वैशाख २१, काठमाडौं । नेपालले बौद्धिक जनशक्तिलाई मुलुकमै रोक्न नसकेको एक अन्तरराष्ट्रिय प्रतिवेदनले देखाएको छ । विश्व बैङ्कले हालै तयार गरेको ‘बौद्धिक अर्थतन्त्र परिसूचक २०१२’मा सन् २००० देखि २०१२ को अवधिमा नेपाल १० स्थान तल झरेको देखाएको हो । यसले सो १२ वर्षको अवधिमा नेपालले दक्ष र बौद्धिक जनशक्ति गुमाएको प्रष्ट पारेको छ । परिसूचकमा समावेश १ सय ४४ मुलुकमध्ये नेपाल १ सय ३४ औं स्थानमा छ ।
आर्थिक तथा संस्थागत व्यवस्था, शिक्षा तथा सीप, सूचना पूर्वाधार र नवप्रवर्तन प्रणालीमा मापन गरिएको बौद्धिक अर्थतन्त्र परिसूचकका चारै शीर्षकमा नेपालले १० पूर्णाङ्कमा अधिकतम २ दशमलव २३ अङ्क मात्र पाएको छ । चार शीर्षकमध्ये नेपालले शिक्षा तथा शीपका क्षेत्रमा सो अङ्क प्राप्त गरेको हो । सूचना पूर्वाधारको अवस्था सबैभन्दा कमजोर देखिएको छ जसमा नेपालले १ दशमलव शून्य १ अङ्क मात्र प्राप्त गरेको छ । आर्थिक तथा संस्थागत व्यवस्थामा नेपालको अङ्क १ दशमलव ३३ छ भने नवप्रवर्तन प्रणालीमा १ दशमलव ७३ छ । नेपाल एशिया तथा प्रशान्त क्षेत्रका मुलुकहरूको औसत बौद्धिक अर्थतन्त्र परिसूचक ४ दशमलव ३९ भन्दा निकै तल रहेको छ । विश्वको औसत अङ्क भने ५ दशमलव १२ रहेको छ । यो सन् २००० को तुलनामा २ स्थान तल हो ।
९ दशमलव ४३ अङ्कका साथ परिसूचकको शीर्षस्थानमा यूरोपेली मुलुक स्वीडेन रहेको छ । त्यसपछिका शीर्ष चार स्थानमा रहेका फिनल्याण्ड, डेनमार्क, नेदरल्याण्ड्स र नर्वे सबै यूरोपेली मुलुक नै हुन् । संयुक्त राज्य अमेरिका १२औं स्थानमा छ भने बेलायत १४औं, हङ्कङ १८औं र जापान २२औं स्थानमा छन् । त्यस्तै रूस ५५औं, ब्राजिल ६०औं र चीन ८४औं स्थानमा छन् । दक्षिण एशियाली मुलुकमध्ये श्रीलङ्काको स्थिति अन्यको तुलनामा राम्रो देखिएको छ । श्रीलङ्का ३ दशमलव ६३ अङ्कका साथ १ सय १ औं स्थानमा छ । भारत ३ दशमलव शून्य ६ अङ्कका साथ १ सय ९, पाकिस्तान २ दशमलव ४५ अङ्कका साथ १ सय १६ औं स्थानमा छन् भने बङ्गलादेश १ दशमलव ४९ अङ्कका साथ नेपालभन्दा दुई स्थान तल रहेको छ । अध्ययनले अन्य दक्षिण एशियाली मुलुक अफगानिस्तान, भुटान र माल्दिभ्सलाई समावेश गरेको छैन । एशियाली मुलुकमा चाइनिज ताइपेइ शीर्षस्थानमा छ भने म्यानमार अन्तिममा छ ।
क्षेत्रगत रूपमा भने उत्तर अमेरिकाले सबैलाई उछिनेको छ । त्यसपछि यूरोप र मध्य एशिया छ भने त्यसपछि क्रमशः पूर्वी एशिया तथा प्रशान्त, ल्याटिन अमेरिका, मध्यपूर्व तथा उत्तरी अफ्रिका, दक्षिण एशिया र अफ्रिका रहेका छन् ।
बौद्धिक अर्थतन्त्रका चार तत्त्व र नेपालको अङ्क
१. आर्थिक तथा संस्थागत व्यवस्था : भन्सार तथा गैरभन्सार अवरोध, नियामकको गुणस्तर, विधिको शासन (१.३३)
२. शिक्षा तथा सीप : वयस्क साक्षरता दर, माध्यमिक तहको कुल भर्ना दर, उच्च शिक्षाको कुल भर्ना दर (२.२३)
३. सूचना पूर्वाधार : प्रति १ हजारमा कम्प्युटर, टेलिफोन र इण्टरनेट प्रयोगकर्ता (१.०१)
४. नवप्रवर्तन प्रणाली : प्रतिव्यक्ति तिरिएको राजस्व, प्रति १० लाख जनामा प्राविधिक जर्नल लेखको सङ्ख्या, प्रति १० लाख जनामा अमेरिकी प्याटेण्ट तथा ट्रेडमार्क अधिकृतले प्रदान गरेको प्याटेण्ट (१.७३)
स्रोत : विश्व बैङ्क
May 5, 2014 Published in Aarthik Abhiyan
No comments:
Post a Comment