Wednesday, December 31, 2014

जीडीपीमा चलचित्र र सङ्गीतको योगदान गणना

भदौ २६, काठमाडौं । पहिलोपटक नेपाली चलचित्र तथा सङ्गीत उद्योगले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा पुर्‍याएको योगदान गणना गरिएको छ । गतवर्ष शुरू गरिएको चलचित्र तथा सङ्गीत गणना २०६८ को सम्पूर्ण कार्य सकिएर अहिले प्रतिवेदनको तयारी भइरहेको केन्द्रीय तथ्याङ्क विभागले जानकारी दिएको छ । ‘अहिले प्रतिवेदनको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी असोज महीनाभित्रै नतीजा सार्वजनिक हुनेछ,’ विभागअन्तर्गतको प्रतिष्ठान गणना तथा सर्वेक्षण शाखाका निर्देशक अनिल शर्माले भने ।

चलचित्र तथा सङ्गीतक्षेत्रले मुलुकको अर्थतन्त्रमा पुर्‍याएको योगदानको अनुमान गर्न, यी क्षेत्रको वर्तमान आकार र स्वरूप पहिचान गर्न, रोजगारी तथा वर्तमान समस्याका बारेमा सूचना उपलब्ध गराउने उद्देश्यले गणना शुरू गरिएको हो । गणनामा २०६७ साउन १ देखि २०६८ असार मसान्तसम्मलाई सन्दर्भ अवधि मानिएको छ । त्यसैगरी प्रतिष्ठानहरूमा कार्यरत कर्मचारीको सङ्ख्यात्मक विवरण लेख्नका लागि २०६७ माघ १ लाई सन्दर्भ दिन मानिएको विभागले बताएको छ । गणनामा चलचित्र निर्माण, प्रोडक्शन, वितरण, प्रदर्शनदेखि टेलिभिजन कार्यक्रम निर्माण, म्युजिक तथा म्युजिक भिडियो रेकर्डिङलगायतका क्षेत्रमा काम गरिरहेका उद्योगहरूको विवरण समेटिएको छ ।

मुलुकभरका ६ सयको हाराहारीमा चलचित्र तथा सङ्गीत उद्योग गणनामा समेटिएको शर्माले जानकारी दिए । कम्पनी रजिष्ट्रारको कार्यालयमा १ हजार ५ सयजति यस्ता उद्योग दर्ता भए पनि अधिकांशलाई उल्लिखित ठेगानामा भेट्न नसकिएको उनको भनाइ छ । ‘खास गरी सङ्गीत उद्योगमा यस्तो समस्या देखिएको छ । फिल्डमा कार्यालय पनि छैन र व्यक्ति पनि भेटिएनन्,’ उनले भने । गायकले सीआरबीटीका लागि मात्र पनि कम्पनी दर्ता गर्नुपर्ने भएकाले त्यस्ता प्रकारका कम्पनीहरू नभेटिएको हुनसक्ने उनको भनाइ छ ।

चलचित्र क्षेत्रले केही वर्षअघिदेखि नै यस्तो गणनाको माग गरे पनि गतवर्ष मात्रै गणना शुरू गरिएको हो । २०६८ असोजमा प्रश्नावली निर्माण गरी पुसदेखि २०६९ असारसम्म तथ्याङ्क सङ्कलन गरिएको विभागले बताएको छ । त्यसपछिका २ महीना प्रतिवेदन लेखन गरिएको थियो ।

चलचित्र तथा सङ्गीत गणना २०६८ मा समावेश प्रतिष्ठान
  •      कथानक चलचित्र निर्माण
  •      टेलिभिजन कार्यक्रम निर्माण
  •      विज्ञापन चलचित्र निर्माण
  •      चलचित्र पोष्ट प्रोडक्शन
  •      कथानक चलचित्र वितरण
  •      कथानक चलचित्र प्रदर्शन
  •      म्युजिक, म्युजिक भिडियो रेकर्डिङ, प्रकाशन तथा वितरण
  •      अन्य
स्रोत : केन्द्रीय तथ्याङ्क विभाग
September 12, 2012 Published in Aarthik Abhiyan Daily

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...