Thursday, January 1, 2015

१२ वर्षमा दक्षिण एशियाको उच्च उपलब्धि


मानव विकास प्रतिवेदन भन्छ

१२ वर्षमा दक्षिण एशियाको उच्च उपलब्धि 


नेपाल जहाँको तही



विश्व मानव विकास प्रतिवेदन २०१३ ले नेपालको अवस्था जस्ताको तस्तै रहेको देखाएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडीपी)ले बिहीवार राति मेक्सिकोको राजधानी मेक्सिको सिटीमा सार्वजनिक गरेको सो प्रतिवेदनले नेपाल गतवर्षकै १ सय ५७ औं स्थानमा यथावत् रहेको देखाएको हो । गएको वर्ष नेपालको मानव विकास परिसूचक (एचडीआई) शून्य दशमलव ४५८ रहेकोमा यस वर्ष शून्य दशमलव ४६३ पुगेको छ । नेपालको अङ्क सबैभन्दा कम मानवीय विकास भएका मुलुकहरूको औसतभन्दा पनि कम छ भने दक्षिण एशियाको औसतभन्दा अत्यन्तै थोरै हो । दक्षिण एशियाको औसत सूचक शून्य दशमलव ५५८ रहेको प्रतिवेदनमा उल्लेख छ । एचडीआई १ पूर्णाङ्कमा मापन गरिन्छ ।
प्रतिवेदनअनुसार नेपालको औसत आयु र आयबाहेकको एचडीआईमा न्यून सुधार भएको छ भने प्रतिव्यक्ति आय २३ अमेरिकी डलरले घटेको छ । शिक्षा, स्वास्थ्य र जीवनस्तर गरी तीन आयामको आधारमा एचडीआई मापन गरिन्छ, जसअन्तर्गत औसत आयु, औसत स्कूलिङ वर्ष, अपेक्षित स्कूलिङ वर्ष र प्रतिव्यक्ति कुल राष्ट्रिय आय गरी चार परिसूचकहरू रहेका छन् । नेपालको औसत स्कूलिङ वर्ष भने यथावत् रहेको छ । तर, विगत दुई दशकमा नेपाल बिस्तारै प्रगतिको बाटोमा लम्किरहेको तथ्याङ्कले देखाएको छ । त्यसबेला शून्य दशमलव ३४० रहेको नेपालको एचडीआई अङ्क शून्य दशमलव ४५८ पुगेको छ । सन् १९९० मा नेपालीको औसत आयु ५४ वर्ष थियो, जुन अहिले बढेर ६९ दशमलव १ वर्ष पुगेको छ भने प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन ७ सय ४० डलरबाट बढेर १ हजार १ सय ३७ डलर पुगेको छ ।

‘दक्षिणको उदय : विविधतापूर्ण संसारमा मानवीय प्रगति’ नाम दिइएको प्रतिवेदनले दक्षिणी मुलुकहरू तीव्ररूपमा नयाँ शक्तिको रूपमा उदाउँदै गएको बताएको छ । त्यसै गरी दक्षिण एशियाले गएको दशकमा उच्च उपलब्धि हासिल गरेको छ । यस क्षेत्रले एचडीआईमा १ दशमलव ४३ प्रतिशतको वृद्धि गरेको छ, जुन सम्पूर्ण क्षेत्रमध्ये सबैभन्दा बढी हो ।




को कहाँ ? 


सूचकले अतिउच्च, उच्च, मध्यम र कम मानव विकास भएका गरी चार वर्गमा विश्वका मुलुकहरूलाई विभाजन गर्ने गरेको छ । त्यसमध्ये अतिउच्च, उच्च र मध्यममा ४७÷४७ र कम मानव विकास भएकामा ४६ मुलुक छन् । सन् २००७ देखि २०१० सम्म अति उच्च वर्गलाई विकसित र पछिल्ला तीन वर्गलाई विकासशील मुलुकका रूपमा परिभाषित गरिन्थ्यो । सन् २०१० देखि मानव विकास प्रतिवेदनका लागि नयाँ विधि अपनाइएको हो । सन् २०१० सम्म मुलुकहरूलाई प्रतिव्यक्ति क्रयशक्तिमा आधारित कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को आधारमा वर्गीकरण गर्दै आएकोमा त्यसपछि प्रतिव्यक्ति क्रयशक्तिमा आधारित कुल राष्ट्रिय आयको प्रयोग गर्न थालिएको हो ।

सूचकले दक्षिण एशियाली मुलुकमध्ये श्रीलङ्कालाई उच्च मानव विकास भएका मुलुकको श्रेणीमा राखेको छ । झण्डै ९८ प्रतिशत साक्षरता भएको श्रीलङ्का शून्य दशमलव ७१५ अङ्कका साथ सूचकको ९२ औं स्थानमा छ भने माल्दिभ्स १ सय ४ औंमा छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का अन्य सदस्य राष्ट्रहरुमा भारत १ सय ३४ औं र भुटान १ सय ४० औं स्थानमा रहँदै मध्यम मानव विकास भएका मुलुकहरूमध्ये झण्डै अन्तिमतिर
रहेका छन् ।

दक्षिण एशियाबाट नेपाल, बङ्गलादेश, पाकिस्तान र अफगानिस्तान कम मानव विकास भएका मुलुकहरूमा परेका छन् । प्रतिवेदनले समान अङ्क शून्य दशमलव ५१५ अङ्क प्राप्त गरेका बङ्गलादेशलाई १४६ र पाकिस्तानलाई १४७ मा राखेको छ । अफगानिस्तान १७५औं स्थानमा छ । गएको १२ वर्षमा दक्षिण एशियाले उल्लेख्य उपलब्धि हासिल गरेको प्रतिवेदनले बताएको छ ।

प्रतिवेदनमा यूरोपेली मुलुक नर्वे शून्य दशमलव ९५५ अङ्कसहित पहिलो स्थानमा छ । त्यसपछि क्रमशः अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, नेदरल्याण्ड्स, जर्मनी, न्यूजील्याण्ड, आयरल्याण्ड र स्वीडेन रहेका छन् । शून्य दशमलव ९१२ अङ्कका साथ एशियाली मुलुक जापान १०औं स्थानमा रहेको छ । दक्षिण कोरिया १२, हङकङ १३, बेलायत २६ र मलेशिया ६४ औं स्थानमा रहेका छन् । ब्राजिल ८५ औं स्थानमा छ भने चीन १ सय १ औंमा छ ।

सुक्खाग्रस्त अफ्रिकी मुलुक नाइजर र द्वन्द्वग्रस्त प्रजातान्त्रिक गणतन्त्र कङ्गो सूचीको अन्तिम स्थानमा छन् । यद्यपि, सन् २००० पछि ती मुलुकले आशालाग्दो प्रगति गरेको प्रतिवेदनमा उल्लेख छ । दुवै मुलुकको अङ्क शून्य दशमलव ३०४ रहेको छ । गएको दशकमा वार्षिक २ प्रतिशतभन्दा बढी प्रगति गर्ने १४ कम विकसित मुलुक रहेका छन् । अफगानिस्तान, सियरालियोन, इथियोपिया, पूर्वी टिमोर, म्यानमार, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, नाइजर त्यस सूचीका केही मुलुक हुन् । विकसित मुलुकहरूमा हङकङ, लात्भिया, दक्षिण कोरिया, सिङ्गापुर, अल्जेरिया, इरान, भेनेजुएला, क्युबा आदिले उच्च सुधार गरेको प्रतिवेदनले बताएको छ ।


दक्षिणको उदय
‘दक्षिणको उदय : विविधतापूर्ण संसारमा मानवीय प्रगति’ नाम दिइएको नयाँ मानव विकास प्रतिवेदनले विश्वमा तीव्र रूपमा नयाँ शक्तिको उदय भएको बताएको छ । दक्षिणी विकासशील मुलुकहरू विश्व नयाँ शक्तिका रूपमा उदाउने भन्दै प्रतिवेदनले विश्वव्यापी शक्ति सन्तुलनमा नै उल्लेख्य परिवर्तन आउने निष्कर्ष दिएको छ । गएको १० वर्षमा कम्तीमा पनि ४० विकासशील मुलुकले सोचेभन्दा निकै राम्रो प्रगति गरेका छन् । प्रतिवेदनले उनीहरूको प्रगतिको कारण र परिणाम तथा आगामी दशकमा उनीहरूले सामना गर्नुपर्ने चुनौतीको समेत विश्लेषण गरेको छ । विश्वव्यापी शासन प्रणालीमा दक्षिणी विकासशील मुलुकहरूलाई अझ राम्रो प्रतिनिधित्व गर्न सुझाएको छ भने आधारभूत वस्तुका लागि आफ्नै क्षेत्रबाट लगानी जुटाउन सक्नेतर्फ पनि औंल्याएको छ ।

सन् १९९० मा विश्वको आर्थिक उत्पादनको एक तिहाइ हिस्सा ओगटेका दक्षिणी मुलुकहरूको त्यो हिस्सा हाल ५० प्रतिशतको हाराहारीमा पुगेको छ । दक्षिण अमेरिकामा आयको असमानता कम हुँदै गएको छ भने विकासशील मुलुकहरूले आफु आफु बीच गर्ने व्यापारको मात्रा बढ्दै गएको छ र आगामी दिनमा त्यो अझ बढ्ने प्रक्षेपण गरिएको छ । सन् २०१२ को अनुमानित तथ्याङ्कमा आधारित सूचकमा विश्वका १ सय ८५ मुलुकका साथै चीनको स्वशासित क्षेत्र हङकङ र प्यालेष्टाइन पनि समावेश छन् । तथ्याङ्क अभावका कारण संयुक्त राष्ट्र सङ्घका ८ सदस्य मुलुकलाई भने सूचकमा सामेल गरिएको छैन ।


डेढ अर्ब गरीब

बहुआयामिक गरीबी सूचक (एमपीआई)ले १ सय ४ मुलुकका १ अर्ब ५६ करोड जनता गरीबीमा बाँचिरहेको देखाएको छ । सबैभन्दा बढी ‘एमपीआई गरीबी’ भएका मुलुकहरूमा इथियोपिया (८७ प्रतिशत), लाइबेरिया (८४ प्रतिशत), मोजाम्बिक (७९ प्रतिशत) र सियरालियोन (७७ प्रतिशत) रहेका छन् । तर, सबैभन्दा एमपीआई गरीबी दक्षिण एशियामा रहेको प्रतिवेदनको निष्कर्ष छ, जसमध्ये ६१ करोड २० लाख भारतमा मात्रै रहेका छन् ।

त्यसैगरी, प्रतिवेदनले विश्वको जनसङ्ख्या र रोजगारीको औसत अनुपात ६५ दशमलव ८ प्रतिशत रहेको बताएको छ । अरब क्षेत्रमा यस्तो अनुपात सबैभन्दा कम ५२ दशमलव ६ प्रतिशत छ । पूर्वी एशिया तथा प्रशान्त क्षेत्रमा जनसङ्ख्या र रोजगारीको अनुपात विश्वकै सबैभन्दा बढी ७४ दशमलव ५ प्रतिशत छ ।


के हो एचडीआई ?

मानव विकास परिसूचक (एचडीआई) विश्वका मुलुकहरूबीचको औसत आयु, साक्षरता, शिक्षा, जीवनस्तरको तुलनात्मक अध्ययन हो । यसकै आधारमा विश्वका विकसित, विकासशील र कम विकसित मुलुकहरूको पहिचान हुन्छ । साथै, यसले कुनै पनि मुलुकले अपनाएको आर्थिक नीतिले सर्वसाधारणको जीवनमा पारेको प्रभावको पनि मापन गर्छ । एचडीआई भारतीय तथा पाकिस्तानी अर्थशास्त्रीद्वय अमत्र्य सेन र महबुब उल हकले सन् १९९० मा विकसित गरेका हुन् ।

सन् १९९० देखि निरन्तर रूपमा प्रकाशित हुँदै आएको मानव विकास प्रतिवेदन सन् २०१२ मा प्रकाशित भएन । तर, बिहीवार मेक्सिकोमा प्रकाशित प्रतिवेदन गतवर्षको तथ्याङ्कमै आधारित रहेको यूएनडीपीले बताएको छ ।

March 16, 2013 Published in Aarthik Abhiyan Daily

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...