Wednesday, December 31, 2014

नेपालको आयात निर्यात व्यापार

दुवै छिमेकीसँगको व्यापार घाटामा उच्च वृद्धि
भदौ ३०, काठमाडौं । भारत र चीनसँगको नेपालको व्यापार घाटाको अनुपातमा तीव्र वृद्धि भएको छ । पछिल्ला दुई आर्थिक वर्षको तथ्याङ्क हेर्दा नेपालको निर्यातमा सामान्य र आयातमा उच्च वृद्धि भएको देखिन्छ । त्यसमा पनि चीनबाट हुने आयात दोब्बर भएको छ तर निर्यातमा भने खासै वृद्धि भएको छैन । यसरी आयातको अंश बढ्दै जाँदा दुई छिमेकी मुलुकसँगको व्यापार घाटा पनि बढ्दै गएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कले देखाएको छ ।

पछिल्ला २ वर्षमा नेपालको भारतसँगको व्यापार घाटा २३ प्रतिशतले बढेको छ भने चीनसँग दोब्बर भएको छ । तर, तेस्रो मुलुकसँगको व्यापार घाटामा भने १५ प्रतिशतले कमी आएको छ । आव २०६७/६८ मा नेपालले ९२ करोड रुपैयाँको वस्तु चीन निर्यात गरेकोमा ४६ अर्ब ६२ करोड रुपैयाँबराबरका वस्तु आयात गरेको थियो । गत आव २०६८/६९ मा नेपालबाट चीन निर्यात मात्र ६ करोड रुपैयाँले बढेर ९८ करोड पुगेको छ भने आयातमा झण्डै शतप्रतिशतले वृद्धि भई ९२ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । एक दशकअघि आव २०५८/५९ मा नेपालले १ अर्ब १० करोड रुपैयाँ बराबरका वस्तु चीन निर्यात र ११ अर्ब २० करोड रुपैयाँको आयात गरेको थियो । नेपालले चीनबाट आयात गर्ने वस्तुमा स्याउ, जुत्ता, तयारी पोशाक, विद्युतीय सामग्रीलगायत मुख्य रहेका छन् भने निर्यातमा कच्चा छाला, गहुँको पिठो, हस्तकला, बिस्कुटलगायत मुख्य छन् । 

हाल नेपालको कुल आयातको ८३ प्रतिशत अंश भारत र चीनले ओगटेका छन् । आव २०६७/६८ मा यी दुई मुलुकको हिस्सा ७७ प्रतिशत मात्र थियो । त्यस्तै निर्यातमा भारत र चीनबाहेकका मुलुकको हिस्सा ३० प्रतिशतको हाराहारीमा मात्र छ । एक दशकअघि आव २०५८/५९ मा आयातमा भारत र चीनको हिस्सा क्रमशः ५२ र १० प्रतिशत थियो भने निर्यातमा क्रमशः ५९ र २ प्रतिशत थियो । १० वर्षमा तेस्रो मुलुकसँगको नेपालको व्यापारमा उल्लेख्य कमी आएको छ । १० वर्षअघि आयातमा तेस्रो मुलुकको हिस्सा ३७ प्रतिशत र निर्यातमा ३८ प्रतिशत हुन्थ्यो जुन हाल घटेर आयातमा १७ प्रतिशत र निर्यात ३० प्रतिशतमा आइपुगेको छ । 

पछिल्ला वर्षहरूमा नेपाल भित्रने रेमिट्यान्सको मात्रा बढेपछि नेपालीहरूको उपभोग क्षमता पनि बढ्दै गएको छ । तर, मागअनुरूपको वस्तु मुलुकभित्र उत्पादन हुन नसक्दा आयात बढ्दै गएको राष्ट्रिय योजना आयोगका सहसचिव पुष्पलाल शाक्य बताउँछन् । ‘अहिले अधिकांश दैनिक उपभोग्य वस्तु भारतबाट र विद्युतीय सामान तथा तयारी कपडाहरू चीनबाट आयात भइरहेको छ,’ उनले भने । बढ्दो रेमिट्यान्सले बढ्दै गएको व्यापार घाटालाई सम्बोधन गरे पनि रेमिट्यान्सको आप्रवाह घटेमा त्यसले मुलुकको शोधनान्तर स्थितिमा नकारात्मक असर पार्ने छ । अहिले नेपाल भित्रिने वस्तुमा दैनिक उपभोग्य वस्तु, विद्युतीय सामग्री र तयारी पोशाकको बाहुल्य छ । देशमा विकास निर्माणको काम सुस्त भएकाले पूर्वाधार विकासका लागि आवश्यक सामग्रीको आयात भने भएको छैन । त्यसैले आयातमा आज गरेको खर्चले भोलिका लागि कुनै पनि प्रकारको योगदान नदिने शाक्यको भनाइ छ । 

पछिल्लो तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०६८/६९ मा नेपालको कुल व्यापार घाटा अघिल्लो आवको तुलनामा ८५ अर्ब ८७ करोड रुपैयाँले बढेको छ । आव २०६७/६८ मा कुल व्यापार घाटा ३ खर्ब ३२ अर्ब ९८ करोड रहेकोमा गत आवमा त्यसमा २५ प्रतिशतले वृद्धि भई ४ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ पुगेको थियो । आव २०६७/६८ मा नेपालको कुल आयात ३ खर्ब ९७ अर्ब ५४ करोड रुपैयाँ र निर्यात ६४ अर्ब ५६ करोड रुपैयाँ थियो । गत आवमा यी दुवै शीर्षकमा वृद्धि भई आयात ४ खर्ब ९२ अर्ब ४९ करोड रुपैयाँ र निर्यात ७३ अर्ब ६४ करोड रुपैयाँ पुगेको थियो ।
September 16, 2012 Published in Aarthik Abhiyan Daily

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...