Thursday, January 1, 2015

अलोकतान्त्रिक एमाओवादी

काङ्ग्रेस, एमाले र कार्टरद्वारा परिणाम स्वीकार्न आग्रह
  
मङ्सिर ६, काठमाडौं । मुलुकभर जारी मतगणना बहिष्कार गरेर एमाओवादीले अलोकतान्त्रिक तथा गैरजिम्मेवार चरित्र देखाएको छ । निर्वाचन सम्पन्न हुने बेलासम्म चुनाव अत्यन्तै मर्यादित, शान्तिपूर्ण र उत्साहजनक भएको वक्तव्य दिइरहेको एमाओवादी उच्च नेतृत्वले बिहीवार बिहान पत्रकार सम्मेलन गरी अपेक्षाअनुरूप मतगणना प्रक्रिया अघि नबढेको आरोप लगाउँदै मतगणना स्थगित गर्न माग गरेको थियो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी उसले निर्वाचन प्रक्रिया स्थगन गरी त्यसको पुनरवलोकन गर्न र निष्पक्ष छानबिन गर्न माग गरेको छ । त्यसो नभए आफूलाई निर्वाचनको नतिजा स्वीकार्य नहुने र आफ्नो पार्टी संविधानसभामा सहभागी नहुने चेतावनी उसले दिएको छ । पार्टीको विज्ञप्ति आएसँगै मतगणना केन्द्रमा रहेका एमाओवादी प्रतिनिधिहरू त्यहाँबाट बाहिरिएका थिए ।
एमाओवादीको यस्तो कदमले उसले लोकतन्त्रका आधारभूत मान्यता आत्मसात् गर्न नसकेको देखिएको छ । गएका ५ वर्षको संसदीय तथा प्रजातान्त्रिक अभ्यासले पनि उसमा लोकतान्त्रिक जग बस्न सकेको रहेनछ । अझ मतगणना शुरू हुँदासम्म निर्वाचन प्रक्रियाको मुक्तकण्ठले प्रशंसा गरिरहेको एमाओवादीले आफ्नो लज्जास्पद हारको सङ्केत देखेपछि नयाँ निहुँको बखेडा झिकेको हो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा चर्चित नेताहरू देवेन्द्र पौडेल, वर्षमान पुन, हिसिला यमी, नन्दकिशोर पुन, लीलामणि पोखरेललगायत निकटतम प्रतिद्वन्द्वी पनि बन्ने सङ्केत नदेखिएपछि एमाओवादी तिलमिलाएको स्पष्ट छ । यसरी आफूले जिते स्वच्छ भन्नु र आफू हारे धाँधलीपूर्ण निर्वाचनको आरोप लगाउनुले उसले लोकतन्त्रप्रतिको निष्ठा र जनमतको सम्मान गर्दैन भन्ने सन्देश दिएको छ । अझ हालै एमाओवादी प्रवेश गरेका पूर्वएमाले नेता रामचन्द्र झाले आफ्नो दललाई हराउन देशीविदेशी शक्तिले षड्यन्त्र गरेको जस्तो हास्यास्पद अभिव्यक्तिसमेत दिन भ्याएका छन् ।
निर्वाचन र बालिग मताधिकार प्रजातन्त्रको सौन्दर्य हो । हो, चुनाव जित्नकै लागि लडिन्छ, तर त्यसरी चुनावमा भिड्नेसँग हार स्वीकार गर्न सक्ने साहस पनि हुनुपर्छ । गत संविधानसभा निर्वाचनमा अकल्पनीय पराजय भोगेका नेकपा (एमाले) र नेपाली काङ्ग्रेसले आफ्नो हार स्वीकार गर्दै जनतालाई धन्यवाद दिएका थिए । २०३७ सालको जनमतसङ्ग्रह र २०६४ सालको संविधानसभा निर्वाचनमा हारेपछि काङ्ग्रेसले पार्टी हारे पनि देश हार्नु हुँदैन भन्ने कुरालाई सहज रूपमा लिएको थियो । एमाले अध्यक्ष माधवकुमार नेपालले आफ्नो दलको पराजयको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए । प्रचण्डले पनि अहिले त्यस्तै सदाशयता तथा महानता देखाउन सक्नुपर्‍थ्यो । त्यसले उनको र एमाओवादीको कद कदापि सानो हुने थिएन बरु बढ्ने थियो । अघिल्लो चुनावमा नराम्रोसँग हारेका माधवकुमार नेपाल र बामदेव गौतमले यसपटक जितिसकेका छन् भने कृष्णप्रसाद सिटौलालगायत जिततर्फ अघि बढिरहेका छन् । त्यसबाट पनि एमाओवादी नेताहरूले पाठ सिक्नु जरुरी छ । हुन त यसअघि पनि आफूअनुकूल वातावरण तथा निर्णय नहुँदा एमाओवादीले द्वैध चरित्र देखाउँदै आएको छ । एमाओवादीको मतगणना बहिष्कारको निर्णयको चौतर्फी आलोचना भएको छ । काङ्ग्रेसले बुधवारै एक पत्रकार सम्मेलन गरी एमाओवादीले मतगणना बहिष्कार गरेर जनतालाई अपमानित गरेको बताएको छ । ‘सम्पन्न निर्वाचनको मतगणना भई प्रारम्भिक परिणाम आउन थालेपछि गएको मध्यराति एमाओवादीले हठात् र रहस्यमय ढङ्गले आफ्ना प्रतिनिधि फिर्ता बोलाई मतगणना बहिष्कार गरेर जनतालाई अपमानित गरेको छ,’ काङ्ग्रेसले भनेको छ । काङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलले समग्र निर्वाचन प्रक्रियालाई पुनरवलोकन गर्नुपर्ने भनी एमाओवादीले राखेको मागलाई अस्वीकार गरेका छन् ।
त्यसैगरी, एमालेले मतगणना बहिष्कार गर्ने एमाओवादीको निर्णयलाई ‘हतास’ मानसिकताको संज्ञा दिँदै निर्णय फिर्ता लिन आग्रह गरेको छ । ‘राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यवेक्षकद्वारा निर्वाचन शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित तरीकाले सम्पन्न भएको तथ्य सार्वजनिक भइरहेको र स्वयम् एमाओवादीका अध्यक्ष प्रचण्डले मतदान सम्पन्न भएलगत्तै निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न भएको वक्तव्यसमेत जारी गरिसकेको परिप्रेक्ष्यमा अचानक मतगणना प्रक्रिया बहिष्कार गर्ने, संविधानसभामा सहभागी नहुनेजस्तो जनमतलाई अपमानित गर्ने गलत निर्णय भएको छ,’ एमाले अध्यक्ष झलनाथ खनालले एक विज्ञप्ति जारी गर्दै भनेका छन् ।
यसैबीच, पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरले एमाओवादीलाई संविधानसभा निर्वाचनको परिणाम स्वीकार्न आग्रह गरेका छन् । प्रचण्डजस्तो नेतामा धैर्यता हुनुपर्ने र यस्तो रवैयाले उनलाई कमजोर र उनको दललाई अलोकप्रिय बनाउने काङ्ग्रेस सभापति सुशील कोइरालाको टिप्पणी छ । केही साना दलले पनि एमाओवादीलाई जनादेश स्वीकार्न आग्रह गरेका छन् ।


November 22, 2013 Published in Aarthik Abhiyan

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...