Wednesday, December 31, 2014

लगानी मार्केटिङ सचिवालय स्थापनामा विलम्ब

भदौ २८, काठमाडौं । अन्तरराष्ट्रिय लगानी बजारमा परियोजना प्रवद्र्धन गर्न मार्केटिङ सचिवालय स्थापना गर्ने काम रोकिएको छ । लगानी वर्ष २०१२/१३ का लागि लगानी बोर्डले छनोट गर्ने परियोजनाहरूको मार्केटिङ गर्ने जिम्मेवारी दिने भनिएको सचिवालय हालसम्म स्थापना हुन नसकेको नेपाल उद्योग वाणिज्य महासङ्घले बताएको छ । केही महीनाअघि बसेको लगानी बोर्डको बैठकले लगानी वर्षका लागि प्रस्ताव गरिने परियोजना मार्केटिङको जिम्मा महासङ्घलाई दिने निर्णय गरेको थियो । ‘सानो आकारको बजेट आएकाले सचिवालय स्थापनाका लागि रकम विनियोजन हुन नसकेको सरकारको भनाइ छ,’ महासङ्घका कार्यवाहक अध्यक्ष भास्करराज राजकर्णिकारले भने । 

सरकारले लगानी वर्ष २०१२/१३ मा ५० देखि ७५ ओटा लगानीयोग्य परियोजना छनोट गरी लगानीकर्ताहरूबाट प्रस्ताव आह्वान गर्दै छ । सन् २०१२ को अक्टोबरसम्ममा सम्पूर्ण परियोजनाको छनोट सकी सन् २०१३ को शुरूमा मार्केटिङ थालिने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तको भनाइ छ । बोर्डले परियोजना छनोटको आधारभूत काम सकिसकेको छ । बोर्डले जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार, शिक्षा तथा स्वास्थ्य, खनिज तथा खानी र सूचना तथा सञ्चार प्रविधि गरी सात क्षेत्रलाई प्राथमिकतामा राखी परियोजना छनोट कार्यलाई अन्तिम रूप दिइरहेको छ । 

धेरै ठूला परियोजनाहरूका लागि नेपालमै लगानी जुट्न नसक्ने भएकाले यस्ता अधिकांश परियोजनामा विदेशी लगानी भित्र्याउनै पर्ने हुन्छ । त्यसैले छनोट गरिएका परियोजनाहरूलाई विदेशी बजारमा पनि मार्केटिङ गर्नु जरुरी भएको पन्त बताउँछन् । तर, हालसम्म पनि मार्केटिङका लागि कुनै संयन्त्र निर्माणको काम अघि नबढ्दा ती परियोजनाका लागि लगानी जुटाउन समस्या पर्न सक्छ । हालसम्म सरकारका तर्फबाट सचिवालय स्थापनाका लागि ठोस पहल नभएको महासङ्घ स्रोतले बताएको छ । ‘तर, बैठक र छलफलहरू भने जारी छ,’ स्रोतले भन्यो । महासङ्घले आफ्नै पहलमा अष्ट्रेलिया र भारतमा लगानी प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गरेको र फ्रान्स, अष्ट्रिया र बेलायतमा काम भइरहेको बताएको छ । ‘सरकारले आगामी जनवरीसम्ममा परियोजनाको विवरण तयार गरिसक्छ । त्यसबेलासम्म मार्केटिङका लागि पनि बजेटको व्यवस्था होला,’ महासङ्घका महानिर्देशक हेमन्त दवाडीले भने । 

आर्थिक समाचार वेबसाइट सार्वजनिक 
राजधानीमा बिहीवार नयाँ आर्थिक समाचार वेबसाइट ‘बिजनेश संसार डट कम’ सार्वजनिक गरिएको छ । वेबसाइटको उद्घाटन नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यवाहक अध्यक्ष भास्करराज राजकर्णिकारले गरे । अहिले मुलुक आर्थिक तथा व्यावसायिकरूपमा अगाडि बढ्न नसकिरहेकाले मिडियाले पनि आर्थिक मुद्दामा ध्यान दिनुपर्ने उनले बताए । ‘मिडियाले सर्वसाधारण र व्यवसायीमा आशाको सञ्चार गर्न सहयोग गर्नुपर्छ । लगानीका लागि नेपाल असहज भए पनि अप्ठ्यारो गन्तव्य होइन भन्ने कुरामा हामी सबैले जोड दिनु आवश्यक छ,’ उनले भने । 

हरेक दिन अपडेट गरिने वेबसाइटमा आर्थिक तथा व्यावसायिक क्षेत्रका गतिविधि तथा विश्लेषणहरू समेटिने बिजनेशसंसारको निर्माता कम्पनी मिडिया इण्टरनेशनलका अध्यक्ष माधव निर्दोषले बताए । उद्घाटन कार्यक्रममा नेपाल राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केबी उप्रेती, खुद्रा व्यापार सङ्घका अध्यक्ष श्यामप्रसाद बजगाईं, ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष रामशरण थपलियालगायतले आफ्ना धारणा राखेका थिए । 
September 14, 2012 Published in Aarthik Abhiyan Daily

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...