Thursday, January 1, 2015

साउनदेखि एकल कोष प्रणाली


विश्वकै नमूनामध्येको एक : उपमहालेखा नियन्त्रक

जेठ १८, काठमाडौं ।
सरकारी आम्दानी खर्चको पारदर्शी व्यवस्थापनका लागि अपनाइएको एकल कोष प्रणाली (ट्रेजरी सिङ्गल एकाउण्ट – टीएसए) आगामी आर्थिक वर्षदेखि पचहत्तरै जिल्लामा लागू हुने भएको छ । २०६७ सालमा नमूना परीक्षणका रूपमा भक्तपुर र ललितपुरबाट शुरू भएको यो प्रणाली हालसम्म ६० जिल्लामा लागू गरिसकिएको छ । आगामी साउन १ गतेदेखि बाँकी १५ जिल्लामा पनि लागू भएपछि मुलुकभर सरकारले गर्ने राजस्व सङ्कलन र खर्चको पारदर्शी विवरण उपलब्ध हुने छ । हालसम्म मुलुकको ९५ प्रतिशत खर्च र ९७ प्रतिशत राजस्व सङ्कलन टीएसएमा समेटिसकिएको उपमहालेखा नियन्त्रक बाबुराम सुवेदीले अभियानलाई बताए ।
‘टीएसएले पचहत्तरै जिल्लामा हरेक दिन सङ्कलन हुने राजस्व र सम्पूर्ण सरकारी निकायले गर्ने खर्चको ‘रियल टाइम’ जानकारी दिन्छ,’ सुवेदीले भने । यसमार्फत जिल्ला, विषय वा क्षेत्र तथा निकायअनुसारका आम्दानी खर्चको विवरण पनि हेर्न सकिन्छ । एक क्लिकको भरमा दिनभरिको आम्दानी र खर्चको विवरण हेर्न सकिने भएकाले टीएसए ‘प्रि–अडिट’जस्तै हो । यसरी हरेक दिन ‘ट्रेजरी’को अवस्थाको जानकारी हुने भएपछि रकम निष्क्रिय रहँदैन । त्यसलाई सरकारले आवश्यक क्षेत्रमा पठाउन वा प्रयोग गर्न सक्छ । त्यसरी गर्ने हरेक खर्च पारदर्शी हुन्छ । ‘टीएसएले वित्तीय निर्णयहरू लिन सहयोग गर्छ । हरेक दिन हुने आम्दानी र खर्चको जानकारी हुने भएपछि त्यसका आधारमा सरकारले सही निर्णय लिन सक्छ,’ महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता अर्जुन पोखरेलले भने । यसले राज्यले बैङ्कलाई तिर्नुपर्ने कमिशन पनि जोगाउँछ । गत आर्थिक वर्ष टीएसएकै कारण राष्ट्र बैङ्कलाई कमिशनबापत तिर्नुपर्ने २० करोड रुपैयाँ जोगिएको कार्यालय बताउँछ ।
नेपालको टीएसए विश्वकै नमूनामध्ये एक बनेको छ । गत डिसेम्बरमा अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ)को नेतृत्वमा नेपाल आएको मिशनले नेपालको टीएसए कार्यान्वयन प्रक्रिया उत्कृष्ट (आउटष्ट्याण्डिङ) रहेको प्रतिवेदन दिएको थियो ।
यो समय, लागत र गतिका हिसाबले नमूना बनेको सुवेदीले बताए । ‘कम समय, तुलनात्मक रूपमा न्यून लागत र द्रुत रूपमा भइरहेको कामले हामीलाई नमूना बनाएको हो,’ उनले भने । धेरै खातालाई जोड्नुपर्ने भएकाले सरकारले त्यसका लागि विशेषखालको एकाउण्टिङ सफ्टवेयर निर्माण गरिरहेको छ ।
सरकारले प्रारम्भिक तयारी गरेपछि विश्व बैङ्कको नेतृत्वमा ‘मल्टी डोनर ट्रष्ट फण्ड’ले टीएसएका लागि नेपाललाई आर्थिक सहयोग उपलब्ध गराएको थियो । टीएसए हाल कार्यान्वयन भइरहेको ‘सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरण’को एक अङ्ग हो ।
कार्यक्रममा सार्वजनिक वित्तीय लेखामान तथा सार्वजनिक खर्च तथा वित्तीय जवाफदेहिता (पेफा) पनि समावेश छन् । टीएसएका आ–आफ्नै प्रारूप भए पनि दक्षिण एशियामा श्रीलङ्काको खाता प्रणालीलाई उत्कृष्ट मानिन्छ ।
टीएसए के हो ?
ट्रेजरी सिङ्गल एकाउण्ट (टीएसए) सरकारी नगद स्रोतहरूका बारेमा एकीकृत जानकारी दिने बैङ्क खाताहरूको संयुक्त संरचना हो । यो प्रणाली लागू भएपछि सरकारले गर्ने सम्पूर्ण खर्च निश्चित बैङ्क खाताबाट मात्र गर्नुपर्ने हुन्छ जसले गर्दा हरेक दिन सरकारसँग कति नगद मौज्दात छ भन्ने कुराको जानकारी लिन सकिन्छ । यसले सार्वजनिक कोषको प्रभावकारी र सहज व्यवस्थापन तथा नियन्त्रणमा मद्दत पुर्‍याउँछ । यो प्रणालीले कुनै सरकारी निकाय खर्चविना त्यसै बस्ने अथवा ऋण लिएर काम गर्नुपर्ने र कुनै निकाय वा संस्थामा भने नगद थुप्रिएर बस्ने अवस्थाको अन्त्य गर्न सहयोग गर्छ ।

June 2, 2013 Published in Aarthik Abhiyan

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...