Thursday, January 1, 2015

व्यावसायिक आचारसंहिता बन्दै


चैत २२, काठमाडौं ।
नेपालमा सञ्चालित उद्योग तथा व्यवसायलाई बढी जिम्मेवार र मर्यादित बनाउन बृहत् आचारसंहिता निर्माण गरिने भएको छ । राष्ट्रिय व्यावसायिक पहल (एनबीआई)ले ४ महीनाअघि घोषणा गरेको आचारसंहिता परियोजनाले व्यावसायिक क्षेत्रले पालना गर्नैपर्ने मुख्य ‘एथिकल’ अभ्यासको पहिचान र घोषणा गर्ने योजनाअनुसार काम गरिरहेको छ । ‘जिम्मेवार तथा प्रतिबद्ध व्यवसायको वातावरण निर्माण गर्न एनबीआईले यो परियोजना थालेको हो,’ परियोजनाका संयोजक सरोजप्रसाद पाण्डेले अभियानसँग भने । 
हालसम्म केही व्यावसायिक सङ्घसंस्थाले ‘कोड अफ कण्डक्ट’ बनाए पनि त्यसको उचित पालना भएको छैन भने धेरै वर्षपहिले बनेका आचारसंहिताहरू बदलिँदो प्रविधि र व्यावसायिक शैलीका कारण अनुपयुक्त हुँदै गएका छन् । त्यसैले, ती कमीकमजोरीलाई सम्बोधन गर्न र राष्ट्रिय रूपमै आचारसंहिता पालनलाई प्रोत्साहन गर्ने वातावरण बनाउन परियोजना थालिएको पाण्डेले बताए । नेपाल उद्योग वाणिज्य महासङ्घ, ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल, होटल सङ्घ, वैदेशिक रोजगार व्यवसायी सङ्घलगायतले यसअघि नै आआप्mना क्षेत्रका लागि आचारसहिंता बनाए पनि त्यो प्रभावकारी हुन नसकेको व्यवसायीहरूको भनाइ छ । ‘आचारसंहिता बनेर मात्र हुँदैन, त्यसको कार्यान्वयन ठूलो कुरा हो,’ नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरज वैद्यले भने, ‘अहिलेसम्म बनेका आचारसंहिताको पालना भएको भए पनि अवस्था अर्कै हुने थियो ।’ 
आगामी २ वर्षमा पहिलो चरणको काम सक्ने गरी काम अघि बढिरहेको परियोजनामा चार चरण हुनेछन् । पहिलो चरणमा ‘बेसलाइन सर्भे’ गरिनेछ । त्यसपछि सर्भेको नतीजाका आधारमा आचारसंहिता बनाई त्यसको घोषणा गर्ने, त्यसलाई कार्यान्यवयनमा लैजान सम्बन्धित सरोकारवालाहरूसँग छलफल गरिने र अन्त्यमा आचारसंहितालाई कार्यान्वयनमा लैजाने कार्यक्रम रहेका छन् । 
अहिले पहिलो चरणको काम तीव्र गतिमा अघि बढिरहेको एनबीआईका प्रोजेक्ट अफिसर मोनिष वज्राचार्यले जानकारी दिए । शुरूमा ४० व्यावसायिक सङ्घहरूको पहिचान गरी सर्वेक्षणको काम अगाडि बढाइएको थियो । ‘हालसम्म २१ सङ्घहरूसँग परामर्श गरी उत्कृष्ट व्यावसायिक अभ्यास, उनीहरूले अपनाएका मापदण्ड र सुधार र सहकार्यका सम्भावित क्षेत्रहरूको पहिचान गरिएको छ,’ पाण्डेले भने, ‘त्यसैगरी १ सय व्यवसायीसँग छलफल गरेका छौं ।’ आचारसंहितालाई प्रभावकारी बनाउन एनबीआईले मुुलुकको कानूनी ढाँचाको अध्ययन, उपभोक्ता अधिकारकर्मीहरूसँग छलफल, व्यवसायीहरूसँग सर्वेक्षणलगायत काम गरिसकेको छ । 
‘हामी आचारसंहितामात्र होइन, असल व्यावसायिक अभ्यास गर्ने कम्पनीहरूलाई पुरस्कृत र दोषीलाई दण्ड दिने मापदण्ड पनि बनाउनेछौं,’ पाण्डेले भने । आचारसंहिता निर्माणका लागि नेपाली व्यावसायिक सङ्घसङ्गठनदेखि एथिक्स इन्ष्टिच्युट अफ साउथ अफ्रिकाजस्ता संस्थाहरूका ‘कोड अफ कण्डक्ट’को अध्ययन गरिएको एनबीआईले जानकारी दिएको छ । आन्तरिक स्रोत र साधनबाटै अगाडि बढिरहेको एनबीआईको यो आचारसंहिता परियोजनाले बिस्तारै व्यवसायीको विश्वास आर्जन गर्दै गएको छ । ‘उद्योगी–व्यवसायीहरू खुलेर छलफल तथा कुरा गर्न थालेका छन् । यो ठूलो उपलब्धि हो,’ नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका निवर्तमान अध्यक्षसमेत रहेका पाण्डेले भने । उनका अनुसार जिम्मेवार व्यवसायका लागि पारदर्शिता र उपभोक्तासँगको अन्तरक्रिया आधारभूत कुरा हुन् ।
यसैबीच बिहीवार एनबीआई सचिवालयमा बसेको सरोकारवालाहरूको बैठकले ६ ओटा व्यावसायिक क्षेत्रलाई प्राथमिकतामा राखी अध्ययन र आचारसंहिता निर्माणको काम अघि बढाउने निर्णय गरेको छ । एनबीआई अध्यक्ष पद्मज्योतिको सभापतित्वमा बसेको बैठकले क्षेत्र छनोटलाई अन्तिम रूप दिएको बताइएको छ । 

April 4, 2013 Published in Aarthik Abhiyan Daily

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...