Wednesday, December 31, 2014

तथ्याङ्क विभागलाई ‘डाटा क्लियरिङ हाउस’ बनाउन प्रस्ताव

असोज २९, काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागलाई ‘डाटा क्लियरिङ हाउस’का रूपमा विकसित गर्न प्रस्ताव गरिएको छ । हाल अर्थ मन्त्रालयमा पुगेको नयाँ तथ्याङ्क ऐनको मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो । मस्यौदामा कुनै पनि तथ्याङ्कीय कार्यका लागि विभागको अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । 

तथ्याङ्क ऐन २०१५ का अनुसार कुनै पनि सरकारी कार्यालय, सरकारी सहायताप्राप्त विदेशी संस्था वा व्यक्तिले व्यावसायिक उद्देश्यले कुनै आर्थिक सन्दर्भको तथ्याङ्क सङ्कलन गर्न चाहेमा विभागबाट स्वीकृति लिनुपर्छ । उनीहरूले तथ्याङ्क सङ्कलन गर्नुपरेका कारण, तथ्याङ्क सङ्कलन गर्ने इलाका र अपनाइने प्रणालीको विस्तृत विवरणसमेत विभागमा पेश गर्नुपर्छ । विभागको स्वीकृतिविनै तथ्याङ्क सङ्कलन र प्रकाशन गर्ने संस्थाहरूलाई तथ्याङ्क ऐनमा सजायको व्यवस्था छ । 

तथ्याङ्क ऐन २०१५ को दोस्रो संशोधनले तोकेको यो कानूनी व्यवस्था हाल प्रभावकारीरूपमा लागू हुन सकेको छैन । सो ऐनमा उल्लेख भएको ‘व्यावसायिक उद्देश्य’ भत्रे वाक्यांश नै अस्पष्ट रहेको विभागका उपमहानिर्देशक सुमन राज अर्यालले बताए । ‘नयाँ ऐनमा व्यावसायिक वा गैरव्यावसायिक कुनै पनि उद्देश्यले गरिने तथ्याङ्क सङ्कलनका लागि विभागको स्वीकृति लिनैपर्ने व्यवस्था प्रस्ताव गरिएको छ,’ उनले भने ।

यसरी हरेक प्रकारका तथ्याङ्क सङ्कलन विभागको अनुमतिमा मात्र हुने व्यवस्था भएमा त्यसले एकै प्रकारको तथ्याङ्क पटकपटक सङ्कलन हुनबाट रोक्नेछ । साथै, त्यसरी सङ्कलन गरिएको तथ्याङ्क ‘राष्ट्रिय डाटा अर्काइभ’मा पनि सुरक्षित रहनेछ । यसले सरकार मात्र होइन सरोकारवालाहरूलाई पनि सहजरूपमा तथ्याङ्क प्राप्त गर्न सहयोग पुग्ने विभागको भनाइ छ । 

कतिपय अन्तरराष्ट्रिय गैरसरकारी संस्था तथा कन्सल्टिङ एजेन्सीहरूले पनि सर्वेक्षण गर्ने गरेका छन् । त्यो सूचनालाई आधिकारिकता प्रदान गर्ने अधिकार पनि विभागले चाहेको छ । विभागको स्वीकृतिविना त्यस्ता सर्वेक्षण तथा तथ्याङ्क प्रकाशन गर्न नपाइने व्यवस्था हुनु आवश्यक रहेको अर्याल बताउँछन् । ‘कुनै पनि तथ्याङ्क तथा सर्वेक्षणले समाजमा पार्ने आर्थिक, सांस्कृतिक तथा सामाजिक प्रभावका बारेमा विचार नगरी त्यसलाई सार्वजनिक गर्नु हुँदैन,’ उनले भने । 

हाल लागू तथ्याङ्क ऐन पुरानो भइसकेको छ । २०१८ र २०३० मा दुईपटक संशोधन भए पनि यो ऐनले सूचनाप्रविधि तथा सूचनाको हकका नयाँ आयामलाई समेट्न सकेको छैन । त्यस्तै, राष्ट्र बैङ्क ऐन २०५८ ले राष्ट्र बैङ्क र स्थानीय स्वायत्त शासन ऐन २०५५ ले जिल्ला विकास समिति, गाविस तथा नगरपालिकालाई पनि क्षेत्रगत तथ्याङ्क सङ्कलनको अधिकार दिएको छ । यी लगायत अन्य आवश्यक व्यवस्थालाई सम्बोधन गर्ने गरी नयाँ ऐन प्रस्ताव गरिएको अर्यालले बताए । नयाँ मस्यौदामा विभागको नाम परिवर्तन गरी ‘राष्ट्रिय तथ्याङ्क कार्यालय’ राख्न पनि सुझाइएको छ । विषयगतरूपमा काम गर्ने स्थायी प्रकृतिका केही समितिको निर्माण गर्नुपर्ने प्रस्ताव पनि मस्यौदामा छ । गोपनीयतालगायतका विषयमा कुनै विवाद सृजना भएमा त्यसको समाधान गर्ने न्यायिक अधिकार पनि विभागलाई दिन प्रस्ताव गरिएको छ । 
October 16, 2012 Published in Aarthik Abhiyan Daily

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...