Saturday, May 20, 2023

सगरमाथा भन्दा उच्च साहस

 एउटा मान्छे, सगरमाथा विजयको यात्रामा अनवरत लागिरहेको छ। हिउँसँग पौंठेजोरी खेलिरहेको छ। तर उसका दुवै गोडा छैनन्, त्यो पनि घुँडाभन्दा माथिबाट। जीवनको दुईबिसे चारमा हिँडिरहेको ऊ अहिले माइनस तापक्रममा हिउँमा घिस्रिरहेको छ। ‘कस्टमाइज’ गरिएका क्र्याम पन्चको सहाराले हिउँमा अडिने बाटो खोजिरहेको छ। आफ्नै ग्यारेजमा वेल्डिङ गरेर कृत्रिम खुट्टा आफू सुहाउँदो बनाउने असफल प्रयास गरेको छ। र अहिले सगरमाथा आधार शिविरबाट उकालो लागिसकेको छ। घुँडाभन्दा माथिबाट गोडा गुमाएका व्यक्तिमा आधार शिविर पुग्ने पहिलो व्यक्ति ऊ नै हो।


सुन्दा पनि आङ सिरिङ हुने यो कथाका पात्र हुन्ः हरि बुढामगर। उनको साहसिक यात्राको कथा अहिले सुन्नेलाई लाग्न सक्छ, ए... प्रयास गर्दै रहेछन् ! तर उनले यसअघि नै ६ हजार मिटरभन्दा अग्लो मीरा पिक (६,४७६ मि.) चढेर आफूलाई अब्बल प्रमाणित गरिसकेका छन्। घुँडा माथिबाट खुट्टा गुमाएका व्यक्तिमध्ये सो हिमाल चढ्ने उनी पहिलो व्यक्ति हुन्। यसर्थ उनी कीर्तिमानी आरोही बनिसकेका छन् हिमाल आरोहण उनको सोख हो, तर त्योभन्दा बढी हो, संसारका अगाडि आफूलाई पटकपटक प्रमाणित गर्ने हुट्हुटी। अनि सम्पूर्ण अपांगता भएका व्यक्तिहरूलाई प्रेरणाको परिघटना प्रस्तुत गर्ने चाहना। त्यसैले उनको यात्रा भनेको साहस, लगन र लगावको यात्रा हो।


सबलांगहरूभन्दा उनलाई हिमाल चढ्न तीन गुणा बढी समय लाग्छ, जसले थप जोखिम निम्त्याउन सक्छ। सगरमाथा आधार शिविरको यात्राका लागि उनले १८ दिनको समय छुट्ट्याएका थिए। उनी अरूभन्दा डेढ दुई घण्टा अगाडि नै उठेर यात्रा सुरु गर्थे ताकि बीच बाटोमा कुनै अनपेक्षित जोखिम वा दुर्घटनाको सामना गर्नु नपरोस्। त्यसैको फलस्वरूप उनले १८ दिनको यात्रा ९ दिनमै पूरा गरे।


यही मे महिनामा संसारको सर्वोच्च चुली सगरमाथाको शिर चुम्ने उनको अभिलाषा हो, त्यसैका लागि सम्पूर्ण योजनाहरू बनेका छन्। सगरमाथाको चुलीमा पुग्नका लागि उनको यात्रा सुरु भइसकेको छ, उनी क्याम्प वनबाट पनि अगाडि लागिसकेका छन्। उनको बाटो साउथ कोलको डरलाग्दो खुम्बु हिमपहिरो हुँदै ल्होत्से फेस, यलो ब्यान्ड, जेनेभा स्पर र क्याम्प फोर हुँदै शिखरमा पुग्नेछ। शुक्रवार दिंउसो सगरमाथाको क्याम्प फोर पुगिसकेका हरि शनिवार विहानसम्म सगरमाथाको शिखर चुम्ने दाउमा छन।


सन् १९७९ मा रोल्पाको मिरुल गाउँमा जन्मिएका हरिका लागि हिमाल नौलो होइन। उनले फ्रान्स र इटालीको सीमामा रहेको ४,८१० मिटर अग्लो युरोपेली चुली मोँ ब्लाँ, तान्जानियाका रहेको अफ्रिकाकै अग्लो शिखर किलिमञ्जरो (५,८९५ मिटर) र अन्नपूर्ण शृंखलामा रहेको चुलु पिक (६,०५९ मिटर)को सफल आरोहण गरिसकेका छन्। सन् २०२२ मा दोस्रो पटक मीरा पिक चढेका हरिलाई क्रिस थापाले तालिम दिएका हुन्।


सामान्य ज्ञानको उत्तर बन्ने प्रयास

भर्भराउँदो जवानीमै आफ्नै आँखा अगाडि सपनाहरूको चिहान बनेको हेर्न अभिशप्त बन्दाबन्दै पनि आफैंलाई साहसिक यात्रामा होमेका व्यक्ति हुन् हरि। सन् २०१० मा अफगान युद्धमा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका हरिले सगरमाथाको विजयसँगै आफैंलाई प्रमाणित गर्ने मात्र छैनन्, नयाँ कीर्तिमान बनाउने छन् अनि सामान्य ज्ञानमा नयाँ प्रश्न थप्नेछन् जस्को उत्तर उनी स्वयं बन्नेछन्। धेरैका लागि दुस्साहस सरहको यो एडभेन्चरले संसारभरका अपांगता भएका व्यक्तिहरूलाई सुखद अनुभुति र जीवनमा केही गर्ने आत्मविश्वास प्रवाह गर्नेछ।


बम विस्फोटबाट जोगिएका उनका गोडाको बाँकी भागले पनि धेरै गुमाएको छ जसले गर्दा उनले निरन्तर एक प्रकारको पट्टीजस्तो विशेष कुरा लगाइरहनु पर्छ। हिउँको चिसोमा कृत्रिम खुट्टा लगाएर मात्र हुँदैन, त्यसलाई न्यानो पनि राख्नुपर्छ। त्यसैले उनले आफ्नो प्रोस्थेटिक्स (कृत्रिम खुट्टा)लाई कस्टमाइज गरी न्यानो आउने बनाएका छन् भने पैतालाको भागलाई पनि परिवर्तन गरी जुत्ताको सोल राखेका छन् ताकि त्यसले जमिनमा बलियोसम्म आफूलाई अड्याउन सकोस्।


यद्यपि कृत्रिम खुट्टाको कुरा सुन्दा जति आकर्षक र सहज सुनिन्छ, प्रयोग त्यत्ति सहज छैन किनकि एउटै गोडा पाँच किलोको हुन्छ। त्यसलाई लगाएर हिँड्न अनि घुँडाभन्दा माथिसम्मै नभएको खुट्टाले नियन्त्रण गर्न पनि भनेजस्तो सजिलो छैन। साथै उनले हिउँमा हिँड्दा लगाउने काँडावाल सोल भएको गोडा प्रयोग गर्दा ती कृत्रिम खुट्टा बोक्नुपर्छ। ‘यसले मेरा दुई शेर्पा साथीहरूलाई पाँचपाँच किलो वजन बढाएको छ,’ हरिले १२ दिनअघि प्रकाशित ब्लगमा लेखेका छन्।


उनलाई थाहा छ हिमालमा उनलाई कुनै सुख सुविधा मिल्ने छैन, त्यो आराम मिल्ने वा गर्ने ठाउँ पनि होइन, तर उनी आफ्ना खुट्टाको बचेको भाग फेरि गुमाउन चाहँदैनन्। उनलाई थाहा छ, एउटा सानो गल्तीले शरीरको अर्को कुनै अंग खाइदिन सक्छ। जीवनको धिपधिपे बत्ती झ्याप्पै निभ्न सक्छ।


घटेको उचाइ, अग्लिएको कद

बम विस्फोटले उनको शरीरको भौतिक उचाइ झन्डै आधाले घटाइदियो तर जीवनमा भने उनी अग्लिँदै गएका छन्, सम्भवतः अरू कसैले भेटाउन नसक्ने गरी। सैनिक सेवामा रहेर आतंकवादविरुद्धको लडाइँमा अदम्य साहस र वीरताका साथ भिडेका हरिको जीवन भर्भराउँदो र रोमाञ्चकताले भरिपूर्ण थियो। सपनाहरूले आकाशमा कावा खाइरहेका थिए, लक्ष्यले सगर भेदन गरिरहेको थियो। 


पहरामा मुक्का हानेर बाटो बनाउने साहस र जवानीको मध्यमै उनले युद्धको मैदानमा अकल्पनीय दुर्घटनाको सामना गर्नुपर्‍यो। कि मारिएला, कि मरिएला भन्ने त उनको मनमा लागिरहन्थ्यो। घरमा परिवारलाई सम्झेर मनको ढुकढुकीले बेग पनि माथ्र्यो। तर जीवन मर्नु र बाँच्नुको बीचमै झुन्डिएला भन्ने कुराको परिकल्पना शायदै कसैले गर्ला। हरिले पनि गरेनन्। तर प्रारब्धको लेखा मानिसले कसरी टार्न सक्थ्यो र ?


१९ वर्षको कलिलो उमेरमै ब्रिटिस आर्मीमा भर्ती भएका हरि सन् २०१० मा अफगानिस्तानमा आतंकवाद विरोधी लडाइँमा खटिएका थिए। एक दिन गस्तीमा रहँदा उनको पाउ विस्फोटक पदार्थमा पर्‍यो र सोही विस्फोटमा उनले आफ्ना दुवै खुट्टा गुमाए।

मध्य जवानीमै युद्धले दुवै गोडा लगेपछि उनको जीवनको घडीको सुई टक्क अडियो, जहाँको तहीँ। न त त्यो पछाडि फर्किन मान्यो, न त अगाडि बढ्न नै। आँखामा सजाएका सपना सम्भवतः आँसुसँगै बगेर गए। अनि मनले लिएका लक्ष्यको धागो अचानक कसैले चंगा चेट गरे झैं बीचबाटै चुडाइदियो। लक्ष्यको चंगा बतासमा बत्तियो, धेरैबेर टिकेन। त्यसपछि पर क्षितिजमा हरायो। उनले हेरिरहे।

उकुसमुकुस र छट्पटीको त्यो समय ज्यादै भयानक थियो। समयले शायद निराशाको च्यादर ओढेको थियो र त्यो च्यादर हरि आफैंले ओढाइदिएका थिए। आफैंले गर्न सक्ने काम ज्यादै कम थिए र जति गर्न सकिन्थ्यो त्यति गर्न पनि हिम्मत आउँदैनथ्यो।


गुनासोसँग सम्बन्धविच्छेद

तर मृत्युको मुखैमा पुगेर, यमराजलाई समेत छलेर धर्तीमै अडिएका हरिको अनुहारमा दुःखको छायाँसम्म देखिँदैन। अधिकांश मानिसहरू आफ्नो साथमा प्रशस्त साधनस्रोत, क्षमता र सबलता हुँदा पनि हतास हुने, आत्तिने वा मात्तिने गरेको देख्न सकिन्छ। सानो दुःख वा सुखमा पनि तुरुन्तै व्यवहार परिवर्तन हुने मानिसहरू जत्ति पनि भेट्न सकिन्छ। तर हरि त्यो भीडभन्दा वेग्लै प्रतीत हुन्छन्। उनको अनुहारमा दुःखको बादल त के, धर्साहरू पनि गोचर हुँदैनन्।


ललितपुरको जावलाखेलस्थित रिडी लाउन्जको छतमा आफ्ना कृत्रिम खुट्टा र हिमाल चढ्न सहयोग गर्ने उपकरण देखाउँदै गर्दा उनको अनुहारमा उत्साह पढ्न सकिन्थ्यो। आशा र अठोटको छाया देख्न सकिन्थ्यो। उनको लक्ष्य र गन्तव्यको आभास पाउन सकिन्थ्यो। तर त्यहाँ सिक्नको कुनै गुञ्जायस थिएन। यस्तो लाग्थ्यो, हतास र जीवनप्रतिको गुनासोसँग उनको सम्बन्धविच्छेद भएको धेरै भइसकेको छ र हरिले तिनीहरूलाई बिर्सेर जीवनयात्रालाई अगाडि बढाएका छन्।


अझै दुःख दे

त्यो निराशा, छट्पटी र ऊहापोहले विशृंखल बनाइरहेको बेलामा उनलाई मनोबल दिन आएः बालकृष्ण सम। चर्चित नाटककार तथा कवि समले धर्ती छाडेको दशकौं बितिसके पनि आठ कक्षाको नेपाली विषयमा सोह्रौं अमेरिकी राष्ट्रपति अब्राहम लिंकनको जीवनीको पहिलो हरफमा उल्लेखित उनको कवितांशले हरिलाई थुम्थुम्याउन ठूलो सहयोग गर्‍योः

दुःखीका घरमा मात्र तेरो बास हुने भए,
हे ईश्वर ! दया राखी मलाई अझै दुःख दे।


लिंकन त्यस्ता व्यक्ति हुन् जसले जीवनका हरेक प्रतियोगितामा हार मात्रै भोगेको थिए। विद्यालयको पढाइदेखि वकिल समाजको चुनावसम्म कहीँ पनि उनले जित हात पार्न सकेनन्। एक दर्जनभन्दा बढी पटक हारको सामना गरे पनि उनी डग्मगाएनन्। हारको असर अनुहार र जीवनमा पर्न दिएनन्। अनि जीवनमा लिंकनले एउटा मात्र जित हात पारेः अमेरिकाको राष्ट्रपति। त्यसपछि उनले आफ्नो चारवर्षे कार्यकालमा अमेरिकाबाट दास प्रथाको उन्मूलन गरे अनि कैयौं सामाजिक र आर्थिक सुधार गरे। अहिले विश्वभर उनको नाम सम्मानपूर्वक लिइन्छ। अमेरिकाका संस्थापक जर्ज वासिंगटन, टमस जेफर्सन, बेन्जामिन फ्र्यांकलिन र जोन एडम्स जत्तिकै चर्चा र सम्मान उनले पाएको देखिन्छ। उनको चर्चा अझ बढी छ।


एक सिकर्मीका छोरा लिंकनको संघर्ष र सफलताको कथाले हरिलाई ज्यादै छोएको रहेछ। ‘मेरो मनको अन्तरकुन्तरमा कतै उनको त्यो दुःख, संघर्ष र आशाको कथा लुकेर बसेको रहेछ। दुर्घटनापछि त्यो प्रखर भएर आयो। मलाई अन्तरमनमा आशावान् बनाउन त्यसको ठूलो भूमिका छ,’ हरि भन्छन्।


ह्विलचेयरको उचाइ कति ?

दुवै गोडा गुमाएपछि जीवन हिँड्ने डुल्ने र उफ्रिनेबाट घस्रिनेमा परिणत भयो। आफूलाई आधुनिक जमानाको माने पनि दुर्घटनापछि उनलाई लाग्यो, पक्कै पनि उनले पूर्वजन्ममा कुनै पाप गरेको हुनुपर्छ र यस्तो सजाय भोग्नुपर्‍यो। अर्कातर्फ उनलाई भेट्ने मानिसहरूले दयाको दृष्टिले हेर्थे। कठै बिचरा भन्थे। कसैले पनि हिम्मत दिने, जीवनमा संघर्ष गर्न प्रोत्साहन दिने र सामाजिक गतिविधिमा सक्रिय बनाउने कुरा गर्दैनथे। सुरुका दुई वर्ष उनले कुनै उज्यालो नदेखिकनै बिताए भन्दा पनि हुन्छ। मन बुझाउने साथी मदिरा बन्यो। र त्यो यति घनिष्ठ बन्यो कि, त्यसको साथ छुटाउन उनी पुनस्र्थापना केन्द्रकै सहारा लिनु पर्ने भयो।


दुःख र भावनाको नियन्त्रणका लागि मदिराको सहारा लिँदा उनले झन्डै जीवनबाटै बिदा लिनु परेको थियो। स्थिति कतिसम्म बिग्रियो भने मदिरा नपिउँदा हात काम्ने, दिमाग धुमिल हुने र रिस उठ्नेजस्ता समस्या देखिन थाले। उनलाई लाग्थ्यो, आफू परिवारका लागि बोझ भएको छु र मरिहाले पनि समाजले बिचराबाहेक केही भन्नेवाला छैन। मानिसहरूले उनको विचारको उचाइ वा मनको अभिव्यक्तिबाट होइन, उनले गुमाएको खुट्टाबाट उनीप्रतिको धारणा बनाउँथे। र यो क्रम उनले कृत्रिम खुट्टा लगाउँदा पनि जारी रह्यो। स्थिति कस्तोसम्म रह्यो भने बच्चाहरू अहिले पनि उनलाई रोबोट म्यान भन्छन्। त्यसैले पनि उनलाई लाग्छ, समाजमा सकारात्मक सन्देश फैलाउनु जरुरी छ। अपांगता भएका व्यक्तिहरूप्रतिको धारणा परिवर्तन 
गर्नु जरुरी छ।


उनले प्रोस्थेटिक्स लगाएका मानिस जीवनमा देखेकै थिएनन्, तर आज आफैंले कृत्रिम गोडा लगाउने प्रयास गर्नु परेको थियो। जमिनमा रहेका मानिसलाई ह्विलचेयरको उचाइ पनि ज्यादै अग्लो लाग्ने रहेछ। उनलाई जमिनबाट ह्विलचेयरमा चढ्ने हिम्मतसमेत आएन। उनी भन्छन्, मैले जमिनबाट ह्विलचेयरमा उक्लिन जति मेहनत गरेको छु, त्यत्ति मेहनत त अहिले हिमाल चढ्दा पनि लागेको छैन। त्यो ज्यादै भयानक र चुनौतीपूर्ण समय थियो। तर त्यो पार भइसकेको छ। अब हरिले पछाडि फर्केर हेर्दैनन्। उनी अगाडिको यात्रामा यसरी होमिएका छन् कि उनलाई पछाडि फर्किने न त फुर्सद छ, न त जाँगर नै। अबको समय भनेको अगाडि बढिरहने हो। निरन्तर।


सगरमाथाको सपना

तर होइन रहेछ, हरिको मनको अन्तरकुन्तरमा कतै बाल्यकालदेखि सजाएको सपना जीवितै रहेछ, चल्मलाउँदै रहेछ। चरम निराशा र छटपटीले गाँजेको बेलामा पनि उनलाई कुनै कुराले तानिरहेको रहेछ। साथीहरूसँग लुकामारी खेल्दै गर्दा पनि आँखाबाट झर्न नमानेको त्यो सपनाको गन्तव्य थियोः सगरमाथा। रोल्पाको घरको आँगनबाटै देखिने हिमालले उनलाई ज्यादै आकर्षित गरेको थियो।


दुर्घटनाअघि पनि हरिले जर्मनी, अमेरिका, क्यानडा र अस्ट्रेलियामा आइस स्की खेलेका थिए। हिउँसँग सामीप्यता बढाएका थिए। तर उनी जहाँ पुगे पनि झल्को भने सगरमाथाकै आउँथ्यो। दुर्घटनाको करिब चार वर्षपछि त्यो झझल्को आँखैमा आएर अडियो। अनि त्यसकै हुटहुटीमा उनी आठ वर्षअघि गोसाइँकुण्ड ट्रेकिङमा गए– आफूलाई उच्च भूभागमा अनुकूल बनाउन। भूसतहको उचाइ बढ्दै जाँदा त्यसले आफ्नो शरीरमा पार्ने असर पार्न र आफ्ना कृत्रिम गोडालगायत सामानहरूको परीक्षण गर्न।

तर २०७४ पुसमा सरकारले नयाँ नियम जारी गर्‍यो। एकल पर्वतारोही, दृष्टिविहीन र दुवै गोडा गुमाएका (डबल एम्प्युटी)हरूलाई सगरमाथा चढ्न रोक लगायो। उच्च हिमाली पर्वतमा हुने मृत्यु र दुर्घटना घटाउने उद्देश्यले ल्याएको भनिए पनि नेपाल र विदेशमा त्यो नियमको ठूलो आलोचना भयो। त्यसले हरिको सगरमाथा यात्रामा पनि अल्पविराम लगाइदियो। चारैतिरबाट उनलाई साथ र समर्थन नभएको भए त्यो नियम उनको आकांक्षामा पूर्णविराम नै बन्न सक्थ्यो। सरकारको निर्णयले उनीलगायत धेरैलाई आक्रोशित तुल्यायो।

हालसम्म करिब तीन दर्जन अपांगता भएका व्यक्तिहरूले सगरमाथा चढ्ने प्रयास गरे पनि १५ जना मात्र सफल भएका छन्। जर्ज म्यालोरीदेखि हालसम्म करिब तीन सय व्यक्तिले सगरमाथामा ज्यान गुमाएका छन्। तर अपांगतालाई सगरमाथा आरोहरणमा प्रतिबन्धको कारण बनाउन नहुने भन्दै धेरैले विरोध जनाएपछि सरकारले आफूले लगाएको रोक हटाएको थियो। सन् २०१८ मेमा ६९ वर्षका दुवै गोडा गुमाएका चिनियाँ नागरिक सिया बोयुले पाँचौं पटकको प्रयासमा सगरमाथाको सफल आरोहण गरेका थिए। सगरमाथा आरोहणको पहिलो प्रयास गर्दा उनी मात्र २५ वर्षका थिए। सगरमाथाको शिखरमा पुग्ने पहिलो डबल एम्प्युटी भने न्युजिल्यान्डका मार्क इंग्लिस हुन् जसले सन् २००६ मा तिब्बततर्फबाट आरोहण गरेका थिए।

चाहे हिमाल होस या जीवन, सार्थक बनाउन त्यसमाथि विजय पाउनुपर्छ। अनि उच्च पहाडहरूले मानवलाई सदियौंदेखि आकर्षित गरिरहेका छन्। तेस्रो ​​​​​​​पटकको प्रयासमा सन् १९२४ मा सगरमाथामै ज्यान गुमाएका ब्रिटिस पर्वतारोही जर्ज म्यालोरीलाई कसैले सोधेको थियोः किन तपाईं सगरमाथा चढ्न मरिहत्ते गरिरहनु भएको छ ? उनको जवाफ थियोः किनकि त्यो त्यहाँ छ। अर्थात् त्यसले त्यहाँ बसेर सम्पूर्ण मानवहरूलाई चुनौती दिइरहेको शिखरतर्फको यात्राका लागि।

Published in Annapurna Post daily on 20 May 2023. 

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...