Thursday, January 1, 2015

केबलकारमा लगानी गर्न भारतीय र फ्रँन्सेली कम्पनी तयार छन्



भवानी राणा
उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासङ्घ
प्रबन्ध निर्देशक,  बी एण्ड एस कोल्याब्रेशन प्रालि


लामो समयदेखि आतिथ्य उद्योगमा संलग्न नेपाल उद्योग वाणिज्य महासङ्घकी उपाध्यक्ष भवानी राणा राजधानी काठमाडौंमा केबल यातायात सञ्चालनको तयारीमा छन् । त्यसका लागि सम्भावना अध्ययनसमेत सकी विदेशी परामर्शदाताबाट विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को तयारी भइरहेको र निर्माण शुरू भएको अढाई वर्षभित्रै उपत्यकामा केबलकार सञ्चालन हुने उनको भनाइ छ । झण्डै १५ अर्ब रुपैयाँको लगानी रहने सो परियोजनामा लगानीका लागि स्वदेशी तथा विदेशी कम्पनीले चासो देखाएको राणा बताउँछिन् । महासङ्घको आगामी चुनावमा वरिष्ठ उपाध्यक्षको उमेदवारका रूपमा समेत हेरिएकी उनी महासङ्घको एकता कायम राख्न आफूले पहल गरिरहेको दाबी गर्छिन् । राणासँग आर्थिक अभियानका मोदनाथ ढकाल र पाण्डव शर्माले गरेको कुराकानीको सार :

लामो समयदेखि होटल व्यवसायमा संलग्न तपाईंले हाल ‘केबल यातायात’मा पनि लगानी गर्न खोज्दै हुनुहुन्छ । के लगानीको क्षेत्र परिवर्तन गर्न थाल्नुभएको हो ?
मैले होटल र कृषिक्षेत्रलाई प्राथमिकतामा राखी लगानी गर्दै आएकी थिएँ । अहिले केबल यातायातमा पनि लगानी गर्ने सोच छ । यसको मतलब लगानी परिवर्तन गरेको नभई विस्तार गर्न खोजेको हो । कुनै व्यवसायीले एउटा क्षेत्रमा मात्र लगानी गर्नुपर्छ भन्ने छैन, परिस्थितिअनुसार उपयुक्त क्षेत्रमा लगानी गर्नुपर्ने हुन्छ । लगानी गर्दा हरेक व्यवसायीले राम्रो प्रतिफल प्राप्त हुने क्षेत्रलाई नै हेरिराखेको हुन्छ । सँगै आमजनता के चाहन्छन् भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । म यसकुरामा सचेत छु । त्यसैले, विगत लामो समयदेखि कृषि र पर्यटनमा लगानी गर्दै आएकी छु । हाल काठमाडौं उपत्यकामा ट्राफिक चाप बढ्दो छ । यो समस्या समाधानका लागि उपयुक्त उपाय केबल यातायात हुने अपेक्षासहित यसमा लगानी गर्ने योजना बनेको हो ।

काठमाडौंमा केबल यातायातको सम्भावना कस्तो देखिएको छ ?
यसको सम्भाव्यता अध्ययन भइसकेको छ । सम्भाव्यता अध्ययन प्रतिवेदन सकारात्मक आएकाले हामी लगानीका लागि थप उत्साहित भएका हौं । हामीले विज्ञहरूको सहयोगमा सम्भाव्यता अध्ययन गरेका थियौं । केबल यातायात ठूलो परियोजना हो । त्यसैले यसको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गर्न विदेशी परामर्शदाताको सहयोग लिइएको छ ।

केबल यातायात संरचनाको प्रारम्भिक खाका कस्तो छ ?
पहिलो चरणमा कुलेश्वरदेखि महाबौद्धसम्म र नारायणगोपाल चोकदेखि लगनखेलसम्म दुईओटा ‘रुट’ तयार गरिएको छ । बीचबीचमा स्टेशन रहनेछन् । सँगै पर्यटकीय क्षेत्रलाई पनि समेट्ने योजना छ । हनुमानढोका र पाटन दरबार क्षेत्रलाई यस यातायातले समेट्नेछ । केबल यातायातको प्रमुख उद्देश्य सार्वजनिक यातायात नै हो । तर, हामी पर्यटकीय क्षेत्रलाई पनि समेटेर जाने योजनामा छौं । काठमाडौं उपयत्कालाई सुन्दर देखाउन यसले मद्दत गर्नेछ । अर्कोतर्फ केबल यातायातले काठमाडौंको प्रदूषण न्यूनीकरणमा पनि योगदान गर्नेछ । हामीले वातावरणमैत्री केबल यातायात सञ्चालन गर्न खोजेका हौं । यसमा डिजेल, पेट्रोलजस्ता इन्धन प्रयोग हुने छैनन् । केबल यातायातका लागि कति स्टेशन रहने भन्ने कुरा डीपीआर प्रतिवेदन आएपछि मात्र थाहा हुन्छ । केबल यातायात विद्यमान सडकको माथिबाट सञ्चालन हुनेछ । सरकारी जग्गामा स्टेशन बनाई सरकारी जग्गाको सदुपयोग गर्ने योजना छ । यस विषयमा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयसँग छलफल भइरहेको छ । उहाँहरू पनि हाम्रो प्रस्तावमा सकारात्मक हुनुहुन्छ । महानगरपालिका र अन्य नगरपालिकाहरूसँग पनि यस विषयमा कुराकानी भइरहेको छ ।

काम शुरू भएको कति वर्षभित्र केबल यातायात सञ्चालनमा आउने छ ? 
विनाबाधा काम हुन सक्यो भने निर्माण प्रारम्भ भएको साढे २ वर्षभित्र केबल यातायात सञ्चालनमा आइसक्नेछ ।
यस विषयमा तपाईंहरूले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा पेश गरेको प्रस्तावको फाइल कहाँ पुग्यो ?
हामीले पठाएको प्रस्ताव सम्बन्धित मन्त्रालयमा पुगिसकेको छ । डीपीआरको काम गर्न फ्रान्सेली कम्पनीले इच्छा व्यक्त गरेको छ । सरकारले समेत यस विषयमा थप अध्ययन गरिरहेको बुझिएको छ ।

नेपालका केही स्थानमा केबल यातायात सञ्चालन भइरहेको छ । ती कम्पनीसँग तपार्इंहरूको सहकार्य कस्तो रहन्छ ?
एउटा महत्वाकाङ्क्षी र ठूलो परियोजना निर्माण गर्नुअघि नेपालमै लामो समयको अनुभव प्राप्त गरिसकेका कम्पनीसँग परामर्श नहुने भन्ने हुँदैन । आवश्यक परे सहकार्य पनि हुन सक्छ । तर, डीपीआरको काम पूरा नभएकाले हामीले हतार गरेका छैनौं ।

नेपाल यतिबेला चरम ऊर्जासङ्कटको अवस्थामा छ । केबल यातायातका लागि पनि विद्युत् नै चाहिन्छ । यसका लागि के योजना बनाइरहनुभएको छ ? 
केबल यातायातका लागि त्यति धेरै क्षमताको विद्युत् आवश्यक पर्दैन । नियमित ३ देखि ५ मेगावाट विद्युत् भए यसलाई सजिलै सञ्चालन गर्न सकिन्छ । ऊर्जा समस्या कुनै एक क्षेत्रका लागिमात्र नभई समग्र उद्योग व्यवसायका लागि चुनौती हो । विद्युत् अभावका कारण थुप्रै उद्योगधन्दा बन्द भएका छन् । यस विषयमा सरकार गम्भीर हुनुपर्छ । नेपालमा २/३ वर्षभित्र केही जलविद्युत् परियोजना सम्पन्न हुने सम्भावना रहेकाले त्यति समस्या नहोला ।
लगानीको स्रोत कसरी जुटाउँदै हुनुहुन्छ ?
प्रारम्भिक अध्ययनअनुसार यस परियोजनाका लागि रू. १४ देखि १५ अर्ब खर्च हुने अनुमान छ । यस परियोजनाका लागि निजी कम्पनीहरूले सहकार्य गर्न खोजेका छन् । आईएमई ग्रूप, लक्ष्मी ग्रूप र पञ्चकन्याले पनि इच्छा व्यक्त गरेका छन् । यसमा सरकारको समेत दायित्व रहनुपर्छ । हामी केबल यातायातका लागि कुनै न कुनै रूपमा राज्यको सहभागिता खोजिरहेका छौं । यसमा विदेशी कम्पनीहरूसमेत आउनेछन् ।

परियोजनामा स्वदेशी र विदेशी लगानीकर्ताको लगानी प्रतिशत दर कस्तो रहनेछ ? 
हालसम्म कुन निकायको लगानी कति प्रतिशत रहने भनी निर्णय भइसकेको छैन । फ्रान्सबाट दुई/तीनओटा कम्पनीले लगानी गर्ने इच्छा व्यक्त गरेका छन् । भारतका केही कम्पनीसमेत लगानीका लागि इच्छुक भएको पाइएको छ । डीपीआर तयार भइसकेपछि लगानी जुटाउने काम हुनेछ । तर, हालसम्म विदेशी लगानीकर्ताको संलग्नता सुनिश्चित भइसकेको छैन ।

सरकार काठमाडौंमा मेट्रो रेल सञ्चालनको तयारीमा छ । विद्यमान सडक यातायात त छँदैछ, त्यसमाथि तपार्इंहरूले केबल यातायातको अवधारणा ल्याउनुभएको छ । काठमाडौंले तीनै प्रकारका यातायात थेग्न सक्ला ?
मेट्रो रेल कुनै पनि शहरका लागि दीर्घकालीन यातायातको भरपर्दो साधन हो । सरकारको योजना भए पनि मेट्रो रेल बन्न वर्षौं लाग्नसक्छ । भत्काइएका सडकको पुनर्निर्माण गर्न त वर्षौं लाग्ने हाम्रो मुलुकमा जमीन खनेर बनाइने ठूला परियोजना तत्काल बन्न सक्ने सम्भावना छैन । त्यसैले तत्कालका लागि केबल यातायात उपयुक्त विकल्प बन्न सक्छ । यो छोटो समयमा पूरा गर्न सकिने परियोजना हो । सरकारद्वारा देशभर भइरहेको सडक विस्तार एउटा सकारात्मक कार्य हो । यातायातलाई सहज बनाउन र सडकमा ट्राफिक चापलाई कम गर्न पनि केबल यातायात उपयुक्त विकल्प हो । केबल यातायातले विभिन्न कोणबाट नेपालको अर्थतन्त्रमा समेत योगदान गर्छ । यो सञ्चालनमा आउन थालेपछि पेट्रोलियम पदार्थमार्फत विदेशिएको मुद्रा स्वदेशमै रहन्छ । यसबाट व्यापारघाटा कम गर्न सहयोग मिल्छ । पर्यटक आकर्षित गरी विदेशी मुद्रा आर्जन गर्न पनि यस यातायातले सहयोग गर्नेछ । त्यसैगरी, काठमाडौंको वातावरण संरक्षणमा यसको महत्वपूर्ण भूमिका रहनेछ ।

ठूलो परियोजना अघि सार्नुभएको छ । यो परियोजना सफल हुन्छ भन्ने आधार के हुन् ? 
परियोजना सम्पन्न गर्छौं भन्ने प्रतिबद्धता नै यसको महत्वपूर्ण आधार हो । हामी सरकारसँग सहकार्य गर्दैछौं । अर्थात् हामीलाई सरकारले पनि विश्वास गरेको छ । साथै, केबल यातायातका लागि ठूलाठूला कम्पनीहरूले लगानी गर्ने इच्छा व्यक्त गरेका छन् । म स्वयं पनि नेपाल उद्योग वाणिज्य महासङ्घको उपाध्यक्ष हुँ । जिम्मेवार व्यवसायीहरूको अग्रसरतामा अघि सारेको परियोजना सफल रूपमा सम्पन्न हुन्छ भन्ने विश्वास गर्न सकिन्छ ।

तपाईंहरू परियोजनाको कागजी प्रक्रिया मिलाउनमा नै व्यस्त हुनुहुन्छ । हालसम्मको अनुभव हेर्दा पूर्वाधार क्षेत्रमा लगानी गर्दा केकस्ता अप्ठ्यारोको सामना गर्नुपर्ने रहेछ ?
अहिलेसम्मको प्रक्रिया हेर्दा हामीले काम तीव्र गतिमा नै गरिरहेका छौं । हालसम्म भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयबाट सकारात्मक सहयोग प्राप्त भइरहेको छ । आगामी दिनमा अझ धेरै काम गर्न बाँकी भएकाले पनि त्यति धेरै समस्या आइसकेका छैनन् । तर, डीपीआर तयार भएपछि निर्माणको चरणमा जाँदा पक्कै पनि समस्या देखिनेछन् ।

यस परियोजनाले कति वर्षमा लगानी उठाउने अनुमान गर्नुभएको छ ?
यसको विस्तृत तथ्याङ्क त डीपीआर तयार भएपछि मात्र थाहा हुन्छ । तर, ६ देखि ८ वर्षभित्र लगानी उठाउन सकिन्छ भन्ने प्रारम्भिक अनुमान छ । आर्थिक तथा प्राविधिक अध्ययनपछि सम्पूर्ण तथ्य थाहा हुन्छ ।

पछिल्लो समय पूर्वाधार निर्माणमा निजीक्षेत्रले लगानी बढाएको छ । नेपालमा साँच्चै लगानीको वातावरण बन्दै गएको हो ?
नेपालमा लगानीको वातावरण पहिलेदेखि नै थियो । अहिले लगानी वर्षका नाममा अलि धेरै चर्चा भएकोमात्र हो । द्वन्द्वको समयमा पनि लगानी गर्ने मान्छेले काम गरेकै थिए । लगानीको वातावरणका सन्दर्भमा सुरक्षित रूपबाट लगानी गर्न पाइयोस् र त्यसबाट उचित प्रतिफल पाइयोस् भन्ने लगानीकर्ताको अपेक्षा छ । हाल विश्वमा लगानीकर्ताबीच प्रतिस्पर्धा छ । नेपाली व्यवसायीले पनि विभिन्न देश घुमेर अन्तरराष्ट्रिय अनुभव प्राप्त गरेका छन् । नेपालमा पछिल्लो समय युवा व्यवसायी आक्रामक शैलीमा लगानी विस्तारको योजनामा छन् । प्रविधि र सम्बन्धित विषयको पर्याप्त ज्ञान हासिल गरी व्यवसायमा आउन थालेपछि व्यवसाय विस्तार र लगानीमा उनीहरूलाई त्यति धेरै समस्या छैन ।


तपार्इं नेपालमा सफल महिला व्यवसायीका रूपमा परिचित हुनुहुन्छ । नेपाली महिला व्यवसायीका चुनौती के–के हुन् ? 
नेपालमा अधिकांश महिला साना तथा मझौला व्यवसायमा संलग्न छन् । तर, नेपाली महिलाले सम्पत्तिको अधिकार प्राप्त गर्न सकिरहेका छैनन् । हाम्रोमा अझै पनि पितृसत्तात्मक सोच हावी छ । कानूनमा समानता भए पनि व्यावहारिक रूपमा कार्यान्वयन हुन सकेको छैन । महिलाका नाममा सम्पत्ति नहुँदा आफ्ना बुवा वा श्रीमान्को भर पर्नुपर्ने बाध्यता अझै छ । सोही कारण पुरुषसरह महिलाले व्यवसायको प्रवर्द्धन गर्न पाउँदैनन् । सामाजिक विभेद घटेको छैन । व्यावसायिक काममा राति अबेरसम्म खट्नुपर्छ । तर, नेपाली समाजले यो अवस्थालाई सहज स्वीकार गर्दैन ।

नेउवा महासङ्घले नेपाली महिला व्यवसायीको क्षमता अभिवृद्धिका लागि के गरिरहेको छ ?
महासङ्घमा महिला समिति क्रियाशील छ । सबै सङ्घमा महिला समिति सक्रिय छन् । त्यसमार्फत उद्यमशीलताका कार्यक्रम सञ्चालन भइरहेका छन् । उद्योग मन्त्रालयअन्तर्गतको घरेलु तथा साना उद्योगमार्फत कोष स्थापना भएको छ । हामीले पनि विभिन्न तालीम कार्यक्रम सञ्चालन गरिरहेका छौं । हालैमात्र २२ जना महिला व्यवसायीलाई थाइल्याण्ड भ्रमणमा लगेका थियौं ।

व्यक्तिगत रूपमा तपार्इंलाई व्यवसाय गर्न परिवारबाट कस्तो सहयोग छ ?
परिवारको सहयोगविना म कुनै पनि काम गर्न सक्दिनँ । ममात्र होइन, परिवारको सहयोगविना नेपाली महिला व्यवसायमा लाग्न सम्भव छैन । मेरो श्रीमान्ले व्यवसायमा ठूलो सहयोग गरिरहनुभएको छ । मेरो सफलतामा उहाँको पनि हात छ । परिवारबाट पनि पर्याप्त सहयोग पाएकी छु ।

महासङ्घको निर्वाचन नजिकिँदै छ । पछिल्लो समय व्यावसायिक चुनावमा समेत राजनीति हावी भएको देखिन्छ । महासङ्घको स्थिति के छ ?
नेपालका हरेक संस्थामा राजनीति घुसेको छ । हरेक चुनावमा प्यालनका सन्दर्भ आउँछन् । महासङ्घमा पनि विभिन्न विचार भएका मान्छे छन् । उनीहरूको सोच फरक छ । तर, आर्थिक क्षेत्रका व्यक्तिले सकभर सहमतिबाटै निर्णय गर्नुपर्छ । महासङ्घको तर्फबाट हालसम्म राजनीतिक रूपमा कुनै एजेण्डा अघि सारिएको छैन ।
पछिल्लो समय एफएनसीसीआई र सीएनआईबीच पानीबाराबारको स्थिति देखिन्छ । यी संस्थाबीच सम्बन्ध किन बिग्रिएको होला ? 
मैले व्यक्तिगत रूपमा सीएनआईका साथीहरूसँग पनि सँगै काम गर्दै आएकी छु । विभिन्न कार्यक्रममा संयुक्त ब्यानरमा काम भइरहेको हुन्छ । यसमा नेतृत्वको पनि कुरा आउँछ । विचार र सोच फरक भए पनि आर्थिक एजेण्डामा यी संस्थाको समान धारणा आउनुपर्छ  ।

चुनावमा कुन पदमा उम्मेदवारी दिनुहुन्छ ? 
अवश्य नै अहिलेको भन्दा अगाडि बढ्छु ।

अगाडि मतलब छलाङ मार्ने गरी कि एक तह माथि ?
(लामो हाँसो) हामी सहमति निर्माणको चरणमा छौं । अहिले परिस्थिति जटिल छ । कुन व्यक्ति कुन पदमा रहनेभन्दा पनि हाम्रो एजेण्डा के रहने भन्ने मुख्य विषय हो । सबै क्षेत्रबाट व्यवसायीमाथि प्रहार भइरहेको छ । यसलाई रोक्न सबै मिलेर अघि बढ्नुपर्छ ।

विषयान्तर भयोजस्तो छ, मेरो प्रश्न तपाईंको उम्मेदवारी कुन पदमा ?
पक्कै पनि एक तहमाथि नै मेरो उम्मेदवारी रहन्छ । तर, सहमतिमार्फत जे पनि हुन सक्छ ।

भनेपछि सहमति भए तपाईंको उम्मेदवारी फिर्ता पनि हुन सक्छ ?
सहमति भए म यही पदमा बस्छु भन्ने हुँदैन । कुनै पनि पदमा रहन सकिन्छ । महासङ्घमा सहमति हुन्छ भने म पद छोड्न तयार छु । र, अन्य पदमा जान पनि तयार छु । यो भविष्यले देखाउने सन्दर्भ हो ।

बजारमा भवानी राणा सुरज वैद्यनजिकको मान्छे हो भन्ने सन्देश गएको छ । आगामी चुनावमा यसले कत्तिको प्रभाव पार्ला ?
अहिले सुरज वैद्य महासङ्घको अध्यक्ष हुनुहुन्छ । उहाँ अध्यक्ष भएको संस्थामा म उपाध्यक्ष छु । दुई जना पदाधिकारी नजिक हुन सकिएन भने महासङ्घको काम कसरी अघि बढ्ला ? यो स्वाभाविक प्रक्रिया हो । एउटा संस्थामा काम गर्दा मिलेरै अघि बढ्नुपर्छ । उहाँको विचार र मेरो विचार फरक पर्न सक्छ । तर, काम भनेको समग्र महासङ्घको हो ।
September 2, 2013 Published in Aarthik Abhiyan

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...