Wednesday, December 31, 2014

दक्षिण एशियामा व्यवसाय गर्न झन् कठिन

नेपालले व्यावसायिक वातावरण सुधार्न कुनै कदम चालेन 
कात्तिक १५, काठमाडौं । दक्षिण एशियाली मुलुकहरूको व्यावसायिक वातावरण थप बिग्रिएको छ । विश्व बैङ्कअन्तर्गतको अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)ले यसै साता सार्वजनिक गरेको ‘डुइङ बिजनेश २०१३’ प्रतिवेदनले पछिल्लो ३ वर्षमा दक्षिण एशियाली क्षेत्रमा व्यावसायिक वातावरण बिगिँरदै गएको देखाएको हो । दक्षिण एशियाका आठ मुलुकमध्ये श्रीलङ्काबाहेक अन्यमा व्यावसायिक वातावरण झन् खस्किएको छ । गत वर्षको तुलनामा श्रीलङ्का ८ स्थान माथि चढ्दै ८१औं स्थानमा पुगेको छ भने भारत गतवर्षकै १३२ औं स्थानमा छ । बाँकी सबै मुलुकको वरीयता ओरालो लागेको प्रतिवेदनले देखाएको छ । डुइङ बिजनेश २०११ मा ९८औं स्थानमा रहेको श्रीलङ्का व्यवसायका लागि सहज बन्दै २०१२ मा ८९औं स्थानमा चढेको थियो । 

प्रतिवेदनले माल्दिभ्सको अवस्था सबैभन्दा खराब रहेको देखाएको छ । डुइङ बिजनेश २०१२ सूचकमा ७९औं स्थानमा रहेको माल्दिभ्स १६ स्थान तल झर्दै ९५ मा पुगेको छ । अफगानिस्तान ८ स्थान तल झरेर १६८ र बङ्गलादेश ७ स्थान तल झर्दै १२९ मा पुगेको छ । त्यस्तै भुटान ६, पाकिस्तान २ र नेपाल १ स्थान तल झरेका छन् । डुइङ बिजनेश २०११ मा ११०औं स्थानमा रहेको नेपाल २०१२ मा ३ स्थान माथि उक्लिदै १०७औं स्थानमा पुगेको थियो । गतवर्ष विश्वका १०८ मुलुकले व्यावसायिक वातावरणमा सुधारका लागि प्रयास गरेका थिए । नेपालमा भने सो वर्ष सुधारका कुनै काम नभएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका १० सूचकमध्ये सम्पत्ति दर्तामा नेपालको स्थान अन्य सूचकभन्दा राम्रो छ । सम्पत्ति दर्ता सहज भएका मुलुकमध्ये नेपाल २१औं स्थानमा छ । सीमापारको व्यापारमा नेपालको अवस्था सबैभन्दा खराब रहेको प्रतिवेदनको निष्कर्ष छ । सो सूचकमा नेपाल १७१औं स्थानमा छ । 

प्रतिवेदनअनुसार दक्षिण एशियाली सरकारहरूले व्यावसायिक वातावरणमा सुधारका लागि निकै कम पहल गरेका छन् । पछिल्लो ८ वर्षमा दक्षिण एशियामा मात्र १४ सुधार भएका छन् । तर, अफ्रिकी सहारा क्षेत्रमा सो अवधिमा ८७ तथा पूर्वी यूरोप र मध्यएशियामा ७५ सुधार भएका छन् । गतवर्ष अफ्रिकी सहारा क्षेत्रमा ११, पूर्वी यूरोप तथा मध्य एशियामा १०, ल्याटिन अमेरिका तथा क्यारेबियन क्षेत्रमा ३, उच्च विकसित मुलुकमा ४, पूर्वी एशिया तथा प्यासिफिक क्षेत्रमा ५ र मध्यपूर्व तथा उत्तरी अफ्रिकामा २ व्यावसायिक सुधार भएकोमा दक्षिण एशियामा एउटा मात्र सुधार भएको थियो ।

प्रतिवेदनले अध्ययनमा समावेश १ सय ८५ मुलुकमध्ये सिङ्गापुरलाई पहिलो स्थानमा राखेको छ । अर्कोतर्फ हङकङ दोस्रो स्थानमा रहे पनि मुख्य भूमि चीन ९१ औं स्थानमा छ । अमेरिका चौथो र बेलायत सातौं स्थानमा छन् भने ठूला एशियाली अर्थतन्त्र दक्षिण कोरिया र जापान क्रमशः आठौं र २४ औं स्थानमा रहेका छन् । अधिकांश अफ्रिकी मुलुक सूचीको पछिल्लो स्थानमा छन् । मध्य अफ्रिकी गणतन्त्र र चाड सूचीमा अन्तिममा रहेका मुलुक हुन् । 
November 1, 2012 Published in Aarthik Abhiyan Daily

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...