पनि विशेष नीति तथा कानूनविना यो प्रभावकारी हुन नसक्ने धारणा राखेका थिए । खासगरी जग्गा अधिग्रहणलगायत विषयमा सरकारको भूमिका प्रभावकारी हुनुपर्ने उनको माग थियो । मुलुकले जेजस्ता समस्या, अस्थिरता र द्वन्द्व भोगे पनि निजीक्षेत्रले प्रगति गरेको पनि उनले बताए । ‘समस्या छन् तर त्यसलाई सकारात्मक रूपमा लिएर कहाँ समस्या छ, त्यसको समाधान गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘त्यस्ता समस्या समाधानमा सहयोग गर्न निजीक्षेत्र तत्पर छ ।’

राजनीतिक स्थिरता, नीतिगत व्यवस्था तथा लगानीको वतावरण नहुँदा नेपालमा पीपीपीले गति लिन नसकेको हो । ऊर्जाविज्ञ तथा स्टाटक्राफ्ट नर्वेका नेपाल कण्ट्री डाइरेक्टर डा. सन्दीप शाह भन्छन्, ‘स्थिर र अनुमान गर्न सकिने कानूनी व्यवस्था हुनुपर्छ अनिमात्र निजीक्षेत्र तथा विदेशी लगानीकर्ता ठूला परियोजनामा आकर्षित हुन्छन् ।’ ठूला परियोजनाका लागि स्थानीयको अपेक्षा व्यवस्थापन गर्नु ज्यादै महत्वपूर्ण कुरा भएको र नेपाल यसमा असफल भएको उनको भनाइ थियो ।
पीपीपीका प्राथमिक क्षेत्र
- भौतिक पूर्वाधार तथा यातायात (सडक, पुल, बन्दरगाह)
- ऊर्जा (ठूला जलविद्युत्, ग्रामीण ऊर्जा, नवीकरणीय ऊर्जा)
- सूचना तथा सञ्चार
- वातावरण (ठोस फोहोर व्यवस्थापन, पानी तथा सरसफाइ)
- शिक्षा र स्वास्थ्यलगायत आधारभूत क्षेत्र
स्रोत : पीपीपीका लागि श्वेतपत्र, २०११

January 15, 2015 Published in Aarthik Abhiyan Daily

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...