Wednesday, December 31, 2014

‘रणनीतिक साझेदार ल्याउन आईएफआरएसको पालना आवश्यक’

नेपालले पनि यसै आर्थिक वर्षदेखि ‘आईएफआरएस’अनुरुप लेखापरीक्षण प्रतिवेदन राख्ने निर्णय गरिसकेको छ । यही महीना लेखापरीक्षणमान बोर्डले सोअनुरुपको नेपाली मापदण्ड निर्माणलाई अन्तिम रुप दिने बताइएको छ । आईएफआरएस कार्यान्वयनका लागि गठन गरिएको अस्थायी समितिको सन् २०११ डिसेम्बरमा बसेको पहिलो बैठकले चरणगतरूपमा आईएफआरएस लागू गर्ने निर्णय गरेको थियो । त्यसमध्ये पहिलो चरणमा सन् २०१२ जुलाईदेखि नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत बहुराष्ट्रिय कम्पनी (एमएनसी)हरूले आफ्नो वित्तीय प्रतिवेदन आईएफआरएस मापदण्डअनुरूप बनाउनु पर्नेछ । दोस्रो चरणमा वाणिज्य बैङ्क र शेयरमा सूचीकृत सरकारी संस्थानहरूमा सन् २०१३ जुलाई र तेस्रो चरणमा विकास बैङ्क, फाइनान्स तथा बीमा कम्पनी र अन्य सरकारी संस्थानहरूमा सन् २०१४ जुलाईदेखि यो व्यवस्था लागू गरिने योजना छ । बाँकी सबै कम्पनीहरूमा सन् २०१५ जुलाईदेखि आईएफआरएस लागू हुनेछ । 

यसैबीच एशियन ओशिनियन स्ट्याण्डर्ड सेटर्स ग्रूप (एओएसएसजी)को चौथो वार्षिक बैठक काठमाडौंमा हुने भएको छ । एशिया र ओसेनिया क्षेत्रका २५ मुलुक सदस्य रहेको ग्रूपको बैठक यही मङ्सिर १३ र १४ गते सोल्टी होटलमा आयोजना हुने लेखामान बोर्डले जानकारी दिएको छ । मङ्गलवार एक पत्रकार सम्मेलनको आयोजना गर्दै बोर्डले बैठकमा चीन, भियतनाम, अष्ट्रेलिया, इण्डोनेशिया, मलेशिया, थाइल्याण्ड, भारत, पाकिस्तान, श्रीलङ्का, साउदी अरब, उत्तर कोरियालगायत २५ सदस्य मुुलुकबाट ७५ प्रतिनिधिहरू सहभागी हुने बताएको हो । बैठकलाई अर्थमन्त्री वर्षमान पुनले सम्बोधन गर्नेछन् । अन्तरराष्ट्रिय रूपमै अनुभवी विज्ञहरूले बैठकमा भाग लिने भएकाले नेपालले त्यसबाट प्रत्यक्ष लाभ लिन सक्ने अन्तरराष्ट्रिय लेखामान बोर्डका पहिलो अध्यक्ष हान्स हूगरभोष्र्टले बताए । उनी बोर्डका नेपाल भ्रमण गर्ने पहिलो अध्यक्ष हुन् । 

काठमाडौंमा आर्र्ईएफआरएस–सेण्टर फर एक्सिलेन्स (उत्कृष्टता केन्द्र) स्थापना गर्ने परियोजनालाई ध्यानमा राखेर बैठकस्थलका लागि नेपाल चयन गरिएको हो । ग्रूपका सदस्य मुलुकमा लेखामान निर्माण गर्ने उद्देश्यअन्तर्गत केन्द्र स्थापना गर्न लागिएको हो । केन्द्रले नेपाललाई ग्रूप, अन्तरराष्ट्रिय लेखामान बोर्ड र सम्बन्धित विज्ञहरू तथा अन्य अन्तरराष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्ने अवसर प्रदान गर्ने हूगरभोष्र्टले बताए । यसका साथै आईएफआरएसमा जाँदाको सङ्क्रमण कालको व्यवस्थापनमा पनि केन्द्रले सघाउनेछ । बैठकपछि शुक्रवार अन्तरराष्ट्रिय वित्तीय प्रतिवेदनमानसम्बन्धी १ दिने सम्मेलनको आयोजना गरिने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

November 28, 2012 Published in Aarthik Abhiyan Daily

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...