Thursday, January 1, 2015

नेपालको आर्थिक स्वतन्त्रता खुम्चियो



अर्थतन्त्र सरकारी खर्चमा निर्भर

पुस ३०, काठमाडौं । नेपालमा लगानी स्वतन्त्रताको स्थिति निकै दयनीय रहेको एक अन्तरराष्ट्रिय अध्ययनले देखाएको छ । मङ्गलवार सार्वजनिक विश्व आर्थिक स्वतन्त्रता परिसूचक २०१४ले नेपाललाई ५० दशमलव १ अङ्कसहित न्यून आर्थिक स्वतन्त्रता भएका मुलुकको कोटीमा राखेको छ । कुल १ सय पूर्णाङ्कमा मापन गरिने आर्थिक स्वतन्त्रतामा नेपालले गतवर्ष ५० दशमलव ५ अङ्क पाएको थियो । यसले सन् २०१२ भन्दा २०१३ मा नेपालको आर्थिक स्वतन्त्रता खुम्चिएको पुष्टि गरेको छ । सन् १९९६ मा परिसूचकमा समावेश भएयता नेपालको यो सबैभन्दा कमजोर प्रस्तुति हो । यसअघि सन् २०११ मा पनि नेपालले ५० दशमलव १ अङ्क प्राप्त गरेको थियो । यो अङ्क विश्वको औसत ६० दशमलव ३ भन्दा पनि धेरै कम हो । परिसूचकमा समावेश भएयता नै नेपाल विश्व औसतभन्दा निकै तल रहँदै आएको छ ।
परिसूचकमा समावेश १ सय ७८ मुलुकमध्ये नेपाल १ सय ४९ औं स्थानमा छ । दक्षिण एशियामा पनि नेपाल अन्तिममा छ । अफगानिस्तानलाई भने परिसूचकमा समावेश गरिएको छैन । दक्षिण एशियाबाट स्वतन्त्र श्रेणीमा पर्न सफल एकमात्र मुलुक श्रीलङ्का हो । श्रीलङ्का ६० अङ्कसहित ९०औं स्थानमा छ । परिसूचकले ६ मुलुकलाई पूर्ण स्वतन्त्र, २८ अधिकतम स्वतन्त्र, ५६ सामान्य स्वतन्त्र, ६१ न्यून स्वतन्त्र र २६ लाई स्वतन्त्रतारहित मानेको छ । खुलाबजारका मुख्य आयाम मानिएका व्यापार र लगानी स्वतन्त्रतामा नेपालको स्थिति संसारकै कमजोर देखिएको छ भने व्यापक भ्रष्टाचारका कारण विधिको शासनमा पनि कमजोर मानिएको छ । सरकारी खर्चमा ८९ दशमलव ६ अङ्कसहित नेपाल १३औं स्थानमा छ, जसले आर्थिक तथा व्यावसायिक गतिविधिहरूमा सरकारको भूमिका बढी भएको र अर्थतन्त्र सरकारमा बढी निर्भर रहेको पुष्टि गरेको छ । स्वतन्त्रता मापनका १० आयाममध्ये सरकारी खर्च तथा वित्तीय र मौद्रिक स्वतन्त्रतामा मात्र नेपाल विश्व औसतभन्दा माथि छ ।

लगानी स्वतन्त्रतामा विश्वमै कमजोर
विगत ६ वर्षमा नेपालमा लगानी स्वतन्त्रता निरन्तर ओरालो लागेको छ । विदेशी लगानीकर्ताहरूले झेल्नुपर्ने अनेकौं झमेलामा कमी आएको छैन भने आर्थिक वातावरण झन् बिग्रँदै गएको छ । त्यसमाथि कडा सरकारी प्रावधानहरू पूरा गर्नुपर्ने बाध्यताका कारण विदेशी लगानीकर्ताहरू नेपाल आउन हच्किएको एक अन्तरराष्ट्रिय प्रतिवेदनको निष्कर्ष छ । परिसूचकका अनुसार लगानीको वातावरणमा नेपालले कुल १ सयमा ५ अङ्क मात्र पाएको छ । त्यसले अध्ययनमा समावेश १ सय ७८ मुलुकमध्ये लगानी स्वतन्त्रतामा नेपाल १ सय ७४औं स्थानमा छ । सन् १९९६ देखि २००८ सम्म निरन्तर ३० अङ्क पाएको नेपालले सन् २०११ मा आउँदा ५ अङ्क मात्र पाउन सकेको थियो । यसले माओवादी भूमिगत हुँदाभन्दा शासनमा आएपछि लगानी स्वतन्त्रतामा थप सङ्कुचन आएको देखिएको छ ।


January 15, 2014 Published in Aarthik Abhiyan Daily

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...