Wednesday, December 31, 2014

गतवर्ष नेपालमा बढेन ज्याला

दक्षिण एशियामा नेपालको ज्याला वृद्धिदर उच्च

मङ्सिर २०, काठमाडौं । गतवर्ष नेपालमा ज्याला वृद्धि नभएको अन्तरराष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को पछिल्लो प्रतिवेदनले देखाएको छ । आईएलओले शुक्रवार सार्वजनिक गरेको विश्वव्यापी ज्याला प्रतिवेदन २०१४÷१५ अनुसार गतवर्ष नेपालको ज्याला वृद्धिदर शून्य दशमलव २ प्रतिशतले नकारात्मक रह्यो । अघिल्लो वर्ष ज्याला ८ दशमलव ३ प्रतिशतले बढेको थियो भने सन् २०११ मा ज्याला वृद्धिदर १५ प्रतिशत रहेको थियो ।

प्रतिवेदनले नेपालको ज्याला वृद्धिदर दक्षिण एशियाकै उच्च रहेको पनि देखाएको छ । पछिल्लो ७ वर्षमा ज्याला गतवर्षबाहेक हरेक वर्ष बढेको छ । त्यसमा सबैभन्दा बढी सन् २०११ मा १५ प्रतिशत र सन् २००७ मा ३ दशमलव ७ प्रतिशतले बढेको थियो । नेपालपछि ज्याला वृद्धि उच्च हुनेमा भारत र बङ्गलादेश रहेका छन् । गएको ७ वर्षमा भारतमा ज्याला सन् २००६–०७ मा १७ प्रतिशत, २००८–०९ मा ११ दशमलव ८ प्रतिशत र सन् २०१०÷११ मा ५ दशमलव २ प्रतिशत गरी तीनपटक मात्र बढेको छ ।

बङ्गलादेशमा सन् २००९ मा सबैभन्दा बढी ९ दशमलव २ प्रतिशतले ज्याला बढेको प्रतिवेदनमा उल्लेख छ । गतवर्ष सबैभन्दा बढी ज्याला वृद्धि (७ दशमलव ५ प्रतिशत) पनि बङ्गलादेशमा नै भएको थियो । श्रीलङ्कामा भने सन् २००७ मा १५ प्रतिशतले बढेको ज्याला सन् २००८ मा २७ प्रतिशतले घटेको थियो । पाकिस्तानको ज्याला भने पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा बढेको छैन । पछिल्ला २ वर्षको तथ्याङ्क प्रस्तुत नगरेको आईएलओले सन् २०११ मा पाकिस्तानमा झण्डै १ प्रतिशतले ज्याला घटेको देखाएको छ । प्रतिवेदनले भूटान, अफगानिस्तान र माल्दिभ्सको तथ्याङ्क दिएको छैन ।

नेपालमा ज्यालामा लैङ्गिक विभेद ज्यादै उच्च रहेको पनि प्रतिवेदनले बताएको छ । सन् २००८ को तथ्याङ्कअनुसार गरिएको विश्लेषणले यहाँ महिला श्रमिकले पुरुष श्रमिकको तुलनामा ४० दशमलव ५ प्रतिशत कम ज्याला पाइरहेको देखाएको छ । थाइल्याण्डमा यस्तो अन्तर १ दशमलव ४ प्रतिशत मात्र रहेको छ भने भारतमा २६ प्रतिशत रहेको छ ।
पूर्वी एशिया अगाडि
क्षेत्रगत रूपमा हेर्दा पूर्वी एशियाको ज्यालासूचक सबैभन्दा उच्च देखिएको छ । सन् १९९९ लाई आधार वर्ष मानेर तयार गरिएको क्युमुलेटिभ वास्तविक ज्याला सूचकका अनुसार सन् २०१३ मा पूर्वी एशियाको अङ्क ३ सय १ दशमलव ८ छ । त्यसपछि एशिया रहेको छ । एशियाको वास्तविक ज्याला सूचक गतवर्ष २ सय ४३ दशमलव ३ अङ्कमा छ । सो अवधिमा सम्पूर्ण विश्वको सूचक अङ्क १ सय ३२ दशमलव ४ छ भने विकसित मुलुकहरूको अङ्क १ सय ६ दशमलव ३ रहेको छ । यसले गएको १५ वर्षमा विकसित मुलुकहरूमा ज्यादै झिनो मात्रामा ज्याला वृद्धि भएको स्पष्ट हुन्छ ।

December 7, 2014 Published in Aarthik Abhiyan Daily

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...