Wednesday, December 31, 2014

रोटरीद्वारा सामुदायिक सेवामा २५ करोड

कात्तिक २१, काठमाडौं । नेपाली रोटरी क्लबमार्फत सामुदायिक सेवामा प्रतिवर्ष २५ करोड रुपैयाँभन्दा बढी परिचालन भएको छ । हालसम्म नेपालमा स्थापित ८४ रोटरी क्लबले शिक्षा, स्वास्थ्य, खानेपानीलगायत क्षेत्रमा वर्षेनि सयौं परियोजना तथा कार्यक्रम सञ्चालन गर्दै आएका छन् । ती क्लबमार्फत २५ देखि ३० करोड रुपैयाँ परिचालन भएको रोटेरियनहरू बताउँछन् । रोटरी इण्टरनेशनल (आरआई)अन्तर्गत ३ हजार २ सय ९२ डिष्ट्रिक्ट भनेर चिनिने नेपालले त्यस्ता कार्यक्रमका लागि स्थानीय तथा विदेशी रोटरी क्लब तथा आरआईको सहयोग पाउँदै आएको छ । 

तत्कालीन डिष्ट्रिक्ट गभर्नर तीर्थमान शाक्यले तयार पारेको सन् २०१०/११ को वार्षिक प्रतिवेदनअनुसार सो वर्ष ५२ रोटरी क्लबले म्याचिङ ग्राण्टमार्फत १२ करोड ३१ लाख रुपैयाँ परिचालन भएको थियो । म्याचिङ ग्राण्टमा सामेल नभएका क्लबको तथ्याङ्क यसमा समावेश छैन । हाल नेपाली रोटरी क्लबहरूले १ लाखदेखि ३ करोड रुपैयाँसम्म सामुदायिक सेवामा लगानी गर्दै आएका छन् । रोटरी क्लब अफ काठमाडौं मिडटाउन, पोखरा, धुलिखेल, भक्तपुर, काठमाडौं मेट्रो, काठमाडौं नर्थलगायतका क्लबहरू सबैभन्दा बढी रकम परिचालन गर्ने क्लबहरू हुन् । यी क्लबहरूले वर्षेनि १ करोड रुपैयाँभन्दा बढी रकम सामुदायिक सेवामा परिचालन गर्दै आएका छन् । रोटरी ‘जीरो ओभरहेड कष्ट’ भएको संस्था हो, जसमा सञ्चालन खर्च नगण्य रहेको हुन्छ । 

अन्तरराष्ट्रिय स्तरमै मानवीय तथा सामाजिक सेवा संस्थाका रूपमा परिचित रोटरीले मुख्यतया शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा लगानी केन्द्रित गर्दै आएको डिष्ट्रिक्ट गभर्नर योगेन्द्रमान प्रधानले जानकारी दिए । गतवर्ष रोटरी क्लब अफ पोखराले १ करोड रुपैयाँभन्दा बढी रकम परिचालन गरेको क्लबका अध्यक्ष केशवराज ढकालले बताए । गतवर्ष क्लबले झण्डै ८० लाख रुपैयाँ छोम्रोङस्थित धौलाश्री माविको भवन निर्माणमा खर्च गरेको थियो । त्यसबाहेक खानेपानी परियोजना, विद्यालयहरूलाई १ सय थान कम्प्युटर तथा स्टेशनरी सामग्री वितरणलगायत काम पनि क्लबले सम्पन्न गरेको थियो । रोटरी क्लब अफ भक्तपुरले पनि महिला सशक्तीकरण, स्वास्थ्य कार्यक्रम, विद्यालय पूर्वाधार निर्माणलगायतमा गतवर्ष १ करोड रुपैयाँ परिचालन गरेको अध्यक्ष कृष्णेश्वरी हाडाको भनाइ छ । 

हाल नेपाली रोटरी क्लबहरूले रक्तदान, टोल सरसफाइ, वृक्षरोपण, खानेपानी परियोजना, विद्यालय तथा स्वास्थ्य पूर्वाधार निर्माण र लघु जलविद्युत् निर्माणका लागि ठूलो मात्रामा रकम परिचालन गरिरहेका छन् । स्थानीय क्लबहरूलाई ठूला र राम्रा परियोजनामा सहयोग गर्न सन् १९९१ मा स्थापित रोटरी फाउण्डेशनले मात्र २० वर्षको अवधिमा झण्डै १ अर्ब रुपैयाँ परिचालन गरेको डिष्ट्रिक्ट रोटरी फाउण्डेशन चेयर कमिटीका सभापति राजेश थापा बताउँछन् । सन् १९९१ मा नेपालमा आठओटा रोटरी क्लब थिए । ‘ठूला परियोजनालाई सहयोग गर्न स्थापना गरिएको फाउण्डेशनका लागि रोटरी डिष्ट्रिक्ट र आरआईले सहयोग उपलब्ध गराउँछन् भने २ हजार ७ सय रोटेरियनले स्वेच्छिक योगदान गर्छन्,’ उनले जानकारी दिए । 

उनका अनुसार स्थानीय र विदेशी क्लबको सहकार्यमा सञ्चालन हुने परियोजनाका लागि फाउण्डेशनले सहयोग गर्ने नीति रहेको छ । ‘हाल पोलियो, शिक्षाअन्तर्गत साक्षरता, पुस्तकालय, कम्प्युटर र छात्रवृत्ति, स्वास्थ्यअन्तर्गत स्वास्थ्य शिविर र सरसफाइ र खानेपानी रोटरीका प्राथमिकताका क्षेत्र हुन्,’ थापाले भने । यसका साथै रोटरीले सन् २०१० देखि १० लाख रुपैयाँको गोपाल–कमला रोटरी भोकेशनल एक्सिलेन्स अवार्ड दिन थालेको छ । कुनै पनि क्षेत्रमा उत्कृष्ट सेवा दिने व्यक्तिलाई प्रदान गरिने सो पुरस्कार सन् २०१० मा धुलिखेल अस्पतालका निर्देशक डा. रामकण्ठ माकजूलाई प्रदान गरिएको थियो । यसका साथै दुर्गम क्षेत्रका युवतीलाई अनमी अध्ययनका लागि छात्रवृत्ति पनि रोटरीले ३ वर्षे कार्यक्रमअन्तर्गत सञ्चालन गरिरहेको छ । हालै उच्च माध्यामिक विद्यालय सङ्घ र निजी तथा आवासीय विद्यालय सङ्घसँग क्रमशः ६० र १ सय ५० जनालाई छात्रवृत्तिका लागि समझदारी भएको छ । राजेश हमाल ब्राण्ड एम्बेष्डर रहेको ‘हामी सबै सक्षम’ अभियान पनि रोटरीकै हो ।
November 7, 2012 Published in Aarthik Abhiyan Daily

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...