Thursday, January 1, 2015

इतिहासकै सर्वाधिक मतदान

- केही मतदान केन्द्रमा ९० प्रतिशतसम्म भोट खस्यो

- रोल्पाको थवाङमा शून्य मतदान, हुम्लाको देपालमा स्थगित


मङ्सिर ४, काठमाडौं । इतिहासकै सर्वाधिक मतदानका साथ संविधानसभाको निर्वाचन मङ्गलवार सम्पन्न भएको छ । राजनीतिक दलहरूबीच तीव्र मतभेद, चुनावको पूर्वसन्ध्यामा नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले गरेको यातायात बन्द र त्यसबीचमा बढेको हिंसाले पनि सर्वसाधारणलाई मतदानबाट रोक्न सकेन । विभिन्न बन्द र अवरोध छिचोल्दै गृह जिल्ला र गाउँ पुगेका मतदाताले उत्साहपूर्वक मतदान गरेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
निर्वाचनलाई उत्साहजनक र अभूतपूर्व भन्दै आयोगका प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले सरदरमा ७० प्रतिशतभन्दा बढी भोट खसेको बताए । ‘यो हाम्रो प्रारम्भिक अनुमान हो । मतदान प्रतिशत अझ बढ्न सक्छ,’ मङ्गलवार साँझ आयोगमा आयोजित विशेष पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भने । २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा चुनावमा ६३ दशमलव ३ प्रतिशत मतदान भएको थियो । जनआन्दोलनपछिको पहिलो निर्वाचन २०४८ मा ६८ प्रतिशत मत खसेको थियो भने २०५१ को मध्यावधि निर्वाचनमा ६२ र २०५६ को आमनिर्वाचनमा ६६ प्रतिशत मतदान भएको थियो । अघिल्लो संविधानसभा निर्वाचनको तुलनामा यसपटक मतदाता सङ्ख्यामा नै झण्डै ५५ लाखले कमी आएकाले मतदान प्रतिशत पनि बढेको हो । उप्रेतीका अनुसार यसपटकदेखि लागू गरिएको फोटोसहितको मतदाता नामावली र परिचयपत्रले निर्वाचनलाई बढी शुद्ध र सहज बनाउन भूमिका खेलेको हो । तर, माओवादी भने आफ्ना कार्यकर्ता र समर्थक तथा बहिष्कारवादी दलका समर्थकले मतदाता सूचीमा नाम नलेखाएकाले मतदाता कम भए र मतदान प्रतिशत बढी भएको बताएको छ ।
दोस्रो संविधानसभा चुनावमा सबैभन्दा बढी मत डोल्पामा खसेको छ । त्यहाँ ८३ प्रतिशत मत खसेको आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिए । त्यस्तै गोर्खा र रौतहटमा ८० प्रतिशत भोट खसेको छ । सबैभन्दा कम मतदान भएको रोल्पामा ५५ देखि ६० प्रतिशत भोट खसेको बताइएको छ । त्यहाँको थवाङमा शून्य मत खसेको छ । त्यहाँका तीन निर्वाचन केन्द्रमा खटिएका ७५ कर्मचारीले मात्र समानुपातिकमा भोट हालेका छन् । राजधानी काठमाडौंमा ६५ प्रतिशत मतदान भएको आयोगले जानकारी दिएको छ । भक्तपुरलगायत केही जिल्लाका कतिपय मतदान केन्द्रमा ९० प्रतिशतसम्म भोट खसेको छ । माओवादी अध्यक्ष मोहन वैद्यको गृहजिल्ला दाङमै ७५ प्रतिशतसम्म भोट खसेको त्यहाँस्थित हाम्रा संवाददाताले बताएका छन् । ‘यसले राजनीतिलाई ठीक ठाउँमा ल्याउन आमजनता आतुर छन् भन्ने सन्देश दिएको छ,’ उप्रेतीले भने । जुम्लाको देपालको एक केन्द्रमा मतदान स्थगित भएको छ भने रौतहटको पोठियाही, गोरखाको नागेश्वर, पर्वतको शङ्करपोखरी र हुम्लाको मालिका उच्च माविमा मतदान केही समय स्थगित भई पुनः सञ्चालन भएको राईले बताए । देपालमा मङ्सिर ७ गते पुनः मतदान हुने भएको छ ।
छिटपुटका केही झडप र अप्रिय घटनाबाहेक निर्वाचन शान्तिपूर्ण भएको आयोगको भनाइ छ । मतपेटिका सङ्कलन, मतगणना र परिणाम घोषणा पनि शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनेमा आफू आश्वस्त रहेको उप्रेतीले बताए । गोरखा, सर्लाही, पर्सालगायत जिल्लाका केही मतदान केन्द्रमा ठूला दलका कार्यकर्ताबीच झडप भएको थियो । पूर्वप्रधानमन्त्री तथा एमाओवादी नेता डा. बाबुराम भट्टराई उम्मेदवार रहेको गोरखाको क्षेत्र नं १ को निर्वाचनमा धाँधली भएको भन्दै काङ्ग्रेस र एमालेले निर्वाचन रद्द गर्न उजुरी दिएका छन् । निर्वाचनमा खटिएका ५७ पर्यवेक्षक संस्थामध्ये अधिकांशले मतदान निकै उत्साहपूर्ण र निर्वाचन निष्पक्ष भएको बताएका छन् । राजनीतिक निकास र आर्थिक विकासका लागि अपरिहार्य मानिएको संविधानसभा निर्वाचन बहिष्कार गरेको नेकपा–माओवादीको भने रणनीतिक पराजय भएको छ । तर, मङ्गलवार एक विज्ञप्ति जारी गर्दै उसले सम्पूर्ण राज्यशक्तिको दुरुपयोग गरी सम्पन्न भएको यो निर्वाचनले मुलुकलाई कुनै निकास दिन नसक्ने बताएको छ । तर, संवाद र सहमतिको बाटो खुला राख्दै उसले त्यसका लागि सरकार, राजनीतिक दल र नागरिक समाजसँग आग्रहसमेत गरेको छ ।
मङ्गलवारबाटै मतगणना शुरू
सुगम जिल्लाको मतगणना मङ्गलवार साँझबाटै शुरू हुने आयोगले जानकारी दिएको छ । बुधवार साँझसम्म केही ठाउँको नतीजा आइसक्ने उप्रेतीले बताए । कम्तीमा सात र बढीमा १० दिनभित्र सम्पूर्ण नतीजा आइसक्ने उनको भनाइ थियो । उपत्यकाका तीनै जिल्लाको मतगणना मङ्गलवार राति नै शुरू हुने भएको छ । काठमाडौंको बानेश्वर, भक्तपुरको शैक्षिक जनशक्ति विकास केन्द्र र ललितपुरको स्थानीय विकास प्रशिक्षण केन्द्रमा मतगणना भइरहेको छ ।

November 20, 2013 Published in Aarthik Abhiyan

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...