Friday, June 24, 2016

घर बनाउँदै हुनुहुन्छ ? सीमेण्टबारे जानिराख्नुस्


राष्ट्रिय पुनर्निमाण प्राधिकरण (एनआरए)ले गत वर्षको भुकम्पमा भत्किएका घर निर्माणका लागि अनुदान दिने कामलाई अघि बढाएसँगै घर पुनर्निर्माणले गति लिएको छ । सरकारी अनुदान र घर निर्माण मापदण्डको अभावमा त्रिपाल वा जस्ता पाताको ओत लागेर बसेका लाखौं परिवारले घर बनाउनका लागि आवश्यक तयारी थालेका छन् । सरकारी अनुदान लिनका लागि भुकम्प प्रतिरोधी भवन निर्माण मापदण्ड पालना गर्नै पर्ने र सरकारले प्रस्ताव गरेको मोडलका घर बनाउनु पर्ने भएकाले अब बन्ने घर बलिया र टिकाउ बन्ने छन् । तर, घर निर्माणमा प्रयोग हुने सीमेण्टका बारेमा धेरैलाई जानकारी नहुन सक्छ । त्यसैले यसपाली हामीले सीमेण्टबारे विस्तृतमा जानकारी दिने प्रयास गरेका छौं । 

सीमेण्ट
सीमेण्ट छड, गिट्टी, बालुवा र ईंटा तथा ढुंगाजस्ता निर्माण सामग्र्री जोड्नका लागि प्रयोग हुने सामग्री हो जसको अभावमा अधिकांश आधुनिक निर्माण कार्य अपूरा हुन्छन् । सीमेण्टका विभिन्न प्रकारहरु छन् ः पीपीसी, ओपीसी, पीएससी, डब्ल्युपीसी, लाईमस्टोन आदि । नेपाल इञ्जिनियर्स एशोसिएशनका अध्यक्ष इञ्जिनीयर ध्रुव थापाका अनुसार नेपालमा पीपीसी र ओपीसी सबैभन्दा बढी प्रयोग हुन्छ ।

१. ओपीसी (अर्डिनरी पोर्टल्याण्ड सीमेण्ट):
विश्वमा सबैभन्दा पहिले उत्पादन भएको सीमेण्ट पोर्टल्याण्ड हो जसका ओपीसी र पीपीसी गरी दुई प्रकार रहेका छन् । ओपीसी सीमेण्टको वास्तविक स्वरुप हो जस्मा केही अन्य पदार्थ मिलाएर प्रयोग गर्नुपर्ने थापा बताउँछन् । यो सीमेण्ट पीपीसी भन्दा महँगो हुन्छ । त्यसरी अतिरिक्त सामग्री प्रयोग गर्दा ओपीसीको प्रयोग झनै महँगो पर्न जान्छ । ओपीसीको उत्पादन अठारौं शताब्दीमा शुरु भएको हो ।

२. पीपीसी (पोज्जोलाना पोर्टल्याण्ड सीमेण्ट):
पीपीसी आधुनिक सीमेण्ट हो जुन चुन ढुंगाको क्लिंकरमा कोइला थर्मल प्लाण्टको खरानी, विशेष खालको सिलिका र पोलेको माटोजस्ता वस्तु मिसाएर बनाइन्छ । क्लिंकरको प्रयोग कम र खेर जाने वस्तुको प्रयोग बढी हुने भएकाले यो वातावरणमैत्री पनि हुन्छ । पीपीसी सस्तो मूल्यमा बढी गुणस्तर दिने सिमेण्टको रुपमा संसारभर लोकप्रिय रहेको थापा बताउनुहुन्छ । ‘ओपीसी भन्दा पीपीसीले बनाउको कंक्रिट संरचना बढी बलियो र टिकाउ हुन्छ भने पानी पनि छिर्दैन । साथै, यसको फिनिसिङ पनि राम्रो देखिन्छ । तर, चेतनाको कमीले नेपालमो यसको प्रयोग कमै भएको छ,’ उहाँले भन्नुभयो । यो सीमेण्ट नेपालमा प्रतिबोरा ओपीसीभन्दा लगभग रु. १०० कम मूल्यमा पाइन्छ । 
तर, पीपीसी सिमेण्टको सेटिङ भने अलि ढीला हुन्छ । त्यसैले एकदमै चाँडो फर्मा खोल्नुपर्ने ठूला संरचनामा पीपीसीको प्रयोग कम मात्रामा गरिन्छ । थापाका अनुसार पानी मुनी र उच्च हिमाली भेगमा पीपीसी ढीला सेट हुने भएकाले छिटो फर्मा खोल्न सकिंदैन । तर, ती स्थानमा पनि पीपीसी प्रयोग नै गर्न नसकिने भने होइन । गर्मी मौसममा भने पानी मुनी बाहेक हरेक ठाउँमा पीपीसी प्रयोग गर्न सकिन्छ ।

३. पीएससी (पोर्टल्याण्ड स्ल्याग सीमेण्ट):
निर्माण कार्यमा पीपीसी सरह मानिने पीएससी नेपालमा कम बन्छ । यो पनि पीपीसी जस्तै अन्य पदार्थ को सम्मिश्रणबाट बन्छ जसमा कच्चा स्टील प्रशोधनबाट निस्किने बाइप्रोडक्ट प्रयोग गरिन्छ । 
यसबाहेक डब्ल्युपीसी अर्थात ह्वाइट पोर्टल्याण्ड र लाइमस्टोन जस्ता सिमेण्ट नेपालमा कमै बन्छन् । डब्ल्युपीसीको विशेषता भनेको सेतो रङ हो भने चुनढुंगालाई पोल्नुअघि नै ढुंगा मिसाएर तयार गरिने सिमेण्ट लाइमस्टोन सिमेण्ट हो । यी बाहेक पनि विश्वमा अन्य ब्लेण्डेड सिमेण्टहरुको उत्पादन हुन्छ । 

सिमेण्ट किन्दा र प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा : 
सिमेण्ट किन्दा त्यसको प्याकेजिङ राम्रोसँग भएको छ छैन हेर्नुपर्छ । त्यसको उत्पादन मिति, ग्रेड र प्रकार राम्रोसँग हेर्नुपर्छ । सामान्यतया सिमेण्ट उत्पादन भएको मितिले डेढ महिनाभित्रमा प्रयोग गर्नु उत्तम मानिन्छ किनकि त्यसपछि विस्तारै सिमेण्टको शक्ति कम हुँदै जान्छ । २४ महिनासम्ममा सिमेण्टको शक्तिमा ५० प्रतिशतसम्मले कमी आउने विज्ञहरु बताउँछन् ।  भण्डारण गर्दा सिमेण्टले विस्तारै आद्रता सोस्न थाल्छ र यो कडा बन्दै जान्छ जसले यसको शक्तिमा कमी आउँछ । 

१. सिमेण्ट प्लाण्टमा होइन फ्याक्ट्रीमा बनेको हुनुपर्छ । 
२. सिन्थेटिक, जुट वा पोलिप्रोपाइलिन बोरामा प्याक गरिएको हुनुपर्छ । त्यस्तो बोरा हातले सिलाइएको हुनुहुँदैन । 
३. सिमेण्टको बोरामा उत्पादकको नाम, ब्राण्ड र ट्रेडमार्क प्रष्ट देखिने हुनुपर्छ । साथै, सिमेण्टको प्रकार पनि उल्लेख गरेको हुनुपर्छ । 
४. उत्पादन मिति उल्लेख गरिएको हुनुपर्छ । 
५. सिमेण्टको तौल प्रतिबोरा ५० किलो हुनुपर्छ । 
६. उत्पादन भएको मितिले डेढ महिना ननाघेको हुनुपर्छ । 
७. सिमेण्ट ढिक्का जस्तो बनेको छ भने त्यस्तो बोरा नलिनुस । यदि उत्पादन मितिमा ध्यान  पु¥याउनु भयो भने बिग्रेको सिमेण्ट पर्ने सम्भावना कम हुन्छ । 
८. कुने छेउबाट च्यातिएको वा फुटेको बोरा नकिन्नुस् । 
९. सिमेण्ट ढुवानी गर्दा पानी र माटोबाट जोगाउनुस् । वर्षाको मौसममा सिमेण्ट किन्नु परे छाना भउको ट्रक वा गाडिमा ढुवानी गर्नुस । र सुख्खा ठाउँमा भण्डारण गर्नुस् । 
१०. सिमेण्ट सकेसम्म सुख्खा ईंट वा काठको फल्याकमाथि राख्नुस् । चिसो भुईंमा त राख्दै नराख्नुस् । 
११. सिमेण्टको बोरा चाङ लगाएर राख्दै हुनुहुन्छ भने एउटा चाङमा १० भन्दा बढी बोरा नराख्नुस् । 
१२. बोरा भित्तामा छोएर नराख्नुस् । 
१३. पहिले किनेको सिमेण्ट पहिले प्रयोग गर्नुस् । 
१४. ठेकेदारलाई कामको जिम्मा दिनुभएको छ भने उस्ले कस्तो सिमेण्ट प्रयोग गरेको छ, कसरी राखेको छ भन्ने कुराको निगरानी गर्नुस् । 

युवामञ्च मासिकको असार अंकमा प्रकाशित ।     

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...