Thursday, January 1, 2015

आर्थिक वृद्धिदर लक्ष्यभन्दा कम



आव २०७२/७३ मा मात्र ५ प्रतिशतको वृद्धि : विश्व बैङ्क

माघ १, काठमाडौं । नेपालले लक्ष्यअनुरूपको आर्थिक वृद्धि नभेट्ने देखिएको छ । विश्व बैङ्कले बुधवार सार्वजनिक गरेको विश्व आर्थिक परिदृश्यले आगामी केही वर्षसम्म नै नेपालको आर्थिक वृद्धि सरकारले लिएको लक्ष्यभन्दा कम हुने प्रक्षेपण गरेको छ । उक्त प्रक्षेपणअनुसार चालू आर्थिक वर्ष २०७०/७१ मा नेपालले प्रचलित मूल्यमा ३ दशमलव ८ प्रतिशतको वृद्धि प्राप्त गर्नेछ । यो वृद्धिदर गत आवमा नेपालले प्राप्त गरेको ३ दशमलव ६ भन्दा केही बढी भए पनि चालू त्रिवर्षीय योजनाले लिएको लक्ष्यभन्दा निकै कम हो ।
सन् २०२२ सम्ममा नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी)बाट विकासशीलमा ‘ग्य्राजुएट’ गर्ने योजना बनाएको सरकारले चालू आवसहित आगामी २ वर्षसम्म ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ । त्यसका लागि कृषिक्षेत्रको वार्षिक औसत वृद्धिदर ४ दशमलव ५ र गैरकृषिक्षेत्रको वृद्धिदर ६ दशमलव ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिइएको तेह्रौं योजना (आव २०७०/७१–२०७२/७३)को आधारपत्रमा उल्लेख छ । तर, आगामी आवमा नेपालको वृद्धिदर ४ दशमलव ४ प्रतिशत र आव २०७२/७३ मा ५ दशमलव २ प्रतिशतमात्र रहने बैङ्कको प्रक्षेपण छ । एशियाली विकास बैङ्कले पनि चालू आवमा नेपालले अधिकतम ४ दशमलव २ प्रतिशतको वृद्धि प्राप्त गर्ने प्रक्षेपण गरेको थियो । यसले सरकारको आर्थिक वृद्धिदरको लक्ष्य आधारहीन र भेट्नै नसकिने रहेको सङ्केत गरेको छ । गएको १ दशकमा नेपालको औसत वृद्धिदर ४ प्रतिशतभन्दा माथि गएको छैन ।
विश्व बैङ्कको प्रतिवेदनअनुसार गतवर्षको तुलनामा चालू आवमा भारत र भुटानको आर्थिक वृद्धिदरमा सुधार आउनेछ । भारतको गत वर्षको वृद्धिदर ४ दशमलव ८ प्रतिशत रहेकोमा यो वर्ष ६ दशमलव २ प्रतिशतमा पुग्ने छ भने भुटान पनि गतवर्षको ७ दशमलव ६ प्रतिशतबाट ८ दशमलव १ प्रतिशतको वृद्धिदरमा हिँड्ने अनुमान गरिएको छ । बङ्गलादेश र पाकिस्तानको वृद्धिदर भने ओरालो लाग्ने प्रक्षेपण गरिएको छ । बङ्गलादेशको वृद्धिदरमा ३० आधारविन्दुले कमी आई ५ दशमलव ७ प्रतिशत र पाकिस्तानको वृद्धिमा २० आधारविन्दुले कमी आई ३ दशमलव ४ प्रतिशत पुग्ने प्रक्षेपण छ ।
गतवर्षको तुलनामा यो वर्ष विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ३ दशमलव २ प्रतिशतले बढ्ने विश्व बैङ्कको प्रक्षेपण छ । गतवर्ष विश्वको आर्थिक वृद्धिदर २ दशमलव ४ प्रतिशत थियो । बैङ्कका अनुसार चालू वर्षमा विकासशील मुलुकहरूले औसतमा ५ दशमलव ३ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्नेछन् । गतवर्ष विकासशील अर्थतन्त्रको वृद्धिदर ४ दशमलव ८ प्रतिशत थियो । विकसित मुलुकहरूमा यो वर्ष अर्थतन्त्र थप मजबुत हुने भएकाले त्यसले विकासशील मुलुकको आर्थिक वृद्धिमा पनि सकारात्मक प्रभाव पार्ने विश्व बैङ्कको भनाइ छ । ‘तर, गरीबी निवारणलाई गति दिन, वित्तीय प्रणालीलाई थप मजबुत बनाउन र सामाजिक सुरक्षाका कार्यक्रमहरू बढाउनका लागि विकासशील मुलुकहरूले संरचनागत सुधार प्रक्रिया थाल्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ ।


January 16, 2014 Published in Aarthik Abhiyan

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...