Bagmati at Sinamangal. Photo by Sandhya Shrestha |
‘वाग्मतीको पानी आगामी ५ वर्षभित्र नुहाउन योग्य बन्दैछ’ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, ‘वाग्मती सफाइ तथा संरक्षण अभियान’ महत्वाकाङ्क्षी योजना समयमै कार्यान्वयनमा आयो भने त्यो सम्भव छ । यस अभियानलाई व्यवहारमा उतार्ने योजनाअन्तर्गत हाल उपत्यकाका नदीलाई ढलमुक्त बनाउने कार्य जारी रहेको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष महेशबहादुर बस्नेतले जानकारी दिए । ‘योजनाअनुसार काम भए आगामी २ वर्षभित्रै उपत्यकाका नदी ढलमुक्त हुनेछन्,’ उनले भने ।
सो योजनाको सफल कार्यान्वयनका लागि समितिले सरकारसँग झण्डै ६० करोड रुपैयाँ बजेट प्रस्ताव गरेको छ । वाग्मती नदी संरक्षण तथा सरसफाइमा आगामी वर्ष एशियाली विकास बैङ्कले आर्थिक सहयोग गर्ने भएको छ । सो सहयोग नदी किनारको ढल प्रशोधनमा उपयोग गर्न समितिले प्रस्ताव गरेको छ ।
चीनको नाञ्जिङ नदी, ३२ किमीलाई ढलमुक्त गरी पर्यटकीय आकर्षणका रूपमा विकास गर्ने प्रयास सफल भएपछि वाग्मतीलाई पनि सोही मोडलमा विकास गर्न लागिएको बस्नेत बताउँछन् । यस अभियानअन्तर्गत समिति चालू आवको अन्त्यसम्म शङ्खमूलसम्म ढल निर्माण कार्य सकाउने योजनामा छ । वाग्मती नदीको दुवै किनारमा ढल निर्माण कार्य सम्पन्न भएपछि हिउँदको समयमा पनि ५ सय लिटर पानी प्रतिसेकेण्ड बगाउने समितिको योजना छ । त्यसका लागि चिसापानीस्थित नागमतीमा ४ सय ५० रोपनी क्षेत्रफलमा ७५ मिटर अग्लो बाँध बनाउने योजना छ । वाग्मतीको दुवै किनारमा वृक्षरोपण, फराकिलो सडक तथा पार्कहरू निर्माण गर्ने योजना समितिको छ । वाग्मती किनारमा ढल निर्माणसँगै नदी नियन्त्रणको कार्यसमेत जारी रहेका कारण नदी कटानको समस्या कम हुने अध्यक्ष बस्नेत बताउँछन् ।
त्यसैगरी ‘वाग्मती एक्शन प्लान’को कार्यान्वयनका लागि प्रभावकारी ऐन निर्माण गर्नुपर्ने प्रस्तावमा वर्तमान मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी सकारात्मक रहेको समितिले बताएको छ । २०६६ सालमै ऐनको मस्यौदा तयार भए पनि आउन नसकेको सो ऐन अध्यादेशमार्फत ल्याउने तयारी भइरहेको छ । राज्यले स्पष्ट नीतिनिर्माण तथा भएका नीति कार्यान्वयन गर्न नसक्दा घरको फोहोर सीधै नदीमा फाल्ने प्रचलन मौलाउँदै गएको हो । पशुपति क्षेत्र प्रदूषित बन्दै गएपछि त्यसको संरक्षणका लागि सरकारले २०५१ सालमा समिति स्थापना गरेको थियो । कलकारखाना तथा शौचालयको फोहोर सीधै नदीमा फाल्न नपाउने व्यवस्था भए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।
यसरी उपत्यकाको इतिहास र सभ्यताको प्रतीक वाग्मती नदी पहिचान नै लोप हुने अवस्थाबाट जोगिँदैछ । उपत्यकाका नदी संरक्षणमा सरकार, दातृ निकाय, गैरसरकारी संस्था र निजीक्षेत्र सबैको चासो बढ्दै जान थालेपछि कुनै समय यहाँका बासिन्दाका लागि जीवन बनेका नदीले पुनर्जीवन पाउने सम्भावना बढेको छ ।
उपत्यकाबासीको तिर्खा मेट्न नदीको मुहानबाटै बाँध बाँधेर पानीलाई पाइपको बाटो हिँडाइएको छ । त्यसो हुँदा अहिले वाग्मतीमा पानी छैन, बरु ढलमात्र बगिरहेको छ । विश्वका धेरै राजधानी तथा ठूला शहरहरू नदी किनारमै छन् । तर, केही विकासशील मुलुकहरूबाहेक धेरै मुलुकले शहरको बीचबाट बग्ने त्यस्ता नदीहरूको संरक्षण र सम्वद्र्धनका लागि विशेष अभियान सञ्चालन गरे र अहिले ती नदीहरूमा सफा पानी बगेको देख्न सकिन्छ । तर, उपत्यकामा बग्ने वाग्मतीलगायत विष्णुमती, धोबीखोला, मनोहराजस्ता नदीलाई चरम प्रदूषण र अतिक्रमणले गाँजेको छ ।
उपत्यकाका प्राकृतिक धरोहर ती नदीहरूको संरक्षण गर्नकै लागि सरकारले झण्डै दुई दशक अघिदेखि नै एक समिति गठन गरी काम थालेको थियो । २०५१ सालमा गठन भएको पशुपति क्षेत्र वातावरण सुधार कार्यान्वयन तथा अनुगमन समिति नै हालको अधिकारसम्पन्न वाग्मती एकीकृत विकास समितिमा विकसित भएको हो ।
निजीक्षेत्रको चासो कम
२०५१ सालमा अनुगमन समिति स्थापना गरेयता वाग्मती संरक्षणका नाममा खुल्ने संस्थाको सङ्ख्या १ सय नाघेको छ । समितिको तथ्याङ्कअनुसार वाग्मती नदी सरसफाइ अभियानमा सक्रिय रहने गरी समितिको सम्पर्कमा आउने संस्थाको सङ्ख्या हाल १ सय १४ छ । जिल्ला प्रशासन कार्यालय तथा समाजकल्याण परिषद्मा दर्ता हुने संस्थाको पूर्ण विवरण समितिसमक्ष आइनपुगेको समितिका अध्यक्ष महेशबहादुर बस्नेत बताउँछन् ।
बस्नेतका अनुसार निजीक्षेत्रको सहभागितामा नदी संरक्षण तथा सरसफाइसम्बन्धी अभियान सञ्चालन हुँदै आए पनि संस्थागत रूपमा निजीक्षेत्र सहभागी हुन सकेको छैन । नेपाल टेलिकम, सूर्य टोबाको, डाबर नेपाललगायत संस्थाले नदी संरक्षण तथा सरसफाइमा चासो दिए पनि पूर्वाधारको अभावमा निजीक्षेत्रलाई सहभागी गराउन नसकिएको बस्नेत बताउँछन् । केही वर्षअघि द्वारिकाज होटलकी अध्यक्ष अम्बिका श्रेष्ठले ‘फ्रेण्ड्स अफ वाग्मती’ नामक अभियान सञ्चालन गर्ने योजना बनाए पनि उपयुक्त पूर्वाधार तथा नीतिको अभावका कारण कार्यान्वयनमा आउन सकेन ।
पटके संस्था बढी
वाग्मती संरक्षणका नाममा स्थापित संस्थाको सङ्ख्या धेरै रहे पनि सक्रिय रूपमा सरसफाइ तथा संरक्षणमा लाग्ने संस्था अत्यन्त कम रहेको समिति बताउँछ । उनीहरूले वाग्मतीको नाममा चर्चा बटुल्नमात्र चाहेको उसको भनाइ छ ।
त्यसैले, नदी सरसफाइका नाममा जिल्ला प्रशासन कार्यालय र समाज कल्याण परिषद्मा दर्ता हुने सङ्घसंस्थालाई समितिको समन्वयमा मात्र कार्यक्रम सञ्चालनको अनुमति दिन पत्राचार गरिएको बताइएको छ । बस्नेतका अनुसार वाग्मती नदी संरक्षणका नाममा थुप्रै विकृति भित्रिएपछि त्यसको निराकरण गर्ने योजना समितिको छ ।
रोटरी क्लब अफ काठमाडौंका अनुसार क्लबले एक वर्षयता बाग्मती सरसफाइसम्बन्धी कुनै पनि कार्यक्रम सञ्चालन गरेको छैन । भोटेवहालस्थित भोटेबहाल युवा क्लबले पनि वाग्मती सरसफाइ नगरेको २ वर्ष नाघिसक्यो । टोल सुधार समिति पशुपति वडा नं ८ का पूर्वअध्यक्ष शरद वैद्यका अनुसार टोल सुधार समितिका नाममा स्थापित अधिकांश क्लबले संयुक्त रूपमा वाग्मती सरसफाइ कार्यक्रम आयोजना गर्छन् । तर, सो कार्यक्रम नियमित आयोजना हुँदैन । ‘क्लबहरूले अन्य गतिविधिसँगै वाग्मती सरसफाइको कार्यक्रम राख्ने भएकाले नियमित सरसफाइ हुन नसकेको हो,’ उनले भने ।
वाग्मती सरसफाइमा सक्रिय संस्था अधिकांश टोल स्तरीय क्लबहरू छन् । बस्नेतका अनुसार आधा दर्जन संस्थाबाहेक अन्यले नियमित गतिविधि गर्दैनन् । माकलबारी, सुन्दरीजल टोल सुधार समिति, बाग्मती सरोकार समिति सुन्दरीजल–गोकर्ण, वाग्मती सेवा समिति शङ्खमूल–घाटजस्ता संस्था वाग्मती सरसफाइ तथा नदी संरक्षणमा नियमित सक्रिय छन् । सामाजिक सङ्घ–संस्थाका गतिविधिले जनचेतना अभिवृद्धिमा भने उल्लेख्य सहयोग गरेको बताइन्छ । आन र फानले भने यो अभियानलाई आगामी वर्षमा नियमित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘यो जनचेतना अभियानलाई हामीले वार्षिकरूपमै अगाडि बढाउने योजना बनाएका छौं,’ आनका अध्यक्ष राजकुमार भट्टराई भन्छन्, ‘त्यसै योजनाअन्तर्गत यो वर्ष वाग्मतीको किनारको ५० मिटरसम्मको क्षेत्रमा प्लाष्टिक तथा ठोस पदार्थ नदीमा नफाल्न जनचेतनामूलक अभियान चलाइनेछ ।’
वाग्मती सफाइका लागि फूटबल
नेपाल विज्ञापन सङ्घ (आन) र नेपाल चलचित्र कलाकार सङ्घ (फान)ले वाग्मती संरक्षणसम्बन्धी जनचेतना बढाउने उद्देश्यले भोलि शनिवार फूटबल प्रतियोगिता आयोजना गर्दैछन् । सोही अभियानअन्तर्गत आइतवार झण्डै २ सय ७५ जना स्वयंसेवीले गुह्यश्वरीदेखि सिनामङ्गल पुलसम्म नदी सरसफाइ गर्नेछन् । विभिन्न सामाजिक सङ्घ–संस्थाले वाग्मती सरसफाइका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । केही वर्षअघिसम्म चर्चित रहेको हुतराम वैद्यको नामसँगै वाग्मती सम्पदा संरक्षणमा रोटरी, लायन्सलगायत अन्तरराष्ट्रिय मान्यताप्राप्त क्लबदेखि स्थानीय युवा क्लब पनि सक्रिय छन् । यसैगरी आमा समूह, टोल सुधार समिति, धार्मिक प्रतिष्ठान, पुस्तकालय, सांस्कृतिक संस्थानजस्ता संस्था पनि वाग्मती सरसफाइ अभियानमा लागेका छन् । साथै, नेपाल प्रहरी, नेपाली आर्मी, सशस्त्र प्रहरी, खेलाडी, कलाकार तथा अन्य ‘सेलिब्रेटी’ पनि यस अभियानमा सक्रिय छन् । फानका अध्यक्ष नवल खड्का भन्छन्, ‘व्यवसायी र कलाकारको कुरा सर्वसाधारणले छिटो सुन्ने भएकाले हामी विज्ञापन व्यवसायी र फिल्म कलाकारहरूले जनचेतना अभियान सञ्चालन गर्ने योजना बनाएका हौं । यो हाम्रो सामाजिक उत्तरदायित्व पनि हो ।’
नेपाल विज्ञापन सङ्घ (आन) र नेपाल चलचित्र कलाकार सङ्घ (फान)ले वाग्मती संरक्षणसम्बन्धी जनचेतना बढाउने उद्देश्यले भोलि शनिवार फूटबल प्रतियोगिता आयोजना गर्दैछन् । सोही अभियानअन्तर्गत आइतवार झण्डै २ सय ७५ जना स्वयंसेवीले गुह्यश्वरीदेखि सिनामङ्गल पुलसम्म नदी सरसफाइ गर्नेछन् । विभिन्न सामाजिक सङ्घ–संस्थाले वाग्मती सरसफाइका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । केही वर्षअघिसम्म चर्चित रहेको हुतराम वैद्यको नामसँगै वाग्मती सम्पदा संरक्षणमा रोटरी, लायन्सलगायत अन्तरराष्ट्रिय मान्यताप्राप्त क्लबदेखि स्थानीय युवा क्लब पनि सक्रिय छन् । यसैगरी आमा समूह, टोल सुधार समिति, धार्मिक प्रतिष्ठान, पुस्तकालय, सांस्कृतिक संस्थानजस्ता संस्था पनि वाग्मती सरसफाइ अभियानमा लागेका छन् । साथै, नेपाल प्रहरी, नेपाली आर्मी, सशस्त्र प्रहरी, खेलाडी, कलाकार तथा अन्य ‘सेलिब्रेटी’ पनि यस अभियानमा सक्रिय छन् । फानका अध्यक्ष नवल खड्का भन्छन्, ‘व्यवसायी र कलाकारको कुरा सर्वसाधारणले छिटो सुन्ने भएकाले हामी विज्ञापन व्यवसायी र फिल्म कलाकारहरूले जनचेतना अभियान सञ्चालन गर्ने योजना बनाएका हौं । यो हाम्रो सामाजिक उत्तरदायित्व पनि हो ।’
May 17, 2013 Published in Aarthik Abhiyan Daily
No comments:
Post a Comment