Thursday, January 1, 2015

आर्थिक वृद्धिको लक्ष्य भेट्न कठिन


एशियाली विकास परिदृश्य २०१४ 
सन् २०१४ मा ४.५ र २०१५ मा ४.७ प्रतिशत वृद्धिदर 



चैत १८, काठमाडौं ।
एशियाली विकास बैङ्क (एडीबी)ले चालू आर्थिक वर्षका लागि सरकारले प्रक्षेपण गरेको आर्थिक वृद्धिदर प्राप्त नहुने बताएको छ । मङ्गलवार एडीबीले काठमाडौंमा सार्वजनिक गरेको ‘एशियाली विकास परिदृश्य २०१४’ प्रतिवेदनअनुसार चालू आवमा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ५ प्रतिशत रहने छ । यस वर्ष सरकारले ५ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको थियो । सन् २०२२ सम्ममा नेपाललाई अतिकम विकसित राष्ट्र (एलडीसी) बाट विकासशीलमा स्तरोन्नति गर्न सरकारले आव २०७३/७४ मा ७ प्रतिशतको आर्थिक वृद्धि भेट्टाउने लक्ष्य लिएको छ । गत आवमा नेपालले ३ दशमलव ६ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गरेको थियो । 

नयाँ विकास परिदृश्य प्रतिवेदनमार्फत एडीबीले गतवर्षको आफ्नै प्रक्षेपण सच्याएको हो । गत वर्षको प्रतिवेदनमा उसले सन् २०१४ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव २ प्रतिशत रहने बताएको थियो । दोस्रो संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भई राजनीतिक स्थिरताको सङ्केत देखिएको र त्यसले व्यवसायी तथा लगानीकर्ताको विश्वास तथा मनोबल बढेको कारणले नेपालको आर्थिक वृद्धिदरमा सुधार हुने अपेक्षा गरिएको एडीबीका नेपाल कण्ट्री डाइरेक्टर केनिचि योकोयामाले बताए । 

संविधानसभाले मुख्य क्षेत्रहरूमा लगानी बढाउन आवश्यक कानूनहरू पारित गर्ने तथा संरचनागत सुधार गर्न अनुमति प्रदान गर्ने अपेक्षा पनि प्रतिवेदनमा गरिएको छ । यसका साथै अनुकूल मनसुन, विप्रेषण आप्रवाहमा वृद्धि, समयमै बजेट आउनेजस्ता कुराको अनुमानको आधारमा आर्थिक वृद्धिदर ४ दशमलव ५ प्रतिशतमा रहने प्रक्षेपण गरिएको बताइएको छ । आगामी आव २०७१/७२ मा नेपालको आर्थिक वृद्धिमा थप सुधार भई ४ दशमलव ७ प्रतिशत पुग्ने पनि एडीबीको अनुमान छ । 

यस वर्ष महँगी बढ्ने एडीबीको अनुमान छ । ज्यालाको दबाब, इन्धनको मूल्य वृद्धि हुने गरी गरिने समायोजन, नेपाली मुद्रा कमजोर रहनु, भारतमा उच्च मुद्रास्फीति, निरन्तरको ऊर्जासङ्कट र आपूर्ति पक्षका अन्य अवरोधहरूका कारणले महँगी राष्ट्र बैङ्कको लक्ष्य ८ दशमलव ५ प्रतिशतभन्दा निकै माथि १० प्रतिशतसम्म पुग्ने बताइएको छ । भुक्तानी सन्तुलन भने यस वर्ष सबल रहने प्रतिवेदनमा उल्लेख छ । निर्यात ३ प्रतिशत र आयात १५ प्रतिशतले बढ्ने अनुमान छ ।

सन् २०१२ बाहेक गएका ५ वर्षमा मुद्रास्फीति ९ प्रतिशतभन्दा बढी रहेको बताउँदै उपभोक्ताको क्रयशक्ति ह्रास गर्ने र उत्पादकहरूको प्रतिस्पर्धी क्षमता कम गर्ने उच्च मुद्रास्फीतिलाई पकडमा राख्नु देशको प्रमुख समष्टि आर्थिक चुनौतीमध्येको एक रहेको एडीबीको ठहर छ । 

एडीबीको प्रक्षेपणले यो वर्ष दक्षिण एशिया क्षेत्रको आर्थिक वृद्धिमा सुधार हुने देखाएको छ । सन् २०१३ मा ४ दशमलव ८ प्रतिशत रहेको वृद्धिदर यो वर्ष ५ दशमलव ३ प्रतिशतमा पुग्ने अनुमान छ । सार्क सदस्य मुलुकमध्ये बङ्गलादेश र पाकिस्तानबाहेक सबैको आर्थिक वृद्धि दर यस वर्ष उकालो लाग्ने एडीबीले प्रक्षेपण गरेको छ । त्यस्तै भारत र भूटानको आर्थिक वृद्धिदर सबैभन्दा बढी शून्य दशमलव ८ प्रतिशत बिन्दुले बढ्ने बताइएको छ । 


April 2, 2014 Published in Aarthik Abhiyan

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...