Thursday, January 1, 2015

जीडीपी तथ्याङ्क अब त्रैमासिक रूपमा


चालू आवको पहिलो दुई त्रैमासको जीडीपीको तथ्याङ्क आउने

वैशाख ३, काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले अब त्रैमासिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) तथ्याङ्क सार्वजनिक गर्ने भएको छ । यही वैशाखको दोस्रो साता पहिलापटक त्रैमासिक जीडीपी सार्वजनिक गर्ने जानकारी विभागले दिएको छ ।
सन् २००८ मा एशियाली विकास बैङ्क (एडीबी)को प्राविधिक सहयोगमा शुरू भएको परियोजनाअन्तर्गत त्रैमासिक जीडीपीको गणना थालिएको थियो । सन् २०१० को अक्टोबरसम्ममा त्रैमासिक गणना गर्ने भनिए पनि परियोजना अवधि दुईपटक थप गरी २०११ अगस्त पुर्‍याइएको थियो । तर, त्यो समेत गरी ५ वर्षभन्दा बढी समयपछि विभागले गणना सार्वजनिक गर्न लागेको हो ।
‘समयमै तथ्याङ्क नआउने र सरकारले पनि त्रैमासिक रूपमा तथ्याङ्क अद्यावधिक नगर्नेलगायत कारणले समयमै गणना सार्वजनिक गर्न नसकिएको हो,’ विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले भने । उनका अनुसार आन्तरिक तयारीका लागि पनि विभागले थप समय लिएको हो । अहिले अधिकांश सरकारी तथ्याङ्क त्रैमासिक रूपमा विभागमा आउन थालेको उनले बताए । तर, कृषिलगायत केही क्षेत्रको तथ्याङ्क सङ्कलनको विधिमा भने सुधार गर्नु आवश्यक देखिएको उनको भनाइ छ ।
यसपालि विभागले चालू आर्थिक वर्षको पहिलो दुई त्रैमासको जीडीपी सार्वजनिक गर्दै छ । वार्षिकभन्दा त्रैमासिक तथ्याङ्कले अर्थतन्त्रको व्यावसायिक चक्रको वास्तविक गणना गर्न सकिने भएकाले त्रैमासिक जीडीपी गणना नीति निर्माणका लागि अत्यन्तै महŒवपूर्ण मानिने निर्देशक भण्डारीले बताए । यसका साथै वर्षको कुन त्रैमासमा अर्थतन्त्रमा मन्दी आउँछ वा अर्थतन्त्र गतिशील हुन्छ भन्ने जान्न र गरीबीको अनुगमन गर्न पनि त्रैमासिक जीडीपीले सहयोग पुर्‍याउँछ । दक्षिण एशियाका अधिकांश मुलुकमा त्रैमासिक जीडीपी गणना प्रचलनमा आइसकेको छ ।
राष्ट्र बैङ्क, मन्त्रालयलगायत विभिन्न सरोकारवाला निकायबाट तथ्याङ्क लिएर जीडीपीको अनुमान गर्दै आएको विभागसँग त्यसको त्रैमासिक गणना गर्ने साधन र जनशक्ति थिएन । त्यही सन्दर्भमा सन् २००८ मा नेपाल भ्रमणमा आएको एडीबीको टोलीसँग सरकारले राष्ट्रिय लेखाको त्रैमासिक गणनाको सम्भावना पत्ता लगाई त्रैमासिक राष्ट्रिय लेखाको विकास गर्ने कार्ययोजना बनाउन अनुरोध गरेको थियो । सोही वर्ष जुलाईमा विभिन्न सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरी एडीबीले समष्टिगत आर्थिक विश्लेषणमा नेपालको क्षमता बढाउन प्राविधिक सहयोगको ढाँचा निर्माण गरेको थियो । नेपाललाई अनुदानस्वरूप दिइएको सो प्राविधिक सहयोग एडीबीको विशेष कोषको लगानीमा निर्माण गरिएको थियो ।

ट्राभल, ट्रेकिङ र र्‍याफ्टिङ कम्पनीको जीडीपीमा योगदान गणना शुरू

वैशाख ३, काठमाडौं (अस) । केन्द्रीय तथ्याङ्क विभागले ट्राभल, ट्रेकिङ र र्‍याफ्टिङ कम्पनीहरूले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा दिएको योगदानको गणना थालेको छ । यसअघि सन् २००४/०५ मा यी क्षेत्रको अध्ययन गरिएको थियो । ‘तर, त्यसबेला यी क्षेत्रले जीडीपीमा दिएको योगदानको खाका मात्र निकालिएको थियो । यसपालि ती क्षेत्रका कम्पनीमा लगानीको अवस्था, सृजना भएको रोजगारी र उनीहरूले बुझाउने करको पनि गणना हुनेछ,’ विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । यसले विश्वव्यापी प्रतिस्पर्धामा नेपाली कम्पनीहरू कहाँ छन् भन्ने बुझ्न पनि सहयोग मिल्नेछ । हाल नेपालमा १ हजार ८ सय ट्राभल तथा टूर्स, १ हजार २ सय ट्रेकिङ र ५५ र्‍याफ्टिङ कम्पनी सञ्चालनमा छन् । तीमध्ये अधिकांश काठमाडौंमा छन् भने केही पोखरा, चितवन, नेपालगञ्ज र विराटनगरमा छन् । बाँकी स्थानमा यस्ता कम्पनीको उपस्थिति नगण्य छ । गणनामा र्‍याफ्टिङ कम्पनी सबै समावेश हुनेछन् भने ट्राभल तथा ट्रेकिङबाट १०/१० प्रतिशत कम्पनी लिइने विभागअन्तर्गतको प्रतिष्ठान गणना तथा सर्वेक्षण शाखाका निर्देशक अनिल शर्माले जानकारी दिए । दर्ता भएका कम्पनीको सङ्ख्या धेरै भए पनि पछिल्लो ५ वर्षमा नवीकरण भएका कम्पनीहरूलाई मात्र गणनामा समावेश गरिने उनको भनाइ छ । त्यस्तै कुनै जिल्लामा तीनभन्दा कम कम्पनी भए सबै समावेश हुनेछन् । विभागले २ हप्ता अघिदेखि गणना शुरू गरिसकेको छ । ‘यो वर्ष तथ्याङ्क सङ्कलन गरी आगामी वर्ष नतीजा सार्वजनिक गरिनेछ,’ शर्माले भने ।

April 17, 2014 Published in Aarthik Abhiyan

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...