Thursday, January 1, 2015

युवा उद्यमीका लागि अन्तरराष्ट्रिय मेण्टरिङ


असार १३, काठमाडौं ।
भर्खरै व्यवसाय शुरू गरेका वा त्यसका लागि तयारी गरिरहेका युवा उद्यमीका लागि विश्वस्तरीय ‘ई–कोचिङ (तालीम) कार्यक्रम’ सञ्चालन भइरहेको छ । संयुक्त राष्ट्रसङ्घ (यूएन), अन्तरराष्ट्रिय श्रम सङ्गठन र विश्व बैङ्कको अन्तरएजेन्सी कार्यक्रम ‘युथ इम्प्लोयमेण्ट नेटवर्क (वाईईएन)’ले सञ्चालन गर्ने सो ई–कोचिङमा नेपाली युवा उद्यमी पनि सहभागी हुनसक्ने छन् । ३ देखि १२ महीने अवधिको सो तालीम १६ देखि ३५ वर्षे युवाका लागि निःशुल्क उपलब्ध हुनेछ । उनीहरूलाई तालीमप्राप्त ई–प्रशिक्षकहरूले मार्गदर्शन गर्ने बताइएको छ । तालीम अङ्ग्रेजीका साथै फ्रेञ्च र स्पेनिश भाषामा पनि लिन सकिने वाईईएनले जानकारी दिएको छ । ई–कोचिङ सन् २०१२ को मेमा शुरू भएको हो ।
तालीममा सहभागी हुन चाहने युवाले ‘वाईईएनमार्केटप्लेस डट ओआरजी’मा गई आफूलाई दर्ता गर्नुपर्नेछ । र, त्यसपछि त्यही वेबसाइटमा ई–कोचिङ ट्याबमा गई ई–कोचिङका लागि आवेदन दिन सकिनेछ । त्यहाँ आवेदन दिनेमध्ये छानिएका केहीलाई मात्र यस्तो कोचिङ र मेण्टरिङ उपलब्ध हुनेछ ।  युवा उद्यमीले आफ्ना लागि आवश्यक भाषा, क्षेत्रलगायतको आधारमा उपयुक्त मेण्टर आफै छान्न सक्ने व्यवस्था गरिएको छ । तालीमको मुख्य माध्यम ई–मेल र स्काइप हुने बताइएको छ । त्यसैले उद्यमीसँग कम्प्युटर, उच्च गतिको इण्टरनेट तथा वेब क्यामेरा हुनु जरुरी छ । वाईईएनले आवेदक उद्यमी र सम्भावित ई–प्रशिक्षकका लागि विशेष खालको अनलाइन मेण्टरिङ तालीम दिएपछि मात्र ई–कोचिङ शुरू हुन्छ ।
युवा उद्यमीलाई व्यवसायविज्ञहरूसँग प्रत्यक्ष सम्पर्क बनाउन मद्दत गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको वाईईएनको भनाइ छ । युवा उद्यमीलाई सम्बन्धित व्यवसायकै विज्ञहरूले सहयोग गर्नेछन् । ‘आफ्नै बलबुतामा व्यवसाय शुरू गर्न चाहने युवामा उच्च आकाङ्क्षा हुने भए पनि अनुभवको कमीले गर्दा त्यसमा आशातीत सफलता नमिल्न सक्छ,’ वाईईएनले भनेको छ, ‘यो कार्यक्रमले उनीहरूको विचार तथा योजना सुनेर सल्लाह दिनेमात्र होइन, अप्ठ्यारो अवस्थामा सहयोग पनि गर्नेछ ।’ यसका साथै उद्यमीबीच विचार तथा ज्ञान आदानप्रदान, व्यवसायका लागि आवश्यक वित्तीय सहयोगलगायतमा सहयोग पुर्‍याउने लक्ष्य कार्यक्रमले लिएको छ । उनीहरूले आफ्नो मेण्टरबाहेकका उद्यमीव्यवसायी तथा अन्य व्यक्तिहरूबाट पनि सहयोग लिन सक्नेछन् । यसले युवालाई व्यवसायका लागि आवश्यक शीप तथा ज्ञान प्रदान गरी व्यावसायिक मनोबल बढाउने आईएलओले बताएको छ । वाईईएनमार्केटप्लेसमा क्यालेण्डर, डकुमेण्ट, ब्लग, टास्क म्यानेजर र फोरमको पनि सुविधा छ ।
ई–तालीमका लागि हरेक अङ्ग्रेजी महीनाको पहिलो सोमवारसम्म आवेदन दिन पाउने व्यवस्था वाईईएनले गरेको छ । त्यसअनुसार आगामी जुलाईका लागि असार १७ गतेसम्म आवेदन दिन सकिने छ । वाईईएनले ई–प्रशिक्षक बन्न इच्छुक उद्यमी तथा विज्ञहरूबाट पनि आवेदन मागेको छ । कार्यक्रमलाई यूएन भोलुण्टियर्स, जेसिज, म्यानेजमेण्ट मेण्टर्सलगायत विभिन्न मुलुकका उद्यमशीलता विकाससँग सम्बन्धित संस्थाहरूले सहयोग गरेका छन् ।

June 28, 2013 Published in Aarthik Abhiyan

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...