Thursday, January 1, 2015

माग बढी, उत्पादन कम




तेह्रथुममा ३ हजार ढाका बुनकर 

चैत २, म्याङलुङ । नेपालकै अग्लो ह्याथ्रुङ झरना र २८ प्रजातिका लालीगुराँस फुल्ने जिल्ला तेह्रथुमको नयाँ पहिचान ढाका बनेको छ । परम्परागत रूपमा सञ्चालन हुँदै आएको ढाका उत्पादनले व्यावसायिक रूप लिँदै गएपछि अहिले व्यवसायीलाई माग पूरा गर्न हम्मेहम्मे परेको छ । मेशिनको प्रयोग नगरी ‘ह्याण्डलूम’बाट उत्पादन गरिने भएकाले यहाँको ढाकाको माग स्वदेश तथा विदेशमा बढ्दै गएको छ । ‘हातले बुनिएको र भुवा ननिस्कने भएकाले तेह्रथुमे ढाकाको माग बढ्दै गएको हो,’ तेह्रथुमे ढाका उद्यमी जिल्ला महासङ्घका अध्यक्ष रामसिंह आलेले भने । पाल्पाली ढाकाजस्तो यहाँको ढाका उल्टो हुँदैन, त्यसलाई दुवैतर्फबाट ओढ्न वा प्रयोग गर्न सकिन्छ । मेशिनको प्रयोग नभएकाले यहाँबाट उत्पादित कपडामा बुट्टा र रङ पनि फरकफरक हुन्छ । 

तेह्रथुमे ढाकाको गुणस्तर कायम गर्न हालै जिल्लाको सामूहिक ट्रेडमार्क ‘मेन्छ्यायम’ दर्ता गरिएको छ । मेन्छ्यायम म्याङलुङ बजार नजिकैको पहाडी शिखर हो । अहिले जिल्लाको ढाका सोही ट्रेडमार्कबाट बजारमा गइरहेको छ । तर, केही व्यापारीले बाहिरको कमसल ढाका ल्याई तेह्रथुमे भनेर बेच्ने गरेको महासङ्घका सचिव भीम विश्वकर्मा बताउँछन् । ‘यहाँका उत्पादनको गुणस्तरका लागि आचारसंहिता पनि बनाइएको छ । तर, नक्कलीका कारण जिल्लाका उत्पादनको साख गिर्ने हो कि भन्ने चिन्ता छ,’ विश्वकर्माले गुनासो गरे । त्यसो त ढाकाको बजार पहुँचका लागि ‘भ्यालु चेन’ बन्न सकेको छैन भने निर्यातका लागि उपयुक्त च्यानलको पनि विकास हुन सकेको छैन । त्यसका लागि सरकारबाट सहयोगको अपेक्षा गरेका व्यवसायीहरू निराश हुनुपरेको छ । विदेश कपडा पठाउने अधिकांश व्यवसायीले आफ्ना चिनजानका वा जिल्ला भ्रमणमा आएका विदेशी पर्यटकमार्फत उत्पादन विदेश पठाउने गरेका छन् । 

तर, ढाका उद्यमीहरूको उत्साह भने मरेको छैन । जिल्लाको ढाका व्यवसायको विस्तार तथा अभिवृद्धिका लागि २०६८ सालमा लघु उद्यम विकास कार्यक्रम (मेडेप) र घरेलु तथा साना उद्योग समितिको सहयोगमा उनीहरूले महासङ्घ स्थापना गरे । झण्डै ३ सय उद्यमी सदस्य रहेको महासङ्घमा दर्ता भएका तथा एकल दुवै प्रकारका उद्यमी आबद्ध छन् । महासङ्घ स्थापना भएपछि ट्रेडमार्क दर्ता तथा आचारसंहिता निर्माण गरिएको हो । साथै, तेह्रथुमे ढाकाको पहिचान र प्रवद्र्धनका लागि महासङ्घले वेबसाइट सञ्चालन गरेको छ । जिल्ला तथा राष्ट्रियस्तरमा आफ्ना माग अघि बढाउन लबिङ गर्न पनि व्यवसायीहरूलाई अहिले सजिलो भएको छ । मेडेपबाट निरन्तर तालीम तथा प्राविधिक सहयोग पाइरहेका यहाँका उद्यमीहरूलाई हालै मात्र घरेलु तथा साना उद्योग समिति तेह्रथुमले तीनमहीने ढाका उद्यमी तालीम सञ्चालन गरिरहेको छ । ‘साथै, विभिन्न मेला तथा प्रदर्शनीमा भाग लिन पनि हामीले उद्यमीहरूलाई प्रोत्साहित गरिरहेका छौं,’ समितिका वरिष्ठ उद्योग अधिकृत विजयकुमार भट्टराईले जानकारी दिए । 

ढाकाले स्थानीयलाई रोजगारीको गतिलो विकल्पसमेत दिएको छ । एक दर्जनभन्दा बढी ठूला ढाका कपडा उद्योग रहेको तेह्रथुममा ३ हजारभन्दा बढी ढाका उद्यमी तथा बुनकर रहेको विश्वकर्माको भनाइ छ । तीमध्ये अधिकांश महिला छन् । एउटा तानबाट ढाका बुन्न शुरू गरेकी म्याङ्लुङकी सृजना लिम्बूले अहिले १५ जनालाई रोजगारी दिएकी छन् । उनले ती १५ जनालाई तान पनि आफैले दिएकी हुन् । त्यस्तै, विष्णुमाया लिम्बूले तानमै खेलेर घरखर्च, आफ्ना तीन छोराको पढाइ खर्च गरेर पनि बजारमा आठ आना जग्गा जोड्न भ्याएकी छन् । मेडेपले जिल्लाका केही गाउँमा साझा सुविधा केन्द्र स्थापना गरी गरीबीको रेखामुनि रहेका जनतालाई ढाका बुन्ने अवसर पनि दिन लागेको छ । अहिले यहाँका ढाका उद्यमीहरू उत्पादनमा विविधताका लागि प्रयास गरिरहेका छन् ।

March 17, 2014 Published in Aarthik Abhiyan Daily

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...