Thursday, January 1, 2015

छोटो भिसा अवधिले एफडीआईमा प्रभाव

फागुन ८, काठमाडौं । नेपालले दिने व्यावसायिक भिसाको छोटो अवधि र झन्झटिलो व्यवस्थाले मुलुकमा भित्रिने प्रत्यक्ष विदेशी लगानी (एफडीआई)मा नकारात्मक प्रभाव पारेको छ । नेपालले यहाँ लगानी गर्ने लगानीकर्ताका लागि अधिकतम ५ वर्षसम्मका लागि व्यावसायिक भिसा जारी गर्ने व्यवस्था छ । तर, हाल १ वर्षे अवधिको मात्र व्यावसायिक भिसा जारी गरिरहेको छ । यसले नेपालमा लगानी गर्न आउने विदेशीलाई निरुत्साहित गरिरहेको विश्व बैङ्कको भनाइ छ । 

त्यस्तै, नेपालमा काम गर्न आउने विदेशी कामदारका लागि भिसा लिन ३ देखि ४ महीना लाग्ने विश्व बैङ्क र त्यसअन्तर्गतको अन्तरराष्ट्रिय वित्त निगमको पछिल्लो अध्ययनको निष्कर्ष छ । र, त्यस्तो भिसा लिन ६० ओटासम्म हस्ताक्षर आवश्यक पर्ने अध्ययनले देखाएको छ । यस्ता कामदारका लागि भिसा लिन लाग्ने विश्वव्यापी औसत समय भने १ महीना छ । 

धेरै मुलुकमा अस्थायी ‘वर्क परमिट’ भिसा लिन ४ देखि ६ हप्ता लाग्ने गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ पनि नेपाली भिसा प्रणालीमा समस्या भएको बताउँछ । ‘ती समस्या ज्यादै ठूला नभए पनि त्यो लगानीकर्ताको सम्मानसँग जोडिएको विषय भएकाले निकै संवेदनशील छ,’ महासङ्घका वरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकारले भने । 

खासगरी जहान परिवार र कामदारका लागि भिसा पाउन गाह्रो भएकाले त्यसमा सरलीकरण गर्नुपर्ने उनको भनाइ छ । अहिले महासङ्घ, लगानी बोर्ड र वाणिज्य मन्त्रालयले त्यसमा सुधारका लागि पहल थालेका छन् । नेपालमा विदेशी लगानीलाई प्रोत्साहन गर्न विभिन्न नीतिनियममा सुधारका लागि अध्ययन थालिएको र आवश्यकताअनुसार झन्झटिला प्रावधानलाई सरलीकृत गर्दै जाने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले बताए । 

अध्ययनले भिसा जारी गर्न उद्योग विभाग, अध्यागमन विभागलगायतका सरोकारवाला निकायबीच उचित समन्वय पनि हुन नसकेको बताउँछ । त्यस्तै नीति र व्यवहारमा पनि फरक पाइएको अध्ययनमा उल्लेख छ । ‘यहाँ ठाउँअनुसार भिसा प्रक्रिया र कागजात पनि फरकफरक आवश्यक पर्ने गरेको देखिएको छ,’ विश्व बैङ्कका वरिष्ठ लगानी नीतिविज्ञ पिटर कुसेकले गत हप्ता राजधानीमा आयोजित एक कार्यक्रममा भनेका थिए, ‘भिसाको प्रक्रिया र अवधिबारे आधिकारिक जानकारी पाउन पनि उत्तिकै कठिन छ ।’ त्यसका लागि स्थानीय, अङ्ग्रेजी, जर्मनलगायत केही भाषामा वेबसाइटमा जानकारी उपलब्ध गराउँदा प्रभावकारी हुने उनको सुझाव थियो । 

हाल नेपालले ४ प्रकारका व्यावसायिक भिसा जारी गर्दै आएको छ । सम्भाव्यता अध्ययनका लागि आउने लगानीकर्ताले ६ महीना अवधिको गैरपर्यटक भिसा पाउँछन् भने नेपालमा काम गर्ने विदेशी कामदारलाई १ देखि ५ वर्षे अवधिको भिसा दिइन्छ । त्यस्तै, लगानीकर्ता र ऊमाथि आश्रित सदस्यका लागि अधिकतम ५ वर्षसम्मको व्यावसायिक भिसा दिने व्यवस्था छ भने १ लाख डलरभन्दा बढी लगानी गर्नेका लागि १ वर्षे आवासीय भिसा प्रदान गरिन्छ । 

February 20, 2013 Published in Aarthik Abhiyan Daily

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...