समीर थापा
सभापति, ‘दोस्रो युवा उद्यमी सम्मेलन २०१२’ आयोजक समिति
सभापति, ‘दोस्रो युवा उद्यमी सम्मेलन २०१२’ आयोजक समिति
समीर थापा शुक्रवार राजधानीमा सम्पन्न ‘दोस्रो युवा उद्यमी सम्मेलन २०१२’ आयोजक समितिका सभापति हुन् । उनी नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गतको नेपाल युवा उद्यमी मञ्च (एनवार्ईर्र्ईएफ)का प्रथम उपाध्यक्ष पनि हुन् । पहिलोपटक राष्ट्रियस्तरमा आयोजना गरिएको यो सम्मेलन मुलुकको आर्थिक विकासमा एउटा इटा थप्ने एक प्रयास भएको उनको भनाइ छ । सन् २००३ देखि एनवाईईएफ प्रवेश गरेका उनी तृतीय र द्वितीय उपाध्यक्ष हुँदै प्रथम उपाध्यक्ष निर्वाचित भएका हुन् । थापा होटल म्यानेजमेण्टमात्र पढाइ हुने नेपालकै पहिलो कलेज सिल्भर माउण्टेन स्कूल अफ होटल म्यानेजमेण्टका संस्थापक प्रिन्सिपल हुन् ।
उनी अमेरिका, भारत, रोमानिया, नेपाललगायत विश्वका सात मुलुकमा विस्तार भएको आहा इण्टरनेशनल होटल म्यानेजमेण्ट स्कूलका संस्थापक साझेदार तथा निर्देशक पनि हुन् । उनले स्वीट्जरल्याण्डको ज्युरिच विश्वविद्यालयबाट होटल म्यानेजमेण्टमा स्नातक र अमेरिकाको टेक्ससस्थित ट्रिनिटी विश्वविद्यालयबाट एमबीए गरेका छन् । उनी कैलाश इण्टरप्राइजेज नामक हेभी इक्विपमेण्टको व्यापार गर्ने कम्पनी, शीप विकास तालीम केन्द्र ‘एडु–प्रो’ र सिल्भर माउण्टेन ग्य्राजुएट बिजनेश स्कूलमा पनि संलग्न छन् । नेपालमा युवालाई व्यवसायको प्रशस्त सम्भावना रहेको बताउने थापासँग आर्थिक अभियानका मोदनाथ ढकालले गरेको कुराकानीको सार :
दोस्रो युवा उद्यमी सम्मेलनको अनुभव कस्तो रह्यो ?
सम्मेलन हामीले सोचेभन्दा पनि बढी फलदायी भयो । युवाले व्यवसायमा अहिले सामना गरिरहेका जल्दाबल्दा समस्याहरूको पहिचान गर्न र तिनको समाधानको बाटो पहिल्याउन सम्मेलनले सहयोग गरेको छ । हामीले छानेका विषय र निम्त्याइएका उद्यमी– व्यवसायी तथा विज्ञहरूको यसमा ठूलो योगदान छ । खासगरी, सम्मेलनले युवा व्यवसायीका आधारभूत समस्या र चुनौतीहरूलाई सतहमा ल्याउन मद्दत गरेको छ ।
सम्मेलनले सहभागीहरूको अपेक्षा पूरा गर्न सक्यो जस्तो लाग्छ ?
सम्मेलनमा विषयगत छलफलहरूको शीर्षक सहभागीहरूकै सुझावमा राखिएको थियो । विभिन्न सात विशेष क्षेत्रका बारेमा सम्मेलनमा छलफल हुनुपर्ने सुझाव उनीहरूले दिएका थिए । सम्मेलनले त्यो चाहना पूरा गरेको छ । त्यसैगरी उद्यमी बन्न चाहने विद्यार्थीहरूको पनि सम्मेलनमा उत्तिकै सहभागिता रहेको थियो । उनीहरूको रुचि र विचारलाई पनि हामीले ध्यानमा राखेका थियौं । व्यवसाय शुरू गर्नका लागि लगानी जुटाउने, ब्राण्डिङ गर्ने, गुणस्तर कायम गर्ने, बजार रणनीति बनाउने, नयाँ विचार र प्रविधि लागू गर्नेलगायत विषयमा सम्मेलनले युवालाई नयाँ आयाम र बाटो देखाएको छ ।
तर, यो सम्मेलन शुरुआतमात्र हो । यसले युवा व्यवसायी र स्थापित उद्यमीहरूका बीचमा जुन सम्बन्ध स्थापना भएको छ, त्यसले दीर्घकालसम्म राष्ट्रिय र स्थानीय तहमा सकारात्मक प्रभाव पारिरहनेछ । यो सम्मेलनले युवा उद्यमशीलताका क्षेत्रमा काम गरिरहेका एनवाईईएफ, नेपाल उद्योग परिसङ्घअन्तर्गतको युवा उद्यमी मञ्च (सीएनआई–वाईईएफ), समृद्धि–द प्रोस्पेरिटी फाउण्डेशन, नेपालका लागि उद्यमीहरू (ईफोरएन), एशोसिएशन अफ युथ अर्गनाइजेशन नेपाल (आयोन)लगायतका संस्थाहरूलाई पहिलोपटक एउटै मञ्चमा ल्याएको छ । त्यो पनि सम्मेलनको ठूलो उपलब्धि हो ।
यो सम्मेलनमा विशेष रूपमा छलफलमा आएको नयाँ विषय भने समलिङ्गी व्यवसायीको हो । उनीहरू पनि व्यवसायी हुन किन नसक्ने, उनीहरूलाई यस क्षेत्रमा आउन के ले रोकेको छ, उनीहरूलाई अगाडि बढ्ने वातावरण बनाउन के गर्नुपर्छ भन्ने विषयमा पनि सहभागीहरूबीच छलफल भएको थियो । यस विषयमा हामीले सोचेका थिएनौं । तर, अब भने त्यसका बारेमा पनि सोच्नुपर्ने बेला आएको छजस्तो हामीलाई लागेको छ । व्यवसायमा आउनका लागि कुनै जात, वर्ग वा समाजकै हुनुपर्छ भन्ने छैन । जसले पनि व्यवसायमा सफलता पाउन सक्छ । तर, आफ्नो अधिकार र अस्तित्व खोजिरहेका समुदायलाई अगाडि बढ्ने वातावरण बनाइदिनुपर्छ ।
पोखरामा आयोजित पहिलो युवा उद्यमी सम्मेलनभन्दा यो कुन अर्थमा फरक रह्यो ?
त्यो सम्मेलनलाई मानिसहरूले क्षेत्रीय रूपमा मात्रै हेरे । त्यसबेला कतिपयले एनवाईईएफलाई एउटा क्लबका रूपमा पनि हेरेका थिए । त्यसबेलाको राजनीतिक अवस्था पनि जटिल थियो । आफू युवा उद्यमी हो भनेर अगाडि आउन पनि त्यति सहज थिएन । त्यसैले, यो सम्मेलन दोस्रो भए पनि राष्ट्रियस्तरमा गणना गरिएको छ । यो सम्मेलनमा भर्खर व्यवसायमा प्रवेश गर्न खोज्नेहरूदेखि युवा उद्यमी र सानो व्यवसायबाट ठूलो व्यावसायिक घराना बनेका उद्योगीहरूसम्मको सहभागिता रह्यो । त्यसैले, यहाँ मुलुकका विभिन्न क्षेत्रमा के कस्ता अवसरहरू छन् भन्ने पनि जान्न पाइयो । अहिलेसम्म शिक्षा, सूचनाप्रविधि, पर्यटनलगायतलाई मात्र उच्च व्यावसायिक सम्भावनाका क्षेत्र मानिएको थियो ।
तर, उपत्यकाबाहिर र गाउँमा समेत व्यवसाय सञ्चालन गरेका युवा साथीहरूले यसबाहेकका क्षेत्रहरूमा पनि राम्रो सम्भावना छ भन्ने सन्देश दिनुभएको छ । साथै, आफूले चाहेको व्यवसायको राम्रो सम्भावना कुन जिल्ला वा शहरमा रहेछ भन्ने कुरा पनि युवा उद्यमीहरूले जान्ने मौका पाएका छन् । तर, पोखरा सम्मेलनले हामीलाई एनवाईईफलाई विस्तार गर्ने प्रेरणा भने दिएको थियो । त्यसैले, हाल संस्थाका मुलुकभर पाँच च्याप्टर छन् । ती च्याप्टरले पनि स्थानीय वातावरण र उद्यमशीलताका बारेमा जानकारी र तथ्याङ्क राख्न सहज भएको छ ।
सम्मेलनको अधिकांश समय वक्ताहरूले लिए, युवाले भने आफ्नो धारणा कमै मात्र राख्न पाए नि ?
अलिकति समयको अभाव भएकै हो । फेरि सहभागी र कतिपय वक्ताहरू समयमै नआइदिने समस्या पनि हामीकहाँ छ । त्यसले पनि सम्मेलनमा प्रभाव पार्यो । यही समस्याको समाधानका लागि हामीले लञ्च तथा टी–ब्रेकलाई नेटवर्किङ सेशनको नाम दिएका थियौं, जसमा युवाले वक्ता तथा स्रोत व्यक्तिहरूसँग थप छलफल तथा प्रश्नोत्तर गर्न सक्थे । साथै, हामीले सम्मेलनका सहभागी, वक्ता, विज्ञ र अन्य उपस्थित सबैको नाम, संस्था र सम्पर्क नम्बरको एउटा डाइरेक्ट्री बनाएर वितरण गरेका छौं । त्यसैले, सहभागीहरूले आफूले चाहेको व्यक्ति वा व्यवसायीलाई आगामी दिनमा पनि सम्पर्क राख्नेछन् । यसबाहेक छिट्टै नै हामीले सम्मेलनमा छलफल भएका सम्पूर्ण विषय, विचार र निष्कर्षहरू समेटेर एउटा पुस्तिका प्रकाशन गर्दैछौं । थप जान्न चाहने साथीहरूलाई त्यसले पनि केही मद्दत गर्नेछ ।
सम्मेलनको सार नै ‘उद्यमशीलता मुलुकको इञ्जिन’ भन्ने थियो, त्यसलाई पुष्टि गर्ने आधारहरू के के छन् ?
नेपालको आधा जनसङ्ख्या २५ वर्षभन्दा कम उमेरको छ । यो युवा शक्तिको उत्पादनशीलतालाई उपयोग गर्नु अत्यन्तै जरुरी भइसकेको छ । त्यसो नहुँदासम्म मुलुकले गति लिन सक्दैन । त्यो उत्पादनशीलता नै हाम्रो मुलुकको इञ्जिन हो । यहाँ बुझ्नुपर्ने कुरा के छ भने मुलुकभर छरिएर रहेका उद्यमीहरू गाडीका पार्टपूर्जा हुन् । तिनीहरूलाई एउटै ठाउँमा ल्याएर बलियो इञ्जिन बनाउने हाम्रो लक्ष्य हो । आर्थिक क्रान्तिको भाषणमात्र गरेर हुँदैन, हरेक व्यक्तिलाई आर्थिक रूपमा सबल बनाउनुपर्छ । त्यसका लाग सबैभन्दा उत्तम उपाय भनेकै उद्यमशीलता हो । यसले नै उनीहरूको आर्थिक अवस्थामा सुधार गर्छ भने रोजगारीमार्फत समाजमा पनि उत्तिकै सकारात्मक प्रभाव पार्छ ।
नेपालमा व्यवसाय शुरू गर्ने प्रक्रिया नै निकै झन्झटिलो छ, यसले युवा व्यवसायीहरूलाई कत्तिको हतोत्साहित गरेको छ ?
यसबारेमा सम्मेलनमा पनि प्रशस्त छलफल भएको छ । नेपालमा व्यवसाय शुरू गर्ने प्रक्रिया झन्झटिलो त छ नै, त्यसका लागि कुनै प्रकारको अभिमुखीकरणको व्यवस्था पनि छैन । त्यसका लागि कुनै शिक्षा दिने, जानकारी दिने निकाय नै छैन । उद्योग व्यवसाय शुरू गरिहाल्ने र त्यसपछि समस्या भोग्ने थुप्रै साथीहरू छन् । कम्पनी स्थापना गर्ने, दर्ता गर्नेसम्मका प्रक्रिया सहजै गरे पनि धेरै साथीहरू कसरी मानव संसाधनको व्यवस्था गर्ने, विषयगत रूपमा दक्ष व्यक्ति कसरी ल्याउने भन्नेमा अल्मलिइरहनुभएको छ । मेरो तुलनात्मक लाभको क्षेत्र कुन हो, बजारमा मैले कसरी प्रतिस्पर्धा गर्ने, आफ्ना उत्पादनलाई कसरी स्थापित गर्ने भन्ने कुरामा धेरै युवा व्यवसायीहरूले विचार पुर्याउनुपर्ने देखिन्छ ।
साथै, आफ्नो व्यवसायका चुनौती र सम्भावनाहरूको पहिचान गर्नु पनि उत्तिकै जरुरी छ । यी सबै कुरामा उनीहरूलाई सहयोग गर्नका लागि संस्थागत अभिमुखीकरणको शुरुआत हुनुपर्छ । यो सरकारी, निजी वा यी दुवैको संयुक्त प्रयास हुनसक्छ । साथै, हाम्रो शिक्षामा परिमार्जन गर्नु पनि आवश्यक छ । विद्यार्थी साथीहरूसँग निकै राम्रा व्यावसायिक प्रस्तावहरू छन् तर त्यसलाई कसरी अगाडि बढाउने भन्नेमा उनीहरू अल्मलिएका छन् । यसमा प्रशासनिक झन्झट पनि थपिँदा उनीहरू थप हतोत्साहित हुने अवस्था आइरहेको छ ।
युवा उद्यमीको प्राथमिकताका उद्योग–व्यवसाय के के हुन् ?
अझै पनि युवा उद्यमीको प्राथमिकतामा रहेका क्षेत्रकृषि र सूचनाप्रविधि (आईटी) नै हुन् । तर, आईटीमा जस्तो कृषिमा नयाँ व्यावसायिक मोडहरू आइसकेका छैनन् । आईटीमा लागेकाहरू परम्परागतभन्दा भिन्दै व्यवसायमा लाग्नुपर्छ भन्ने छ तर कृषिमा यस्तो अलि कम छ । त्यसपछि पर्यटन र ऊर्जा रहेका छन् । तर, समस्या के छ भने यी दुई क्षेत्रमा निकै ठूला परियोजनामात्र हुन्छन् भन्ने भ्रम छ । यो व्याख्या नै गलत छ । यी क्षेत्रमा स–साना लगानीको अवसर पनि छ भन्ने बहसलाई अगाडि बढाउनु पर्छ । जलविद्युत् हाम्रो वशको कुरै होइन भन्ने छ, तर लघु जलविद्युत्का बारेमा चाहिने जति अभिमुखीकरण भएको छैन । कृषिमा पूर्वज्ञान पनि भएकाले धेरै युवा कृषि र अझ खासगरी पशुपालनमा लागेको देखिएको छ । खेतीमा अलि दुःख छ भने प्रतिफल पनि तुलनात्मक रूपमा कम छ । पशुपालनमा भने नवप्रवर्तनका कारण कुखुरा, खसीलगायत तयार हुन लाग्ने दिन पनि कम भएको छ । यसले गर्दा कम लागतमा उच्च प्रतिफलको सम्भावना हुन्छ ।
मुलुकमा अवसर नभएर विदेशिने युवालाई रोक्नका लागि सरकार र निजीक्षेत्रले केकस्ता कदम चाल्नुपर्ने देख्नुहुन्छ ?
बेरोजगारी मुलुकको सबैभन्दा ठूलो समस्या हो । तर, बेरोजगारहरूको आवाज सुनिदिने कुनै निकाय वा संस्था छैन । तपाईंले जागीर खानासाथ तपाईंलाई हेर्ने मन्त्रालय, विभाग, कार्यालय, ट्रेड युनियनलगायत अन्य पेशागत सङ्गठन छन् तर बेरोजगारलाई हेर्ने र साथ दिने कुनै संस्थागत व्यवस्था छैन । यो ठूलो विडम्बनाको कुरो हो । त्यसैले, सबैभन्दा पहिले त्यसलाई सम्बोधन गर्ने संस्था स्थापना गर्नुपर्छ । तर, त्यो राजनीतिक रूपमा मागिखाने भाँडो भने नहोस् । पर्यटन व्यवसायी योगेन्द्र शाक्यले भनेजस्तै अब श्रम मन्त्रालय होइन, रोजगार मन्त्रालय हुनुपर्यो । त्यसअन्तर्गत रोजगारमात्र होइन, बेरोजगारहरू पनि समेटिनुपर्यो । श्रम र लगानीलाई पनि त्यसैअन्तर्गत राख्नुपर्यो । अनि यी तीनबीच बल्ल राम्रो समन्वय हुन सक्छ । मेरो कुरा पनि त्यही हो । अहिले त बेरोजगारी छ भन्ने हल्लामात्र गरिएको छ । त्यसलाई समाधान गर्न गम्भीर प्रयास कसैले पनि थालेको छैन । युवालाई रोक्ने कुनै पहल नै नभएपछि त उनीहरू विदेशिने नै भए । १० हजार रुपैयाँ नेपालमै कमाउन सकिन्छ भन्ने भएमात्रै पनि धेरै युवालाई विदेशिनबाट रोक्न सकिन्छ ।
केही वर्षपहिले एनवाईईएफबाट युवा उद्यमी साथीहरूले पाँच–पाँच जना युवालाई रोजगारी दिने भन्ने पहल थालिएको थियो । त्यसका लागि सरकारले अयोग्य माओवादी लडाकूहरूबाट छानेर लिने सुझाव दिएपछि उद्यमीहरू हच्किए । त्यो त्यसै रोकियो । अहिले भएको भए त्यसो हुँदैनथ्यो । त्यसबेला भर्खर शान्तिप्रक्रियामा आएका माओवादीमाथि धेरैले विश्वास गर्न सकेनन् । तर, हामी अझै पनि यसका लागि आवश्यक पहल गर्न तयार छौं । राज्य वा अरू कसैले ल गरौं भनेर आउँछ भने नेतृत्व लिन हामी तयार छौं ।
नेपालको निराशाजनक अवस्था देखेर विदेशिएकाहरूलाई फर्काउन कुनै प्रयास थाल्ने सोच बनाउनुभएको छ ?
दक्ष जनशक्ति विस्तारै स्वदेश फर्किन थालेको छ । अर्धदक्ष जनशक्तिलाई फर्काउनका लागि भने मुलुकको वातावरणमा थप सुधार हुनुपर्ने देखिन्छ । कठोर परिश्रमको काममा खाडी जानेहरू त्यहाँ लामो समय बस्न पनि चाहँदैनन् । तर, उनीहरू के गरून् ? मुलुकको अवस्थाकै कारणले उनीहरू जोखिमको काम गरिरहेका छन् । अबको दुई–चार वर्षमा त्यहाँ गएकाहरू फर्कने क्रम शुरू हुन्छ । किशोरावस्थामै गएकाहरू फर्केर घरजम शुरू गर्न थाल्नेछन् । यद्यपि, सबै एकैपटक फर्किने वातावरण बन्छ भन्नेचाहिँ होइन ।
कतिपय युवा उद्यमीहरूले व्यवसायका लागि लगानीको स्रोत जुटाउन निकै मेहनत गर्नुपर्छ । त्यसका लागि उनीहरूलाई सघाउने व्यवस्था पनि त होलान् नि ?
एनवाईईएफअन्तर्गतको युवा व्यवसाय कोषले युवा उद्यमीहरूलाई सहयोग गर्दै आएको छ । हालसम्म यसले ५० भन्दा बढी युवालाई विनाधितो सहुलियत कर्जा उपलब्ध गराएको छ । त्यसभन्दा बढी आवेदन परेका छन् । हामीले विभिन्न बैङ्कको सहयोगमा १ लाख रुपैयाँको हाराहारीमा युवालाई ऋण दिँदै आएका छौं ।
उद्यमीहरूलाई हामी एक जना ‘मेण्टर’को सुविधा पनि उपलब्ध गराउँदै आएका छौं । अन्य संस्था र बैङ्कहरूले पनि यस्तो कार्यक्रम ल्याएका छन् । तैपनि ‘बिजनेश फाइनान्सिङ’ सहज हुन भने सकेको छैन । अर्कातर्फ सरकारले युवा उद्यमशीलतालाई प्रोत्साहन गर्न खडा गरेको युवा स्वरोजगार कोषले पैसा बाँड्नेभन्दा थप काम गर्न सकेको छैन । यसरी बाँडिएको रकमको ठूलो हिस्सा व्यवसाय शुरू गर्न वा विस्तार गर्न प्रयोग नभएको समाचारहरू आइरहेका छन् । सरकारले इच्छुक युवालाई तालीमको व्यवस्था गर्नुपर्छ । त्यसका लागि निजीक्षेत्रको सहयोग पनि लिन सकिन्छ । नभए सरकारले प्राविधिक तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)जस्ता आफ्ना कुनै निकायलाई त्यसको जिम्मा दिन सक्छ ।
मुलुकको आर्थिक रूपान्तरणमा यो सम्मेलनको कस्तो योगदान रहला ?
यो सम्मेलनले उद्यमी–व्यवसायी र राजनीतिक क्षेत्र सबैको ध्यान खिचेको छ । हामीले औपचारिक उद्घाटन नगरी राष्ट्रिय गानबाट सम्मेलन शुरू गर्यौं । राजनीतिक तथा व्यावसायिक भनेर पक्षपात गरेको आरोप नलागोस् भनेर पनि हामीले त्यसो गरेका हौं । त्यसो भनेर हामीले राजनीतिलाई निषेध भने गर्न खोजेका हैनौं । हामीले खिमलाल देवकोटा, गगन थापा, योगेश भट्टराई र अभिषेकप्रताप शाहजस्ता युवा नेतालाई बोलाएर उहाँहरूसँग पनि छलफल र विमर्श गर्यौं । सम्मेलनले युवा उद्यमशीलताको क्षेत्रमा काम गरिरहेका विभिन्न संस्थालाई एकै ठाउँमा ल्याएको छ । यसले हामी युवा आर्थिक उन्नतिका लागि एकजुट छौं भन्ने सन्देश दिएको छ ।
(Interviews: August 19, 2012)
No comments:
Post a Comment