Friday, June 9, 2017

शेयरमा लगानी गर्दै हुनुहुन्छ? ‘आस्बा’बारे जानिराख्नुस्


पछिल्लो समय शेयर बजारमा आस्बा प्रणालीको चर्चा चुलिएको छ । प्राथमिक निष्कासन (आईपीओ) तथा थप सार्वजनिक निष्कासन (एफपीओ)का बेला शेयर किन्दा आवेदन गरिएको शेयरको मूल्य बराबरको रकम लगानीकर्ताको खातामै रोक्का गर्ने प्रणालीलाई आस्बा (एप्लिकेशन सपोर्टेड बाइ ब्लक्ड एकाउण्ट) भनिन्छ ।

भारतीय धितोपत्र नियामक सेक्युरिटिज बोर्ड अफ इण्डिया (सेबी)ले विकसित गरी सन् २००८ मा लागू गरेको यो प्रणाली नेपाल धितोपत्र बोर्डले गत माघदेखि नेपालमा लागु गरेको हो । धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी निर्देशिका, २०७३ लागु गरी सेबोनले विभिन्न बैंक तथा वित्तीय संस्थालाई आस्बामा सहभागी हुन आह्वान गरेको थियो ।

प्राथमिक तथा थप शेयर निष्कासनका बेलामा हजारौं लगानीकर्ताहरु सहभागी हुने र अर्बौं रुपैयाँ लगानी हुने हुँदा त्यसको व्यवस्थापन जटिल बन्दै गएको थियो । त्यही प्रक्रियालाई सहज बनाउन यो नयाँ प्रणाली भित्र्याएको धितोपत्र बोर्डले बताएको छ ।
बोर्डका प्रवक्ता निरज गिरिका अनुसार धितोपत्रको सार्वजनिक निष्कासन हुँदाका बखत लगानीकर्ताबाट दरखास्त फारम संकलन तथा त्यससम्बन्धी कार्यका लागि कार्यान्वयन थालिएको आस्बाले शेयर आवेदन प्रक्रियालाई छोटो र सरल त बनाएको छ नै, साथै अझ बढी पारदर्शी पनि बनाएको छ ।

आस्बा प्रणालीअन्तर्गत शेयर खरीदका लागि आवेदन दिंदा लगानीकर्ताले त्यो सँगै नगद वा चेक बुझाउनु पर्दैन । आवेदन दिएको शेयरका लागि आवश्यक रकम लगानीकर्ताको खातामै रोक्का गरिन्छ जुन शेयर बाँडफाँट पछि मात्र फुक्का गरिन्छ । शेयर बाँडफाँटपछि लगानीकर्ताले पाउने शेयर संख्याका लागि लाग्ने बराबरको रकम कट्टी गरी उस्को खाताबाट झिकिन्छ । यदि उस्ले कुनै शेयर पाएन भने सबै रकम फुक्का गरिन्छ, त्यसमा पाउनुपर्ने ब्याज समेत जोडेर ।


आस्बामा ५२ बैंक सहभागी
शुरुमा वाणिज्य बंैक र विकास बैंकलाई मात्र आस्बा प्रणालीमा सहभागी गराएको सेबोनले हाल ‘ग’ वर्गका वित्त कम्पनीहरुलाई पनि यसमा समावेश गरिरहेको छ । गत चैत मसान्तसम्ममा ५२ बैंक तथा वित्तीय सँस्थाहरु आस्बामा आवद्ध भइसकेका छन् । ती बैंक तथा वित्तीय संस्थाले ७५ जिल्लामा रहेका आफ्ना २,३०८ शाखा कार्यालयमार्फत धितोपत्रको सार्वजनिक निष्कासनको वखत आस्बाअन्तर्गत दरखास्त संकलन गर्न सक्ने बोर्डका उपनिर्देशक निरञ्जय घिमिरेले जानकारी दिनुभयो ।

आस्बा लागु भएपछि सबैभन्दा पहिले नौ वाणिज्य बैंक र दुई विकास बैंकले २०७३ पुस ८ गते त्यसका लागि अनुमति पाएका थिए । यसरी अनुमति पाउनेमा ‘क’ वर्गका सेञ्चुरी कमर्शियल, सनराईज, सिटिजन्स इण्टरनेशनल, लक्ष्मी, सानिमा, सिद्धार्थ, एनआईसी एशिया, नेपाल बंगलादेश र कुमारी बैंक थिए भने ‘ख’ वर्गका कैलास विकास बैंक र एस डेभलपमेण्ट बैंक थिए ।
पछिल्लो पटक गत चैत मसान्तमा राष्ट्रिय वाणिज्य बैंकले आस्बाका लागि अनुमति पाएको छ । आस्बा प्रणालीका लागि अनुमति पाउने बंैकहरुमध्ये सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बाणिज्य बैंक नै हो । ६९ जिल्लामा यसका १६८ शाखा आस्बा प्रणालीमा आवद्ध छन् ।

आस्बा कार्यान्वयन प्रक्रिया
धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी निर्देशिका, २०७३ का अनुसार कुनै पनि बैंक वा वित्तीय संस्थाले सेबोनबाट अनुमति लिएर निष्कासनकर्ता कम्पनीको शेयर खरीदका लागि आफ्नो संस्थामा खाता रहेका व्यक्ति वा संस्थाबाट दरखास्त संकलनको काम गर्न सक्छन् ।
तर, त्यसका लागि ती बैंक वा वित्तीय संस्था कम्तीमा पाँच वर्ष सञ्चालनमा रहेको, निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम रहेको र पछिल्लो दुई वर्ष नाफामा सञ्चालनमा रहेको, काठमाडौं उपत्यकाभित्र कम्तीमा दुई शाखा भएको, धितोपत्रको सार्वजनिक निष्काशन गरी नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको र प्रवन्धपत्र वा नियमावलीमा धितोपत्र खरीदको दरखास्त संकलन सम्बन्धी कार्य गर्न सक्ने व्यवस्था उल्लेख भएको हुनु पर्छ ।

त्यसरी फाराम संकलन गरेपछि बैंक वा वित्तीय संस्थाले त्यसको जाँचबुझ गरी आवेदन उपयुक्त भएमा लगानीकर्ताको खातामा रहेको रकममध्ये निजले दरखास्तमा माग गरे बमोजिम शेयर खरीदको लागि लाग्ने रकम शेयर बाँडफाँट नभएसम्म झिक्न नपाउने गरी रोक्का गरी त्यसको सूचना निष्कासन ता विक्री प्रवन्धककोमा पठाउनु पर्छ । साथै, लगानीकर्तालाई पनि त्यसको जानकारी वेवसाइटमार्फत, लगानीकर्ताको इमेल वा मोबाइल नम्बरमा दिनु पर्छ ।

यसरी सेवा प्रदान गरेवापत बैंक तथा वित्तीय संस्थाले रु. १० देखि रु. १०० सम्म सेवा शुल्क लिन सक्छन् । शुरुशुरुमा १०० रुपैयाँ नै सेवा शुल्क लिए पनि हाल आएर बैंक तथा वित्तीय संस्थाले रु. १० देखि रु. २५ सम्ममा आस्बा सेवा दिइरहेका छन् ।
केही बैंकले त निःशुल्क यस्तो सेवा प्रदान गर्न पनि थालेका छन् । त्यति मात्र होइन, नेपाल इन्भेष्टमेण्ट बैंक र एसबीआई बैंक नेपालले त यस्तो सेवा अनलाईनमार्फत पनि उपलब्ध गराउन थालेको घिमिरेले जानकारी दिनुभयो ।

प्रवक्ता गिरिका अनुसार आस्बाले पूँजीबजार र खासगरी प्राथमिक निष्कासनमा संरचनागत सुधारमा सहयोग पु¥याउने छ ।

आस्बा प्रणालीमा आवद्ध बैंक तथा वित्तीय संस्थाहरु
क्र. सं. बैंक तथा वित्तीय संस्था जिल्ला र सेवा दिने शाखा 
१.      सेञ्चुरी कमर्सियल बैंक    २२ जिल्ला, ३१ शाखा
२.    सनराइज बैंक                 २८ जिल्ला, ६७ शाखा
३.    कैलाश विकास बैंक         १५ जिल्ला, ३७ शाखा
४.    एस डेभलपमेण्ट बैंक        ११ जिल्ला, १३ शाखा
५.   सिटिजन्स इण्टरनेशनल बैंक ३० जिल्ला, ५८ शाखा
६.    लक्ष्मी बैंक         ३७ जिल्ला, ५९ शाखा
७.    सानिमा बैंक         २६ जिल्ला, ४३ शाखा
८.   सिद्धार्थ बैंक           २७ जिल्ला, ७० शाखा
९. एनआईसी एसिया बैंक  ३२ जिल्ला, ८० शाखा
१०. नेपाल बंगलादेश बैंक २३ जिल्ला, ४० शाखा
११. कुमारी बैंक              २१ जिल्ला, ३६ शाखा
१२. देवः विकास बैंक         ११ जिल्ला, ३६ शाखा
१३. ओम डेभलपमेण्ट बैंक     १२ जिल्ला, २९ शाखा
१४. नेपाल इन्भेष्टमेण्ट बैंक     २८ जिल्ला, ४६ शाखा
१५. नेपाल बैंक            ५० जिल्ला, १२६ शाखा
१६. एनएमबी बैंक        २९ जिल्ला, ७१ शखा
१७. मेगा बैंक                 २६ जिल्ला, ४० शाखा
१८. टुरिजम् डेभलपमेण्ट बैंक १४ जिल्ला, २२ शाखा
१९. यति डेभलपमेण्ट बैंक   १८ जिल्ला २५ शाखा
२०. ग्लोबल आईएमई बैंक   ३५ जिल्ला, ९१ शखा
२१. बैंक अफ काठमाण्डू लुम्बिनी २८ जिल्ला, ७४ शाखा
२२. प्राइम कमर्सियल बैंक     १७ जिल्ला, ३१ शखा
२३. सिद्धार्थ डेभलपमेण्ट बैंक     १६ जिल्ला, ३३ शाखा
२४. महालक्ष्मी विकास बैंक       २० जिल्ला, ४२ शाखा
२५. नेपाल क्रेडिट एण्ड कमर्श बैंक ३३ जिल्ला, ९६ शाखा
२६. ज्योती विकास बैंक       १५ जिल्ला, २९ शाखा
२७. सिभिल बैंक                     २५ जिल्ला, ५१ शखा
२८. न्बिल बैंक               २४ जिल्ला ५० शाखा
२९. जनता बैंक नेपाल         २७ जिल्ला, ४० शाखा
३०. माछापुच्छ्र्रे बैंक         ३० जिल्ला, ५७ शाखा
३१. प्रभु बैंक                २० जिल्ला, ३१ शखा
३२. काष्ठमण्डप डेभलपमेण्ट बैंक ११ जिल्ला, १९ शाखा
३३. भिबोर सोसाइटी डेभलपमेण्ट बैंक २१ जिल्ला, ४४ शाखा
३४. कृषि विकास बैंक         ५५ जिल्ला, १११ शाखा
३५. मुक्तिनाथ विकास बैंक       १३ जिल्ला, ४७ शाखा
३६. नेपाल एसबीआई बैंक        ३२ जिल्ला, ६२ शाखा
३७. स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल ९ जिल्ला, १३ शाखा
३८. फेवा विकास बैंक         १४ जिल्ला, २९ शाखा
३९. रिलायबल डेभलपमेण्ट बैंक ९ जिल्ला, १७ शाखा
४०. सांग्रिला डेभलपमेण्ट बैंक १६ जिल्ला, ३१ शाखा
४१. एभरेष्ट बैंक                 ३२ जिल्ला, ६० शाखा
४२. हिमालयन बैंक         २२ जिल्ला, ४२ शाखा
४३. आइसीएफसी फाइनान्स          ५ जिल्ला, ११ शाखा
४४. गुहेश्वर मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स ६ जिल्ला, ८ शाखा
४५. गुडविल फाइनान्स            ९ जिल्ला, ११ शाखा
४६. सगरमाथा फाइनान्स          ११ जिल्ला १४ शाखा
४७. सेण्ट्रल फाइनान्स                 ५ जिल्ला, ५ शाखा
४८. रिलायन्स फाइनान्स         ४ जिल्ला, ५ शाखा
४९. युनाइटेड फाइनान्स         ९ जिल्ला, ११ शाखा
५०. मञ्जुश्री फाइनान्स        ५ जिल्ला, ६ शाखा
५१. गरिमा विकास बैंक         १५ जिल्ला, ४० शाखा
५२. राष्ट्रिय वाणज्य बैंक         ६९ जिल्ला १६८ शाखा
स्रोतः नेपाल धितोपत्र बोर्ड

(Published in Yubamanch Monthly, 2073 Jeth) 

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...