Wednesday, December 31, 2014

चार वर्षमा काठको मूल्य झण्डै तेब्बर

जस्तापाता र पोलिथिन पाइपको मूल्य घट्यो 
कात्तिक २, काठमाडौं । विगत ४ वर्षमा काठको मूल्य झण्डै तेब्बर बढेको छ । आर्थिक वर्ष २०६४/६५ मा १ सय रुपैयाँ पर्ने काठको मूल्य बढेर गत आव ०६८/६९ मा २ सय ७९ रुपैयाँ पुगेको केन्द्रीय तथ्याङ्क विभागले यसै साता सार्वजनिक गरेको निर्माण सामग्रीको मूल्य परिसूचकले देखाएको छ । आधार वर्ष ०६४/६५ मा १ सय मानिएको काठको मूल्य परिसूचक बढेर आव ०६६/६७ मा १ सय ४९ र ०६७/६८ मा २ सय ३० अङ्क पुगेको थियो । समग्र निर्माण सामग्रीको औसत मूल्य परिसूचक १ सय ४७ दशमलव ९ भन्दा काठको मूल्य १ सय ३१ अङ्कले बढी हो । परिसूचकमा विभिन्न १६ शीर्षकअन्तर्गत २२ निर्माण सामग्रीको मूल्यलाई समावेश गरिएको छ । 


काठमात्र होइन, मुख्य निर्माणवस्तुहरूको मूल्य पनि सो अवधिमा उल्लेख्य मात्रामा बढेको छ । इँटा, ढुङ्गा तथा गिट्टीको मूल्य परिसूचकमा ९१ प्रतिशतले वृद्धि भएको छ भने बालुवामा ४८, बिटुमिनमा ४२, माटोमा ४८ र पेण्टमा ३३ प्रतिशतले मूल्यवृद्धि भएको तथ्याङ्कले देखाएको छ । फलामे छड, बिलेट, जीआई पाइप, मार्बल, विद्युतीय तारलगायत वस्तुहरूको मूल्यमा पनि २० प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएको छ । यी सबै सामग्रीको मूल्य लगातार बढिरहेको परिसूचकले देखाएको छ । परिसूचकअनुसार पछिल्लो ४ वर्षको अवधिमा निर्माण मूल्य शतप्रतिशतले बढेको छ । विभागले निर्माण सामग्रीको मूल्य परिसूचकसँगै सार्वजनिक गरेको ‘निर्माण क्षेत्रको ज्याला परिसूचक ०६८/६९’ले यस क्षेत्रमा काम गर्ने प्राविधिक तथा मजदूरको ज्याला पनि झण्डै दोब्बर भएको पुष्टि गरेको छ । 

चार वर्षको अवधिमा न्यून मूल्य वृद्धि हुने सामग्रीमा सिमेण्ट, गेविन वायर र आल्मुनियम विण्डो फ्रेम रहेका छन् । सो अवधिमा सिमेण्टको मूल्य परिसूचक २० अङ्कले वृद्धि भई १ सय १७ मा पुगेको छ भने गेविन वायर १ सय १२ र आल्मुनियम विण्डो फ्रेम १ सय ३ अङ्क पुगेको छ । पोलिथिन पाइप र जस्तापाताको मूल्य परिसूचक भने आधार वर्षको १ सयभन्दा कम अङ्कमा झरेको छ । आव ०६८/६९ मा पोलिथिन पाइपको मूल्य परिसूचक घटेर ९७ र जस्तापाताको ९२ मा पुगेको छ । काठको भन्दा आल्मुनियम विण्डो फ्रेमको भार झण्डै आधा भए पनि आउँदा दिनमा सो बढ्ने देखिन्छ । मूल्य परिसूचकअनुसार आल्मुनियमको पछिल्लो मूल्य काठको भन्दा १ सय ७६ अङ्कले कम छ ।
October 19, 2012 Published in Aarthik Abhiyan Daily

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...