Thursday, January 1, 2015

संविधानसभा निर्वाचन

मुलुकको निर्णायक घडी आज


 ७० प्रतिशतसम्म भोट खस्ने अनुमान   
 - चुनाव खर्च झण्डै रू. ५० अर्ब  

मङ्सिर ३, काठमाडौं । अनेक आशङ्का, डर र अनिश्चिततालाई चिर्दै अन्ततः संविधानसभाको चुनाव मङ्गलवार हुँदै छ । बिहान ७ बजेदेखि मतदाता २ सय ४० निर्वाचन क्षेत्रमा स्थापना गरिएका १८ हजार ४ सय ५७ मतदान केन्द्रमा आफूले रोजेको उम्मेदवार र दललाई भोट हाल्न पुग्दैछन् । निर्वाचन आयोगमा दर्ता भएका १ सय २९ राजनीतिक दलमध्ये १ सय २१ ले प्रत्यक्ष र १ सय २२ ले समानुपातिकतर्फ आफ्ना उम्मेदवार खडा गरेका छन् । तीमध्येबाट ६ सय १ जना चुनिएर संविधानसभामा पुग्नेछन् ।

केही साताअघिसम्म चुनाव होला कि नहोला भन्ने संशयमा रहेका सर्वसाधारण राजनीतिक दलको बढ्दो सक्रियता र प्रचारप्रसारसँगै मानसिक रूपमा चुनावका लागि तयार हुन थालेका थिए । खासगरी नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले गरेको यातायात बन्दले सुरक्षास्थिति केही बिग्रिएको आभास भए पनि मतदातामा त्यसको प्रभाव न्यून देखिएको छ । बन्दका विविध अवरोध छिचोल्दै मतदाता भोट हाल्न गाउँ फर्किनुले निकै सकारात्मक सन्देश दिएको छ । यसले आमजनता निर्वाचनमार्फत मुलुकलाई निकासको बाटोमा हिँडाउन प्रतिबद्ध छन् भन्ने कुरा पुनः प्रमाणित गरेको छ ।

पहिलो संविधानसभाले संविधान लेखनको प्रतिबद्धता पूरा नगरेपछि आमजनता चरम आक्रोशको अवस्थामा रहे पनि चुनावप्रतिको उत्साह कम भएको छैन, बरु बढेको छ । तर, सुरक्षाकै कारण गत चुनावमा भन्दा कम मत खस्ने अनुमान केही विश्लेषकहरूको छ । तर, निर्वाचन आयोगले भने झण्डै ७० प्रतिशत भोट खस्ने अनुमान गरेको छ । ‘मतदाता शिक्षालाई गाउँगाउँमा पुर्‍याइएकाले आमजनतामा आफ्नो प्रतिनिधि छान्न र प्रजातान्त्रिक प्रक्रियामा सहभागी हुन भोट हाल्नैपर्छ भन्ने भावनाको विकास भएको छ,’ आयोगका प्रवक्ता वीरबहादुर राई भन्छन्, ‘त्यसैले यसपटक बढी भोट खस्छ ।’ उनको भनाइमा आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक) पनि पूर्ण सहमत छ । सुरक्षा व्यवस्था चुस्त बनाएकाले पनि मतदाता निर्भीक भई मतदान गर्न आउने सरकारले बताएको छ ।

पहिलो संविधानसभा निर्वाचनको तुलनामा यसपालि मतदाताको सङ्ख्या भने घटेको छ । यसपालिको निर्वाचनमा १ करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदाता छन् । यो सङ्ख्या गत चुनावको भन्दा झण्डै ५५ लाख कम हो । २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा १ करोड ७६ लाख ११ हजार ८ सय ३२ मतदाता थिए । त्यसैले भोट प्रतिशत बढे पनि खस्ने भोट भने यसपालि कम हुनेछ । २०६४ सालको चुनावमा ६१ प्रतिशत भोट खसेको थियो । त्यसमध्ये ५ लाख ६० हजार मत बदर भएका थिए । 




झण्डै साढे ५ वर्षअघि निर्वाचित पहिलो संविधानसभाको संविधान निर्माणविनै अवसान भएपछि मुलुक सोही प्रकृतिको निर्वाचनमा दोस्रोपटक होमिएको हो । संसारमै विरलै हुने भनिएको संविधानसभाको निर्वाचन दोहोर्‍याएर गर्ने थोरै मुलुकमध्ये नेपाल पनि एक भएको छ ।

संविधानसभा निर्वाचनका लागि सरकारले १६ अर्ब रुपैयाँ बजेट छुट्ट्याएको थियो । त्यसमा प्रत्यक्षतर्फका ६ हजार १ सय २८ र समानुपातिकतर्फका १० हजार ७ सय ९ गरी १६ हजार ८ सय ३७ उम्मेदवारले गर्ने खर्च, राजनीतिक दलले गर्ने खर्च र पर्यवेक्षक र राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरूले गर्ने खर्चसमेत गरी चुनावमा झण्डै ५० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । 

अर्थशास्त्री तथा स्वतन्त्र संस्थाहरूले ३५ देखि ४५ अर्ब रुपैयाँ खर्च हुने बताए पनि सरकार आफैले चुनावमा ५० अर्ब रुपैयाँसम्म खर्च हुने बताएको हो । अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले यसै साता राजधानीमा आयोजित एक कार्यक्रममा त्यस्तो जानकारी दिएका हुन् । चुनावमा प्रत्यक्षतर्फका उम्मेदवारले १० लाख रुपैयाँ र समानुपातिकतर्फका उम्मेदवारले ७५ हजार रुपैयाँ खर्च गर्न पाउने गरी निर्वाचन आयोगले सीमा तोकेको थियो ।

November 19, 2013 Published in Aarthik Abhiyan Daily

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...