Thursday, January 1, 2015

मुख्य आहारा बन्दै छ मासु

नेपालमा १० वर्षमा मोटोपना ६ गुणा बढ्यो

पुस २१, काठमाडौं । हाम्रो खानामा मासुको मात्रा बढ्दै गएको एक अन्तरराष्ट्रिय अध्ययनले देखाएको छ । ओभरसिज डेभलपमेण्ट इण्टरनेशनल (ओडीआई)का लागि शारदा किट्स र स्टिभ विग्गिन्सले तयार पारेको अध्ययन प्रतिवेदन ‘फ्युचर डाइट्स : इम्प्लिकेशन फर एग्रिकल्चर एण्ड फूड प्राइसेज’का अनुसार आगामी दिनमा हाम्रो आहारामा पशुपक्षीजन्य खाद्य उत्पादनको मात्रा बढ्नेछ । त्यसले भविष्यमा अन्नपातको तुलनामा मासुको मूल्य छिटोछिटो बढ्ने अध्ययनले देखाएको छ ।
खासगरी विकासशील मुलुकहरूमा मासुको उपभोगमा तीव्र वृद्धि भइरहेको प्रतिवेदनको निष्कर्ष छ । ‘बढ्दो आम्दानीले मानिस आफ्नो रुचिअनुसारको खाना छनोट गर्न सक्ने भएका छन् । त्यसमाथि आमसञ्चारमाध्यम र विज्ञापनको पनि बलियो प्रभावले सर्वसाधारणको खानाको प्रकार, बानी र शैलीमा ठूलो परिवर्तन आएको छ,’ प्रतिवेदनले भनेको छ,’ ‘विकासशील विश्वमा अन्नपात र फलफूलको तुलनामा मासु, बोसोयुक्त खाना र चिनीको उपभोग बढेको छ ।’ यसरी खाना र खाने बानीमा आएको परिवर्तनले मोटोपना र त्यससम्बन्धी रोगीको सङ्ख्या बढ्दै गएको छ । अहिले विश्वका हरेक तीनजनामध्ये एक (१ अर्ब ४६ करोड) जना औसत तौल (२५ बीएमआई–बडी मास इण्डेक्स)भन्दा मोटा रहेका छन् । प्रतिवेदनका अनुसार सन् १९८० देखि २००८ को अवधिमा विकासशील मुलुकहरूमा मोटाहरूको सङ्ख्या तीनगुणाले बढेर २५ करोडबाट ९० करोड ४० लाख पुगेको छ । विकसित मुलुकहरूमा भने मोटाहरूको सङ्ख्या १ दशमलव ७ गुणाले मात्र बढेको छ । कुल मोटामध्ये ५५ करोड ७० लाख विकसित मुलुकमा बस्छन् ।
नेपालको अवस्था झन् विकराल बन्दै गएको छ । सन् १९९६ देखि २००६ को दशकमा नेपालमा मोटाहरूको सङ्ख्या ६ गुणाले बढेको छ । सन् १९९६ मा जनसङ्ख्याको १ दशमलव ६ प्रतिशत रहेको मोटाहरूको सङ्ख्या १० वर्षपछि बढेर जनसङ्ख्याको १० प्रतिशत पुगेको थियो । निकट भविष्यमै सार्वजनिक हुने एक अर्को प्रतिवेदनले मोटोपनाको समस्या झन् बढ्दै गएको निष्कर्ष निकालेको छ । सो अध्ययनले नेपालमा मधुमेह, मुटुरोगजस्ता नसर्ने रोगका बिरामीको सङ्ख्या ८० प्रतिशत र सरुवा रोगका बिरामीको सङ्ख्या २० प्रतिशत मात्र रहेको देखाएको स्रोतको भनाइ छ ।
नेपालीको खाने बानीमा आएको तीव्र परिवर्तनले गम्भीर खालका स्वास्थ्य समस्या बढिरहेको वीर अस्पतालको मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी बताउँछन् । ‘पोषण कम र क्यालोरी बढी भएका खाना खाने, बिहान थोरै र साँझ बढी खाने, कार्बोहाइड्रेड धेरै भएका खाना खाने संस्कृति बढ्दै गएकाले मुटु तथा मधुमेहका रोगीको सङ्ख्या बढेको छ,’ उनले भने । अहिले शहरका धेरै मानिसमा देखिएको पेट ठूलो हुने (सेण्ट्रल अबेसिटी) पनि त्यसकै परिणाम भएको उनको भनाइ छ । यस्ता समस्यालाई सरकारी तहबाटै सम्बोधन हुनुपर्ने उनी बताउँछन् । त्यसका लागि मन्त्रालयमा नसर्ने रोगका लागि विशेष शाखा बनाउन, त्यससम्बन्धी नीति निर्माण गर्न र विद्यालयमा स्वस्थ जीवनशैलीबारे अध्यापन गराउन उनी सुझाव दिन्छन् ।
ओडीए प्रतिवेदनले मोटोपनको समस्या सबैभन्दा बढी उत्तर अमेरिका तथा उच्च आय भएका मुलुकहरूमा रहेको देखाएको छ । त्यसपछि यूरोप, ल्याटिन अमेरिका तथा मध्यपूर्वमा मोटाहरूको सङ्ख्या धेरै छ । ६४ प्रतिशत बेलायतीमा मोटोपनाको समस्या रहेको छ । दक्षिण एशियामा भने मोटाहरूको सङ्ख्या कम छ, साथै उनीहरूको सङ्ख्यामा वृद्धि पनि कमै भएको छ ।


January 6, 2014 Published in Aarthik Abhiyan Daily

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...