Tuesday, November 28, 2017

बिट्क्वाइन तरङ्ग

पछिल्ला केही हप्ता नेपालीहरुले बिल्कुलै नयाँ समाचार सुन्दै आइरहेका छन् – बिट्क्वाइन बनाउने र बेच्नेहरु पक्राउ । धेरै नेपालीले सुन्दै नसुनेको यो नयाँ समाचारले युवालाई पनि तरङ्गित बनाइरहेको छ । खासगरी ठूलो मात्रामा अमेरिकी डलर कमाउने संभावना भएको भनेर प्रचार गरिएकाले पनि उनीहरु यसतर्फ विशेष आकर्षित भएका हुनसक्छन् ।

२६ सेट बिटमेन माइनर (बिटक्वाइन डिजाइन गर्ने मेशिन), १५ सेट पावर सप्लाई र अन्य उपकरणका साथ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दोलखाको तामाकोशी – ५ बाट प्रशान्तप्रताप शाहलाई पक्राउ गरेपछि धेरैलाई बिटक्वाइनबारे थाहा मात्र भएन, त्यसबारे थप जान्ने चासो पनि बढेको छ ।



शाहलाई पक्राउ गर्नुअघि प्रहरीले बिट्क्वाइनको कारोबार गर्ने सात जनालाई पक्राउ गरेको थियो । उनीहरुले दिएको जानकारीको आधारमा प्रहरीको अनुसन्धान टोली तामाकोशी पुगेको यियो । त्यस्तै अहिले बिट्क्वाइनको पिरामिड शैलीको ब्यापार समेत हुन थालेको छ । नेपालमै ग्रयाभिटी क्वाइन नाममा यस्तै ठगीको धन्धा सञ्चालनमा आएर पनि बन्द भइसकेको छ । नेपाल राष्ट्र बैंकले गत साउनमै सार्वजनिक सूचना प्रकाशित गरेर नेपालमा बिटक्वाइन अवैध रहेको र यसको कारोबार गैरकानूनी मानिने र त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरु सजायको भागिदार हुने जानकारी दिएको छ ।

प्रविधिको नयाँ विकासको रुपमा आएकाले नेपालमा बिट्क्वाइन वा क्रिप्टोकरेन्सीलाई सम्बोधन गर्ने खालको कानून बनिसकेको छैन । त्यसैले राष्ट्र बैंकले त्यस्ता अभौतिक मुद्राको कारोबार नगर्न र नगराउन निर्देशन दिएको हो । यो लेख बिट्क्वाइनबारे जानकारी दिनका लागि मात्र प्रस्तुत गरिएको हो । कसैलाई बिट्क्वाइनको कारोबार वा माइनिङ गर्न प्रोत्साहित गर्नु यसको उद्देश्य होइन । बिट्क्वाइन वा क्रिप्टोकरेन्सीसम्बन्धी कुनै पनि गतिविधि नेपालमा गैरकानूनी हुन् र त्यसमा संलग्नले कारवाही भोग्नु पर्ने हुन्छ ।

के हो बिट्क्वाइन ?

बिट्क्वाइन विश्वव्यापी रुपमा चलेको क्रिप्टोकरेन्सी वा डिजिटल भुक्तानी प्रणाली हो । क्वाइन भने पनि यो सिक्काको आकारमा हुँदैन, सन्देश वा सूचनाको रुपमा नै बिट्क्वाइनको कारोबार हुन्छ जसलाई कारोबार हुँदा बिट्क्वाइन नेटवर्कमा प्रमाणित गर्नका लागि पठाइन्छ । अझ प्रष्ट शब्दमा भन्नु पर्दा यो डिजिटल सिग्नेचरको श्रृंखला हो ।

सन् २००९ मा शुरु भएको यो अभौतिक मुद्रालाई पहिलो विकेन्द्रित डिजिटल मुद्राको रुपमा लिइन्छ किनकि यो मुद्रा न त कुनै केन्द्रीय बैंकको सम्पत्ति हो न त यसलाई प्रकाशन वा निर्माण गर्न कुनै धितो जमानत नै राखिन्छ । यो मुद्राको उत्पादन गर्न तथा हस्तान्तरण प्रमाणित गर्न इन्क्रिप्सन प्रविधिको प्रयोग गरिन्छ जसमा कुनै पनि मुलुुकको केन्द्रीय बैंकको हस्तक्षेप रहँदैन । कुनै पनि सूचना वा सन्देशलाई अधिकारप्राप्त व्यक्ति वा संस्थाले मात्र हेर्न मिल्ले गरी तयार गर्नु इन्क्रिप्सन हो ।

जापानी नागरिक सातोशी नाकामोतो नेतृत्वको एक टीमले विकास गरेर बिट्क्वाइनलाई सन् २००९ मै ओपन सोर्स सफ्टवेयरको रुपमा सार्वजनिक गरेका थिए । यो प्रणालीमा दुुई पक्षवीच कुनै मध्यस्थकर्ताविना सीधा कारोबार हुने गर्दछ । अर्थात बिट्क्वाइनले बैंकको मध्यस्थता विनै रुपैयाँपैसाको कारोबार गर्ने प्रविधिको विस्तार गरिरहेको छ । यसमार्फत कारोबार गर्दा कुनै पनि प्रकारको सेवाशुल्क समेत तिर्नु नपर्ने भएकाले कतिपय मुलुकमा साना व्यवसायीहरु यसतर्फ आकर्षित भइरहेका छन् ।

यसरी गरिएका हरेक कारोबारको अभिलेख बिट्क्वाइन प्रणालीमा रहेका नेटवर्क नोडहरुले राख्छन् त्यसलाई सार्वजनिक बहीखाताको रुपमा रहेको ब्लकचेनमा हेर्न सकिन्छ । ब्लकचेन भनेको बिटक्वाइनका प्रयोगकर्ताहरुले गरेको कारोबारहरुको अभिलेख हो । कम्प्युटरबाट कुनै पनि कुराको कपी पठाउन सकिन्छ, तर बिट्क्वाइन त्यसरी कपी नगरी सक्कलप्रति नै पठाउनु पर्छ । ब्लकचेनको भूमिका यहीं छ । आफ्नो खाता÷वालेटमा कति क्वाइन छ भनेर हेर्नका लागि पनि सफ्टवेयरको विकास गरिएको छ ।

कसरी कमिन्छ बिट्क्वाइन ?

माइनिङ गरेर बिट्क्वाइन कमाउन सकिन्छ । दोलखामा बसेर शाहले गर्न खोजेको पनि त्यही हो । कम्प्युटरको मद्दतले ज्यादै अप्ठ्यारा गणितीय पहेलीहरुको समाधान गरी बिटक्वाइन माइन गर्न अर्थात कमाउन सकिन्छ । माइनिङ भनेको बिट्क्वाइनको उत्पादन गर्ने काम हो । हाल पहेलीको समाधान खोज्ने विजेतालाई प्रत्येक १० मिनेटमा २५ बिट्क्वाइन पुरस्कारस्वरुप प्रदान गरिंदै आएको छ ।

त्यस्ता पहेलीको समाधान खोज्न कति मूल्यबराबरको कम्प्युटेशन र बिजुली खर्च भयो, त्यसै अनुसारको बिट्क्वाइन आर्जन हुनछ । तर, संसारभरबाट माइनरहरुले प्रयास गर्ने भएकाले त्यसरी माइनिङ गरी बिट्क्वाइन आर्जन गर्नुु ज्यादै दुर्लभ कार्य हो । शाहले धेरै मेशिनको प्रयोग गर्नुको रहस्य पनि यही हो । कतिपय माइनरले सयौं कम्प्युटर र पावर सप्लाई प्रयोग गरेर बिट्क्वाइन माइन गरेको सुन्न पाइन्छ ।

अरु मुद्रासँग सटही गरेर (वा किनेर) पनि बिट्क्वाइन आर्जन गरिन्छ । केही मानिसहरु भविष्यमा मूल्य बढ्ने आशामा पनि बिट्क्वाइन खरीद गरिरहेका छन् । अहिले एक बिट्क्वाइनको मूल्य ४ हजार देखि ४ हजार ५ सय अमेरिकी डलरको बीचमा रहेको छ, र फोव्र्स पत्रिकाले निकट भविष्यमै त्यसको मूल्य ५ हजार डलर पुग्ने बताएको छ ।
अनलाइनमा उपलब्ध बिट्क्वाइन एक्सचेञ्जबाट यस्तो क्रिप्टोकरेन्सी किन्न सकिन्छ । त्यसैगरी अहिले आममानिसहरुले प्रयोग गरिरहेका डिजिटल पेमेण्ट सफ्टवेयरमार्फत पनि बिट्क्वाइनको कारोबार गर्न सकिन्छ । नेपालमै पनि डिजिटल पेमेण्ट कम्पनी ईसेवा बिट्क्वाइन कारोबारमा संलग्न भएको भन्दै राष्ट्र बैंकले अनुसन्धान थालेको छ ।

क्याम्ब्रिज विश्वविद्यालयले हालै गरेको एक अध्ययनका अनुसार विश्वभर ३० देखि ५८ लाख क्रिप्टो करेन्सी वालेटका प्रयोगकर्ता रहेका छन् । त्यस्तै लाखौं व्यापारी तथा कम्पनीहरुले बिटक्वाइनलाई कारोबारी मुद्राको रुपमा स्वीकार गरेका छन् ।

बिटक्वाइनको सबैभन्दा महत्वपूर्ण पक्ष के हो भने यसको सीमा तोकिएको छ । संसारभरमा अधिकतम २ करोड १० लाख मात्र बिट्क्वाइन बनाउन सकिने छ । त्यो भन्दा धेरै कसैले पनि बनाउन पाउने छैन । त्यसले गर्दा संसारभरका मुद्राको स्फिति भइरहेको अवस्थाको विपरित बिटक्वाइनको मूल्य भने बढी रहने छ । फोब्र्सले बिट्क्वाइनको मूल्य ५ हजार डलर पुग्ने अनुमान गर्नुको कारण पनि त्यही हो ।

क्वाइन २ करोड १० लाख नै रहने छन् तर त्यसको मूल्य बढ्दै जाँदा थोरै क्वाइनले धेरै सामान वा सम्पत्ति किन्न सकिने छ । हालसम्म १ करोड ७० लाख बिटक्वाइन बजारमा आइसकेका छन् । स्थिति कस्तो बनिसकेको छ भने सात वर्षअघि डलरसँग कुनै मूल्य नभएको एक बिट्क्वाइनको मूल्य अहिले ४० हजार डलरको रेखा पार गरिसकेको छ । तर, रमाइलो कुरा के छ भने एक बिट्क्वाइनलाई १० करोड भागमा टुक्र्याएर कारोबार गर्न सकिन्छ, त्यसैले सानासाना कारोबार गर्नका लागि पनि यो उपयुक्त सावित भएको छ ।

केही विद्धानहरु बिट्क्वाइनमा असंख्य संभवना, उद्देश्य र प्रयोग रहेको मान्यता राख्छन् भने केहीले त्यसलाई सरकारहरुले आफ्नो नियन्त्रणमा ल्याउनु पर्ने बताउँछन् । त्यसो त बिटक्वाइन जस्ता क्रिप्टोकरेन्सीको प्रयोगलाई बढावा दिन नहुने ठान्नेहरु पनि उत्तिकै छन् ।

जोखिम 

त्यसरी आर्जन गरेको बिट्क्वाइन क्लाउड वा आफ्नै कम्प्युटरमा रहेको डिजिटल वालेटमा जम्मा हुन्छ । यो वालेट बैंक एकाउण्ट जस्तै हो । यसरी राखिएको बिट्क्वाइनलाई ह्याकरहरुले चोर्न सक्छन्, कतिपय कम्पनी आफ्ना ग्राहकको क्वाइन लिएर भाग्न सक्छन्, भाइरसले विगार्न वा ध्वस्त पार्न सक्छ भने कहिलेकाहीं ग्राहक झुक्किएर डिलिट गर्न पनि सक्छन् ।
यहाँ सम्झिनु पर्ने कुरा के छ भने यो प्रणालीमा कहींकतै पनि ग्राहकको नाम सार्वजनिक हुँदैन, मात्र उस्को वालेटको नाम मात्र बाहिर आउँछ । त्यही भएर पनि ड्रग, हतियार तथा अन्य अवैधानिक वस्तुको कारोबार र तस्करी गर्नेहरुका लागि बिट्क्वाइन लोकप्रिय भुुक्तानीको माध्यम बनेको छ । त्यसैले पनि सरकारहरु क्रिप्टोकरेन्सीप्रति बढी नै सशंकित छन् ।

त्यसैगरी, बिट्क्वाइनजस्तै अरु पनि क्रिप्टोकरेन्सी छन् । भविष्यमा अरु करेन्सी प्रचलनमा रहेर बिट्क्वाइन पछाडि परेमा त्यसमा गरेको लगानी डुब्ने पनि हुन सक्छ ।

संसारका कुनै पनि सरकारले बिट्क्वाइनलाई कानूनी मान्यता दिएका छैनन् । अमेरिका, क्यानडा र युरोपेली संघका कतिपय मुलुकमा बिट्क्वाइनमा कुनै प्रतिवन्ध भने लगाइएको छैन । तर, नेपाल राष्ट्र बैंकले भने बिट्क्वाइनलाई अवैध भनेको छ । त्यसैले बिटक्वाइनको उत्पादन, कारोबार तथा अन्य गतिविधिमा संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गर्नु परेको हो । यस्ता गतिविधिमा लागेको प्रमाणित भएमा त्यस्ता व्यक्तिले चलाएको पैसाको तीन गुणा बढी जरिवाना तिर्नु पर्छ भने तीन वर्षसम्मको कैद पनि भोग्नुपर्छ ।

डिजिटल क्याश, क्रिप्टोकरेन्सी, इण्टरनेशनल पेमेण्ट नेटवर्क र इण्टरनेट अफ मनी जस्ता नामबाट परिचित बिट्क्वाइनको भविष्य के हुने भन्नेबारे अन्यौल कायमै छ । कसैको नियन्त्रणमा नरहेकोले यसलाई जोखिमयुक्त मान्नेहरु धेरै छन् । तर, विकसित मुलुकका सरकारहरु बिटक्वाइनलाई करको दायरामा ल्याउने तथा नियन्त्रण बढाउने बारेमा भने विचार गरिरहेका छन् । 

(Published in 'Yubamanch Monthly' Mangsir Issue 2073 - Nov/Dec 2017). 

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...