Thursday, January 1, 2015

सुध्रिँदै अर्थतन्त्र


ब्याजदर स्प्रेडमा सीमा नतोक : विश्व बैङ्क

चैत २६, काठमाडौं । विश्व बैङ्कले नेपाली अर्थतन्त्र सुधारको बाटोमा अघि बढेको बताएको छ । सन् २०१३ मा ३ दशमलव ६ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गरेको नेपालले यो वर्ष ४ दशमलव ५ प्रतिशतको वृद्धि भेट्टाउने उसको भनाइ छ । खासगरी अनुकूल मनसुनका कारण कृषिक्षेत्रमा उल्लेख्य सुधार हुने र स्थिर सरकार बनेकाले पूँजीगत खर्च बढ्ने सङ्केत देखिएकाले अर्थतन्त्रले सुधारको गति लिने विश्व बैङ्कले बताएको छ । बैङ्कले बुधवार सार्वजनिक गरेको ‘साउथ एशिया इकोनोमिक फोकस २०१४’ प्रतिवेदनले नेपालको सेवा क्षेत्रमा अझ सुधार हुने उल्लेख गरेको छ । प्रतिवेदनका अनुसार बढ्दो विप्रेषण आप्रवाहले सेवा क्षेत्रको विस्तारमा थप सहयोग गर्ने छ । 

एशियाली विकास बैङ्कले पनि २ हप्ताअघि सन् २०१४ मा नेपालले ४ दशमलव ५ प्रतिशत र २०१५ मा ४ दशमलव ७ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त गर्ने प्रक्षेपण गरेको थियो । सरकारले सन् २०२२ सम्ममा नेपाललाई अतिकम विकसित मुलुकबाट विकासशीलमा स्तरोन्नति गर्ने लक्ष्य लिएको छ, जसका लागि आगामी ३ वर्षमा मुुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशतमा पुर्‍याउनु पर्नेछ । वित्तीय बचत हुनेमा नेपाल दक्षिण एशियामै एक्लो मुलुक भएको भन्दै त्यसरी बचत हुने बजेट खर्च गर्ने वातावरण मिलाई सरकारी लगानी र पूर्वाधार विकासलाई गति दिन प्रतिवेदनले सुझाएको छ । साथै, निजी लगानी आकर्षित गर्न व्यवसायमैत्री वातावरण र लगानीका गन्तव्यमा पूर्वाधार निर्माण दुई अत्यावश्यक तत्व रहेको उसको भनाइ छ ।

संविधानसभाको सफल निर्वाचनले निजीक्षेत्रलाई सबल बनाउन उपयुक्त आर्थिक नीति निर्माणको सम्भावना बलियो बनेको प्रतिवेदनले बताएको छ । चालू आर्थिक वर्ष २०७०/७१ को पहिलो ६ महीनामा सरकारले राजस्व सङ्कलन बढी र खर्च कम गरेको छ ।

यसरी पूँजीगत परियोजनामा कम खर्च हुनु चिन्ताजनक भएको भन्दै बजेट कार्यान्वयन प्रक्रियामा सुधार आवश्यक रहेको औंल्याएको छ । प्रतिवेदनका अनुसार बजेट योजना, तर्जुमा र कार्यान्वयनका क्षेत्रमा संरचनागत कुशलताको ठूलो कमी रहेका कारण नेपालले अपेक्षाअनुरूपको पूँजीगत खर्च गर्न नसकेको हो । अर्कातर्फ चालू आवको पहिलो ६ महीनामा ९ दशमलव ७ प्रतिशत महँगी बढेकोमा त्यो अझै बढ्न सक्ने विश्व बैङ्कको अनुमान छ । 

प्रतिवेदनले नेपाल राष्ट्र बैङ्कलाई ब्याजदर स्प्रेडमा सीमा नतोक्न पनि सुझाव दिएको छ । यो खुलाबजार अर्थतन्त्रको तथा बैङ्ककै कतिपय नीति र उद्देश्यविपरीत भएको विश्व बैङ्कका एक अधिकारीले बताए । ब्याजदरमा स्प्रड तोक्दा साना बैङ्कको वृद्धिमा समस्या पर्ने उनको भनाइ थियो । नेपालले दुविधापूर्ण मौद्रिक नीति अपनाएको तथा सुस्त आर्थिक वृद्धि र उच्च मूल्यवृद्धि चुनौतीपूर्ण रहेको प्रतिवेदनको निष्कर्ष छ । त्यस्तै, विप्रेषणका कारण बढेको तरलताको समस्याको रणनीतिक समाधान गर्न मौद्रिक नीतिका उद्देश्यहरू प्रस्ट पार्न उपलब्ध उपकरणहरूलाई सबल बनाउन प्रतिवेदनले सुझाव दिएको छ । 


April 10, 2014 Published in Aarthik Abhiyan

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...