Thursday, January 1, 2015

नेपालको बैङ्किङ उदीयमान उद्योग हो



श्रीराम रामनारायण
कण्ट्री हेड, फाइनान्सियल मार्केट्स, भारत थम्सन रोयटर्स


गतमहीनादेखि थम्सन रोयटर्सको फरेन एक्सचेञ्ज डिलिङ प्लेटफर्म औपचारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ । विदेशी मुद्रा कारोबार गर्नका लागि उपयोगी यो प्रविधि सँगै नेपाली मुद्राको कारोबार पनि अन्तरराष्ट्रिय बजारमा गर्न सकिने सम्भावना बढेको छ । ‘कष्टमाइज्ड हार्डवेयर’का साथ आएको यो नयाँ प्रविधिले मुद्राको कारोबारलाई अझ सहज, सरल र पारदर्शी बनाउने विश्वास गरिएको छ । यसै सिलसिलामा नेपाल आएका थम्सन रोयटर्सअन्तर्गतको फाइनान्सियल मार्केटका लागि दक्षिण एशिया प्रमुख श्रीराम रामनारायणसँग अभियानले प्लेटफर्म तथा नेपाली बैङ्किङ क्षेत्रबारे कुरा गरेको थियो । यसअघि रोयटर्समा जोखिम व्यवस्थापन प्रमुख, सनगार्डमा एशिया प्यासिफिकका लागि क्षेत्रीय सेल्स डाइरेक्टर र थम्सन रोयटर्समा बिजनेश म्यानेजरको जिम्मेवारी बहन गरिसकेका रामनारायणसँग आर्थिक अभियानका मोदनाथ ढकाल र यज्ञ बञ्जाडेले गरेको कुराकानीको सार :

 थम्सन रोयटर्स फरेन एक्सचेञ्ज डिलिङ प्लेटफर्म के हो ? 
थम्सन रोयटर्स फरेन एक्सचेञ्ज डिलिङ प्लेटफर्म एउटा विद्युतीय प्लेटफर्म हो, जसबाट विश्वभरका बैङ्कहरूले विदेशी मुद्राको कारोबार गर्न सक्छन् । यसले कार्यकुशलता, पारदर्शिता, अटोमेशन र कम्प्लायन्स बढाउन मद्दत गर्छ । यी चार कुराले कसरी बजारलाई प्रभावित गर्छन् त ? यसले मुलुक तथा बैङ्कहरूबीच विदेशी मुद्राको कारोबार गर्दा सहज रूपमा मूल्य पत्ता लगाउन सहयोग गर्छ । सामान्य बजारमा तपाईंले बैङ्क तथा विदेशी मुद्राको कारोबार गर्ने संस्थाहरूसँग मूल्य सोधिरहनुपर्ने वा अनुमानका भरमा कारोबार गर्नुपर्ने झन्झट हुन्छ । तर, यो डिलिङ प्लेटफर्ममा धेरै बैङ्क मुद्रा किनबेचका लागि सहभागी भइरहेका हुन्छन् । उनीहरूले आफुले बेच्ने र किन्ने रकम पनि खुलाउँछन् । यसले कारोबारलाई बढी पारदर्शी बनाउँछ । ‘म्यानुअल्ली’ दुई/तीन बैङ्कलाई मात्र सोध्दा आफुले चाहेको मूल्य नपाउने सम्भावना हुन्छ । तर, यो प्लेटफर्मको प्रयोग गरिसकेपछि एकैपटक विश्वभरका बैङ्कहरूको ‘अफर रेट’ थाहा पाउन सकिन्छ । यो प्रविधिमा रहेको अटोमेशनको सुविधाले तपाईंले गरेका हरेक कारोबारको रेकर्ड तपाईंको ‘ब्याक अफिस’मा सुरक्षित राखिदिन्छ । अहिले विश्वका अधिकांश ठूला बैङ्कहरूले यस्तो प्रक्रिया अपनाइरहेका छन्, जसले उनीहरूलाई जोखिमबाट बच्न मद्दत गर्छ । हरेक कारोबार मानिसको हातले नछोइकन होस् भन्ने बैङ्कहरू चाहन्छन् । आगामी २ वा ३ महीनामा हामी फ्रण्ट अफिसदेखि ब्याक अफिसबीचको तत्काल सम्बन्ध स्थापना गरी बैङ्कमा पर्याप्त तरलता भए नभएको थाहा पाउन सकिने प्रविधि पनि थप्नेछौं । हालै मात्र नेपालको केन्द्रीय बैङ्कले यहाँका बैङ्कहरूलाई कोर बैङ्किङ प्रणाली (सीबीएस) अपनाउन निर्देशन दिइसकेको छ । त्यसैले त्यो सुविधा बैङ्कहरूका लागि थप उपयोगी हुन्छ भन्नेमा हामी ढुक्क छौं । अहिले नेपालको सम्पूर्ण बैङ्किङ क्षेत्र विद्युतीकरणमा तीव्र रूपमा अगाडि बढिरहेको छ । 

दक्षिण एशियाका अन्य मुलुकहरूको तुलनामा नेपालको बैङ्किङ क्षेत्रलाई कसरी हेर्नुभएको छ ? 
मेरो अनुभवमा नेपालको बैङ्किङ उदीयमान उद्योग हो, जसको तीव्र गतिमा विकास भइरहेको छ । नेपालका वित्तीय क्षेत्रले आगामी ५/६ वर्षसम्म सफलताको छलाङ मार्नेछ । त्यो सबैभन्दा मुख्य कुरा हो । दक्षिण तथा दक्षिण पूर्वी एशिया र विश्वका अन्य क्षेत्रमा डिलिङ सिष्टम विगत एक दशकदेखि प्रयोगमा आइराखेको छ । यो वर्ष हामीले ती सबै डिलिङ सिष्टमलाई नियामक निकायको नीतिनियमअनुरूपको बनाएका छौं । हामीले सफ्टवेयर र हार्डवेयरमा ठूलो लगानी गरेका छौं । नेपालमा हामीले नयाँ प्रणाली इन्ष्टल गरेका छौं, जुन यसअघिको सिष्टममा छैन । नेपालको लागि त्यो ठूलो फाइदाको कुरा हो । अब नेपालले आफुले चाहेको बजारमा आफ्नो मुद्रा बेच्नका लागि अफर गर्न सक्छ । 

के त्यसो भए अब नेपाली मुद्राको कारोबार विश्वव्यापी रूपमा हुन्छ त ?
मेरो विचारमा भोलि नै नेपाली मुद्राको कारोबार विश्वव्यापी हुन्छ भन्नु गलत हुनेछ । कुरा के हो भने, जब बैङ्कहरूले यो ट्रेडिङ सिष्टमको प्रयोग गर्नेछन्, उनीहरूको तरलतामा वृद्धि हुनेछ । जब तरलतामा वृद्धि हुन्छ अनि मुद्राको कारोबारको मात्रा बढ्नेछ । र, कारोबारको मात्रा बढ्दै गएपछि मात्र अन्तरराष्ट्रिय बैङ्कहरूको दृष्टिमा नेपाली मुद्रा पर्नेछ । अनिमात्र उनीहरूले त्यसको कारोबार थाल्नका लागि मुद्राको सीमा घोषणा गर्नेछन् । अहिले स्ट्याण्डर्ड चार्टर्ड बैङ्क नेपालले नेपाली बैङ्कहरूका लागि आफ्नो सीमा घोषणा गरी त्यसको शुरुआत गरिसकेको छ । अहिले त स्ट्याण्डर्ड चार्टर्ड बैङ्क नेपालले मात्र त्यसको घोषणा गरेको छ । भोलि भारत, सिङ्गापुरलगायतका स्ट्याण्डर्ड चार्टर्डले पनि नेपाली मुद्राको कारोबार थाले भने विस्तारै नेपाली मुद्रा अन्तरराष्ट्रिय बजारमा प्रवेश गर्नेछ । 

यदि अन्तरराष्ट्रिय बजारमा नेपाली मुद्राको कारोबार शुरू भयो भने त्यसबाट नेपाललाई के फाइदा होला ?
विस्तारै खुला हुँदै गइरहेको अर्थतन्त्रलाई त्यसले थप गति प्रदान गर्नेछ । त्यसले नेपालको अन्तरराष्ट्रिय व्यापार तथा अन्य कारोबारमा पनि सहजता ल्याउनेछ । 

त्यसो भए यसले व्यापारीहरूलाई विशेष लाभ पुर्‍याउने देखियो, हैन त ? 
हो, सबैभन्दा पहिले फाइदा पाउने भनेका व्यापारी र बैङ्कहरू नै हुन् । किन कि अब उनीहरूले कुशल, पारदर्शी र अटोमेटेड डिलिङ प्लेटफर्मको सहयोग पाउने छन् । यो प्लेटफर्मको सहयोगले उनीहरूले दुई मिनेटमा कारोबार खोल्ने, खरीद गर्ने, बन्द गर्नेलगायतका काम गर्न सक्नेछन् । र, यसमा अर्को मान्छेले के भन्ला भन्ने चिन्ता पनि लिनु पर्दैन । सबै कारोबार अनलाइनमार्फत हुन्छ । 

तपाईंले पटकपटक प्लेटफर्मले बजारलाई पारदर्शी बनाउछ भनिरहनुभएको छ ? त्यसो भन्नुका आधार के के हुन् ? 
विनाभेदभाव सबैलाई सूचना उपलब्ध हुनु पारदर्शिताको पहिलो आधार हो । उदाहरणका लागि एउटा बैङ्कले एकैसाथ प्लेटफर्ममा उपस्थित सबै कम्पनीसँग आफुले चाहेको दरबारे सूचना प्रवाह गर्न र हासिल गर्न सक्छ । यसमा कसैले ‘प्राइस म्यानिपुलेट’ गर्ने सम्भावना निकै कम हुन्छ । 

यो प्लेटफर्म कत्तिको प्रयोगकर्तामैत्री छ ? 
बेसरी प्रयोगकर्तामैत्री छ । यो भाषागत रूपमा पनि निकै संवेदनशील छ । उदाहरणका लागि तपाईं ५ मिलियन डलर किन्न चाहनुहुन्छ भने तपाईंले ‘आई बाई फाइभ मिलियन डलर्स’ र कुन बैङ्कबाट किन्ने हो त्यसको नाम टाइप गरे पुग्छ । यसका साथै प्लेटफर्मले सोही कारोबारका लागि विशेष रूपले बनाइएको ‘कष्टमाइज्ड हार्डवेयर’ उपलब्ध गराउँछ । त्यसैले तपाईंले ‘सेल’ वा ‘बाई’ मात्र टाइप गरेर कारोबार गर्न सक्नुहुन्छ । त्यसले प्रयोगकर्तालाई विनाकुनै झन्झट सरल रूपमा कारोबार गर्न सक्ने बनाउँछ । तपाईंले त्यसका लागि कुनै प्राविधिक शब्दावली अथवा जार्गन सिक्नु पनि पर्दैन । 

यो प्लेटफर्मको सदस्यता लिएका बैङ्कहरूले उनीहरूका लागि आवश्यक अन्य सूचना लिन सक्ने सुविधा पनि पाउनेछन् कि ? 
नेपालको ३२ ओटै वाणिज्य बैङ्कले रोयटर्सको सूचना टर्मिनल सब्सक्राइब गरिसकेका छन् । यसले विश्वव्यापी रूपमा बैङ्कहरूका लागि आवश्यक सूचना तत्काल लिन सहयोग गर्दछ । तत्कालै भन्नुको मतलव कुनै मुद्राको दर परिवर्तन हुनासाथ त्यसलाई सूचना टर्मिनलमा अपडेट गरिन्छ । विदेशी मुद्रा विनिमय, धितोपत्र, कमोडिटिज, विश्व बजारका सेन्सेक्समा आएको परिवर्तन र खाद्यवस्तुको मूल्यमा आएको परिवर्तनलगायत सयौं शीर्षकमा आएका उतारचढावको सूचना टर्मिनलले दिन्छ । त्यसका साथै विभिन्न मुलुकका केन्द्रीय बैङ्कको नीति परिवर्तनका साथै जी ट्वाण्टीलगायत समूहरूका निर्णयजस्ता सयौं सूचना पनि हामी उपलब्ध गराउँछौं । रोयटर्सले तपाईंलाई सूचनाको अथाह सागरमा लैजान्छ । तपाईंलाई स्थानीय र विश्व बजारमा कारोबार गर्नका लागि निर्णय लिन सघाउने सूचना यसले उपलब्ध गराउँछ । रोयटर्स आइकन भनिने सो प्लेटफर्म विगत ११ वर्षदेखि नेपाली बजारमा प्रयोग भइरहेको छ । 

डिलिङ प्लेटफर्मको सदस्यता नलिएका बैङ्कहरू पनि यसबाट लाभान्वित हुने सम्भावना छ ? 
प्रत्यक्ष रूपमा त उनीहरूले त्यसको फाइदा लिन सक्ने छैनन् । तर, अप्रत्यक्ष रूपमा भने केही फाइदा पक्कै हुनेछ । तर, हामीलाई के विश्वास छ भने छिट्टै सम्पूर्ण बैङ्क प्लेटफर्मको सदस्य बन्नेछन् । 

April 28, 2013 Published in Aarthik Abhiyan

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...