Wednesday, December 31, 2014

४ वर्षमा निर्माण क्षेत्रको ज्याला दोब्बर

कात्तिक १, काठमाडौं । पछिल्लो ४ वर्षमा निर्माण क्षेत्रका मजदूर तथा प्राविधिकहरूको ज्याला झण्डै दोब्बर भएको छ । केन्द्रीय तथ्याङ्क विभागले यसै साता सार्वजनिक गरेको ‘निर्माण क्षेत्रको ज्याला परिसूचक २०६८/६९’ अनुसार यस क्षेत्रको औसत ज्याला परिसूचक १९२ दशमलव ४४ पुगेको छ । आधार वर्ष २०६४/६५ मा १०० बाट शुरू गरिएको ज्याला परिसूचक गत आव २०६८/६९ सम्म आइपुग्दा ९२ प्रतिशतले बढेको हो । आव २०६७/६८ मा औसत ज्याला परिसूचक १६८ दशमलव ५६ रहेकोमा १४ प्रतिशतले वृद्धि भई २०६८/६९ मा १९२ दशमलव ४४ पुगेको तथ्याङ्कमा उल्लेख छ । आव २०६६/६७ मा परिसूचक १४५ दशमलव ४४ थियो । 

यस गणनामा इञ्जिनीयर, ओभरसियर, सुपरभाइजर, सिकर्मी, डकर्मी, श्रमिक, इलेक्ट्रिसियन र पेण्टर गरी आठ प्रकारका प्राविधिक तथा मजदूर सामेल गरिएको छ । अघिल्लो आवको तुलनामा सुपरभाइजरको ज्यालामा सबैभन्दा बढी र इञ्जिनीयरको सबैभन्दा कम वृद्धि भएको छ । सुपरभाइजरको ज्याला परिसूचक अघिल्लो आवको १६६ बाट झण्डै २० प्रतिशतले बढेर १९८ पुगेको छ भने इञ्जिनीयरको १३८ मा ११ प्रतिशतले वृद्धि भई १५४ पुगेको छ । यीबाहेक ओभरसियर, डकर्मी, श्रमिक र इलेक्ट्रिसियनको ज्याला परिसूचक १४ तथा सिकर्मी र पेण्टरको परिसूचक १५ प्रतिशतले बढेको छ । 

पछिल्ला ४ वर्षको समग्र तथ्याङ्क हेर्ने हो भने श्रमिकको ज्यालामा सबैभन्दा ठूलो वृद्धि भएको छ । यो वर्गको परिसूचक २०३ पुगेको छ । त्यस्तै सबैभन्दा कम ज्याला वृद्धि हुनेमा इञ्जिनीयरहरू नै छन् । पछिल्लो ४ वर्षमा इञ्जिनीयरको ज्याला परिसूचक १०० बाट १५४ मा पुगेको छ । परिसूचकले प्राविधिक तथा उच्च तहका कर्मचारीको ज्यालामा कम र मजदूर तथा सुपरभाइजरको तलबमा बढी वृद्धि भएको देखाएको छ । 

परिसूचक गणनामा सबैभन्दा बढी भार पनि श्रमिककै ज्यालामा छ । उनीहरूको भार ४७ प्रतिशत छ । त्यसपछि डकर्मीको २२ प्रतिशत र सिकर्मीको ११ प्रतिशत छ भने बाँकी अन्यको भार रहेको छ । आव २०६६/६७ मा ज्याला परिसूचकमा सबैभन्दा ठूलो वृद्धि भएको थियो । सो वर्ष परिसूचक आव २०६५/६६ को तुलनामा २६ अङ्कले बढेर १४५ पुगेको थियो । त्यसपछिका वर्षमा परिसूचक क्रमशः २४ र २३ अङ्कले बढेको देखिएको छ । 
October 18, 2012 Published in Aarthik Abhiyan Daily

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...