Sunday, November 2, 2014

अर्थशास्त्रको नोबेल पुरस्कार–२०१२ कसले पाउला ?


पर्सि सोमवार घोषणा हुने अर्थशास्त्र विधाको नोबेल पुरस्कार विजेताबारेको अड्कलबाजीले अहिले बजार तातेको छ । कसले पाउला त यो पुरस्कार ? प्रस्तुत छ केही सम्भाव्य विजेताको परिचय :

रोबर्ट जे शिल्लर

अमेरिकी अर्थशास्त्री शिल्लरले वित्तीय बजारमा आउने उतारचढाव र सम्पत्ति मूल्यसम्बन्धी गतिविज्ञान (डाइनामिक्स)को सिद्धान्तका लागि यो वर्षको नोबल पुरस्कार पाउने सम्भावना भएको रोयटर समाचार एजेन्सीले जानकारी दिएको छ । येल विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक उनी २००८ मा शुरू भएको विश्वव्यापी वित्तीय सङ्कटबारे चेतावनी दिनेमध्येका एक अर्थशास्त्री हुन् । सन् २००० मा प्रकाशित पुस्तक ‘इर्राशनल एक्जुबरेन्स’मा उनले वित्तीय विस्फोटनको खतरा उत्पन्न भएको चेतावनी दिएका थिए । त्यसबेला उक्त पुस्तकले निकै चर्चा पाएको थियो र न्यूयोर्क टाइम्स पत्रिकाको सबैभन्दा बढी विक्री हुने पुस्तक (बेष्टसेलर)हरूको सूचीमा इर्राशनल एक्जुबरेन्स परेको थियो । यो पुस्तकलाई सन् २००३ र २००५ का संस्करणमा थप परिष्कृत गर्दै शिल्लरले घरजग्गाको मूल्य अनियन्त्रित बन्दै गइरहेकाले चाँडै नै वित्तीय बजारहरूमा सङ्कट आउन सक्ने पूर्वानुमान गरेका थिए । 

त्यस्तै उनले सन् २००३ मा ब्रुकिङ्स इन्ष्टिच्युशनले घरजग्गा व्यापार धराशयी हुन लागेकोबारे आशङ्का गर्दै प्रकाशित गरेको ‘इज दियर अ बबल इन हाउजिङ मार्केट ?’ नामक अर्को चर्चित पुस्तकको पनि सहलेखन गरेका थिए । यसका साथै शिल्लरले लेहम्यान ब्रदर्श बैङ्क धराशयी हुनुभन्दा ठीक १ वर्षअघि सन् २००७ मा वालस्ट्रिट जर्नल पत्रिकामा अमेरिकी घरजग्गा बजारमा ठूलो सङ्कट आउन लागेको र त्यसको परिणामस्वरूप सम्पूर्ण वित्तीय व्यवस्था नै खलबलिने चेतावनी दिएका थिए । त्यसको एक वर्षमै अमेरिकी घरजग्गा बजार धराशयी हुनपुग्यो र विश्वव्यापी वित्तीय सङ्कट आरम्भ भयो । प्राध्यापक शिल्लरका आफ्ना सटिक भविष्यवाणी र विश्लेषणहरूले गर्दा सन् २०११ मा ब्लुमबर्ग टेलिभिजनको विश्व वित्तीयप्रणालीलाई प्रभावित गर्ने ५० प्रमुख व्यक्तित्वहरूको सूचीमा पर्न सफल भए । उनी विश्वका १ सय प्रभावशाली अर्थशास्त्रीहरूको सूचीमा पनि रहेका छन् । सन् २०१२ मा उनको ‘फाइनान्स एण्ड गुड सोसाइटी’ नामक पुस्तक प्रकाशित भएको छ ।  

स्टेफन ए रोस

मासाच्युसेट्स इन्ष्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)को स्लोन स्कूल अफ म्यानेजमेण्टका प्राध्यापक स्टेफन एलान रोस वित्तीय अर्थशास्त्रका थुप्रै मोडल र सिद्धान्तका प्रतिपादक हुन् । रोयटरका अनुसार प्राध्यापक रोस मूल्य निर्धारणको ‘आरब्रिटेज’ सिद्धान्त  र वित्तीय व्यवस्थाका अन्य आधारभूत अवधारणा विकासमा गरेको योगदानका लागि सन् २०१२ को नोबल पुरस्कार पाउने सम्भाव्य उम्मेदवार हुन् । उनले कर्पोरेट वित्तीय व्यवस्था सम्बन्धमा लेखेका पुस्तक र लेखहरू निकै लोकप्रिय छन् । प्राध्यापक रोसले सन् ७० को दशकमा विकास गरेका आरबिट्रेज प्राइसिङ थियोरी र बाइनोमियल अप्सन्स प्राइसिङ मोडल (जसलाई ‘कोक्स–रोस–रुबिन्सिटन मोडल’ पनि भनिन्छ) विशेष चर्चित छन् । त्यसैगरी सन् ८० को दशकमा उनले विकास गरेको जोखीमशून्य मूल्य निर्धारण (रिस्क–न्यूट्रल प्राइसिङ)को आधारभूत वित्तीय अवधारणाले अर्थशास्त्रको क्षेत्रमा निकै चर्चा पाएको थियो । 

त्यस्तै सन् १९८५ मा ब्याजदरको गतिविज्ञानबारे अन्य अर्थशास्त्रीहरूसँग मिलेर ‘कोक्स–इन्ग्रेसोल–रोस मोडल’ पनि प्रतिपादन गरेका थिए । रोसले विकास गरेका यी सिद्धान्त नियोक्लासिकल फाइनान्सका आधारस्तम्भका रूपमा रहेका छन् । उनले लेखेका पुस्तकहरूमा फण्डामेण्टल्स अफ कर्पोरेट फाइनान्स, मोडर्न फाइनान्सियल म्यानेजमेण्ट र नियोक्लासिकल फाइनान्स पाठकहरूले निकै रुचाएका कृतिमध्ये पर्छन् ।


 एन्थोनी बी एट्किन्सन

बेलायती अर्थशास्त्री सर एन्थोनी बार्नस् एट्किन्सन आयको असमानता र लोककल्याणकारी राज्य एवम् सार्वजनिक क्षेत्रको अर्थशास्त्रमा पु¥याएको योगदानका कारण यो वर्षको पुरस्कारका लागि छानिएका हुन् । अक्सफोर्ड विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक एट्किन्सनले सन् ६० को दशकको अन्त्यदेखि गरीबी र आयको असमानताबारे पुस्तक लेख्न शुरू गरेका थिए । उनको पहिलो पुस्तक पोभर्टी इन ब्रिटेन एण्ड दी रिफर्म अफ सोसियल सेक्युरिटी (सन् १९६९) त्यसबेलाको निकै चर्चित कृति हो । एजे ह्यारीसनसँगको सहलेखनमा निस्केको ‘द डिष्ट्रिब्युशन अफ पब्लिक वेल्थ इन ब्रिटेन’ (सन् १९७८) उनको अर्को मुख्य कृति हो । त्यसैगरी उनले प्राध्यापक जोसेफ ई स्टिग्लिजसँगको सहकार्यमा ‘लेक्चर्स अन पब्लिक इकोनोमिक्स’ (सन् १९८०) पनि लेखेका थिए । सन् ९० को दशकको शुरूतिर सोभियत रूस र पूर्वी यूरोपका कम्युनिष्ट राज्यहरूको पतन भएको सन्र्दभमा ‘इकोनोमिक ट्रान्सफर्मेशन इन इष्टर्न यूरोप एण्ड दि ड्रिष्ट्रिब्युशन अफ इनकम’ (सन् १९९२) शीर्षकको पुस्तक लेखेबापत एट्किन्सनले निकै सराहना बटुलेका थिए । 

यो कृतिले उक्त क्षेत्रको आर्थिक रूपान्तरण तथा त्यहाँका नागरिकको आय वितरणका लागि चाल्नुपर्ने सम्भावित कदम स्पष्ट  रूपमा देखाएको थियो । यीबाहेक उनले लेखेकामध्ये सन् १९९५ मा प्रकाशित पब्लिक इकोनोमिक्स इन एक्शन, इनकम डिष्ट्रिब्युशन इन ओईसीडी कण्ट्रिज, इनकम्स एण्ड दी वेलफेयर स्टेट (सन् १९९६), पोभर्टी इन यूरोप (सन् १९९८), द इकोनोमिक कन्सिक्वेन्सेज अफ रोलिङ ब्याक दी वेलफेयर स्टेट (सन् १९९९)ले सम्पत्तिको असमान वितरण र गरीबीको समस्या निराकरणका लागि नीतिनिर्माताहरूको मार्ग प्रशस्त गरेको धेरैजना विश्लेषकहरू बताउँछन् । 

एङ्गस एस डेटन

रोयटरको अनुमानमा यस वर्षका अर्का सम्भाव्य नोबेल पुरस्कार विजेता हुन् प्रिन्सटन विश्वविद्यालयको वुड्रो विल्सन स्कूलका अर्थशास्त्र र अन्तरराष्ट्रिय मामिला विषयका प्राध्यापक एङ्गस स्टेवार्ट डेटन । विश्वका प्रमुख सूक्ष्म अर्थशास्त्रीका रूपमा ख्याती कमाएका उनी उपभोग, आम्दानी तथा बचत, गरीबी, स्वास्थ्य र लोकहितका अनुभवजन्य अनुसन्धानका लागि यो वर्ष नोबेल पुरस्कारका लागि छानिएका हुन् । प्राध्यापक डेटनले मानिसहरू के भएमा खुशी हुन्छन् भनेर गरेको अध्ययनमा सशक्त निष्कर्ष निकालेका छन् । आफ्नो अनुसन्धानमा उनले प्रतिवर्ष ७५ हजार डलरसम्म आम्दानी बढ्दै जाँदा अमेरिकीहरूको जीवन निकै सुखमय हुँदै गएको पाएका थिए । तर, आम्दानी ७५ हजार डलरभन्दा बढी भएमा भने मानिसहरूको खुशी कम हुँदै जाने आश्यर्चजनक तथ्य पनि उनले खुलासा गरेका थिए । उनले प्रतिपादन गरेको ‘डेटन विडम्बना’ भन्ने अवधारणा पनि प्रसिद्ध छ । 

यदि डेटनले यो वर्ष पुरस्कार पाएको खण्डमा पछिल्ला ५ वर्षमा तीनपटक पुरस्कार हात पार्ने  प्रिन्सटन विश्वविद्यालयका तेस्रो अर्थशास्त्री बन्नेछन् । सन् २००८ मा प्रिन्सटनका प्राध्यापक पल क्रुग्म्यान नोबेल पुरस्कारबाट सम्मानित भएका थिए । त्यसैगरी गतवर्ष यस पुरस्कारबाट संयुक्त रूपमा विभूषित हुने क्रिष्टोफर सिम्स र थोमस सार्जेण्ट पनि प्रिन्सटनकै प्राध्यापक हुन् । डेटनले लेखेका पुस्तकहरूमा इकोनोमिक्स एण्ड कञ्जुमर बिहेभियर (सन् १९८०) , अण्डरस्ट्याण्डिङ कञ्जम्प्शन (सन् १९९१), द एनालाइसिस अफ हाउसहोल्ड सर्भे (सन् १९९७) र द ग्रेट इण्डियन पोभर्टी डिबेट (सन् २००५) निकै चर्चित कृति हुन् । रोयटर्सले सन् २००२ देखि नोबेलको अर्थशास्त्र विधाका सम्भाव्य विजेताको अनुमान सार्वजनिक गर्न थालेपछि अहिलेसम्म त्यस्ता चारजनाले पुरस्कार पाइसकेका छन् ।

रोयटर्सले विभिन्न वर्षमा अनुमान गरेकामध्ये ३४ जना अर्थशास्त्री अहिले पनि नोबेलका लागि दाबेदार मानिन्छन् । र, त्यस्ता नाममा युजिन एफ फामा, रिचार्ड एच थेलर र केनेथ आर फ्रेञ्च पनि छन् । फामा र थेलर शिकागो विश्व विद्यालयका प्राध्यापक हुन् । यसै विश्वविद्यालयका ६ जना प्राध्यापकले अर्थशास्त्रको नोबेल पुरस्कार पाइसकेका छन् । संसारमा हाल सबैभन्दा बढी चर्चित आर्थिक समस्या सम्पत्तिको मूल्यमा आएको परिवर्तनले गराएको हुनाले शिल्लर र रोसले पुरस्कार पाउने सम्भावना बलियो मानिएको हो । त्यस्तै हालको प्रमुख आर्थिक समस्याका रूपमा आयको असमानता र गरीबी रहेकाले एट्किन्सन डेटनको सम्भावना पनि बलियो छ । सन् १९६९ देखि दिन थालिएको अर्थशास्त्रको नोबेल पुरस्कार गतवर्षसम्म ६९ जनाले पाइसकेका छन् । यसैबीच शान्तितर्फको नोबेल पुरस्कार यूरोपेली सङ्घलाई दिइएको छ ।

October 13, 2012 Published in Aarthik Abhiyan Daily

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...