Thursday, January 1, 2015

नेपालको आर्थिक वृद्धिदर ४.२ पुग्ने प्रक्षेपण



चैत २७, काठमाडौं ।
केन्द्रीय तथ्याङ्क विभागले चालू आर्थिक वर्षमा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को वृद्धिदर ३ दशमलव ५ प्रतिशत रहने अनुमान गरेको १ साता नबित्दै एशियाली विकास बैङ्क (एडीबी)ले आगामी वर्ष सन् २०१४ मा नेपालको जीडीपी वृद्धिदर ४ दशमलव २ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । राजधानीमा मङ्गलवार सार्वजनिक ‘एशियाली विकास परिदृश्य (एडीओ) २०१३’ प्रतिवेदनमा यस्तो अनुमान गरिएको हो । प्रतिवेदनले नेपालको वृद्धिदर समग्र दक्षिण एशियाको भन्दा निकै कम रहेको देखाएको छ । यो वर्ष (सन् २०१३) मा दक्षिण एशियाको वृद्धिदर ५ दशमलव ७ प्रतिशत छ भने आगामी वर्ष त्यसमा वृद्धि भई ६ दशमलब २ प्रतिशत पुग्ने अनुमान गरिएको छ । 
मलखादको कमी, कमजोर मनसुन, लगानीकर्ताको मनोबलमा कमी र पूर्ण बजेटको अभावमा ठूला परियोजनाहरू प्रभावित भएका कारण चालू वर्षमा आर्थिक वृद्धिदर सुस्ताउने पूर्वानुमान गरिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले नेपालको आर्थिक वृद्धिदर बढाउनका लागि लगानीको वातावरणमा सुधार अपरिहार्य रहेको निष्कर्ष निकालेको छ । 
अनुकूल वातावरणको प्रवद्र्धन र राजनीतिक स्थिरता मुलुकको आर्थिक सुधारका लागि अत्यन्तै महइभ्वपूर्ण रहेको प्रतिवेदन बताउँछ । ‘नेपालमा लगानीकर्ताको मनोबलमा सुधार ल्याउन पूर्वाधारहरूको आधार विकास र खासगरी ऊर्जा, संस्थागत क्षमता सुदृढीकरण र रणनीतिक तथा सकारात्मक नीतिहरूको प्रवद्र्धन गर्नु अत्यन्तै आवश्यक छ,’ एडीबीका नेपाल निर्देशक केनिची योकोयामाले भने ।
बैङ्किङ क्षेत्रका सवाल व्यवस्थापन गर्न केन्द्रीय बैङ्कले हालै जारी गरेका नियामक तथा अनुगमनात्मक निर्देशनहरूको प्रतिवेदनले प्रशंसा गरेको छ भने यस क्षेत्रमा अझै धेरै संरचनागत सुधारको आवश्यकता रहेको औंल्याएको छ । आगामी वर्षको बजेट समयमै आएमा त्यसले अहिले देखिएका धेरै समस्यालाई सम्बोधन गर्ने पनि प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनका अनुसार यो वर्ष दक्षिण एशियाली क्षेत्रमा बङ्गलादेशबाहेक अन्य मुलुकको जीडीपी वृद्धिदर नेपालको भन्दा उच्च रहेको छ । त्यसैगरी आगामी वर्ष पाकिस्तानबाहेक अन्य ६ मुलुकको गार्हस्थ्य उत्पादन वृद्धिदर नेपालको भन्दा बढी हुनेछ । चालु वर्ष अर्थात् सन् २०१३ र आगामी वर्ष २०१४ मा दक्षिण एशियाली अर्थतन्त्रमध्ये सबैभन्दा उच्च वृद्धि भुटानको रहनेछ । यो वर्ष भुटानको गार्हस्थ्य वृद्धिदर ८ दशमलव ६ प्रतिशत रहनेछ भने आगामी वर्ष ८ दशमलव ५ रहने छ । भारतको जीडीपी वृद्धिद यो वर्ष ६ प्रतिशत र आगामी वर्ष ६ दशमलव ५ प्रतिशत रहने छ । आगामी वर्ष श्रीलङ्काले ७ प्रतिशतभन्दा बढी र बङ्गलादेशले ६ प्रतिशतको वृद्धिदर प्राप्त गर्ने प्रक्षेपण गरिएको छ । त्यस्तै, बढ्दो घरेलु माग र सुधारिएको निर्यातको बलमा विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको अर्थतन्त्रमा यो वर्ष ८ दशमलव २ र आगामी वर्ष ८ प्रतिशत रहने प्रतिवेदनले बताएको छ ।
एशियाका ५ प्रमुख क्षेत्रमध्ये पूर्वी एशियाको वृद्धिदर सबैभन्दा बढी रहेको छ भने आगामी वर्ष पनि त्यो उच्च नै रहने अनुमान एडीओले गरेको छ । सो क्षेत्रले चालू र आगामी वर्ष ७ दशमलव १ प्रतिशतको वृद्धिदर अनुभव गर्ने छ । एशिया महादेशका ४५ मुलुकलाई पूर्वीएशिया, मध्यएशिया, दक्षिण एशिया, दक्षिणपूर्वी एशिया र प्रशान्त गरी पाँच क्षेत्रमा विभाजन गरिएको छ । 

April 11, 2013 Published in Aarthik Abhiyan Daily

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...