Thursday, January 1, 2015

भिसाविनै ३८ मुलुकको भ्रमण


पुस ९, काठमाडौं । कुनै पनि नेपालीले भारतबाहेक तेस्रो मुलुक जानुपर्‍यो भने धेरैलाई भिसा लिने समस्याले सताउँछ । अझ नेपालमा राजदूतावास तथा कूटनीतिक नियोग नभएका मुलुकमा जानुपर्‍यो भने त झन् अप्ठ्यारो स्थिति भोग्नुपरेका उदाहरण प्रशस्तै छन् । घुम्न जानेलाई भन्दा पनि व्यावसायिक यात्रा तथा जागीरको सिलसिलामा तत्काल जानुपर्ने व्यक्तिहरूले त्यस्तो अवस्थामा झनै सास्ती झेल्नुपर्छ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष पशुपति मुरारका भन्छन्, ‘नेपालमा दूतावास नभएकाले कतिपटक कोलम्बो र नयाँ दिल्लीबाट भिसा लिनुपरेको छ । त्यसका लागि समय पनि धेरै लाग्छ ।’

तर, तपाईंहरूमध्ये धेरैलाई थाहा नहुन सक्छ, नेपाली नागरिक भिसाविनै ३८ ओटा मुलुकको भ्रमणमा जान सक्छन् । तर, त्यसका लागि तपाईंसँग कम्तीमा ६ महीनाको अवधि भएको पासपोर्ट भने हुनुपर्ने छ । छिमेकी मुलुक भारतका लागि भने तपाईंको नागरिकता मात्रै भए पनि पुग्छ, पासपोर्ट नै चाहिँदैन । नेपाल–भारतबीच भएको सन् १९५० को सन्धिले भारतमा नेपालीले स्वतन्त्ररूपमा काम गर्न र आवतजावत गर्न पाउने व्यवस्था गरेको छ । 

बाँकी ३७ मुलुकमा ‘अन अराइभल’ भिसाको सुविधा छ । अर्थात् तपाईं त्यहाँको विमानस्थलमा रहेको अध्यागमन कार्यालयमै गएर कम्तीमा ३० दिनका लागि प्रवेशाज्ञा पाउन सक्नुहुन्छ । बोलिभिया, केन्या, मालावी, मोरिसस, ताञ्जानियाजस्ता मुलुकले नेपालीका लागि ९० दिनको ‘अन अराइभल’ भिसा दिने गरेका छन् । मेक्सिकोले भने सबैभन्दा बढी १ सय ८० दिन अर्थात् ६ महीनाको भिसा दिने व्यवस्था गरेको छ । सबैभन्दा कम समयावधिको प्रवेशाज्ञा दिनेमा टोगो रहेको छ । टोगोले दिने ‘अन अराइभल’ भिसा जम्मा १ साताको हुन्छ । कम्बोडिया, माल्दिभ्स, फिलिपिन्सलगायत मुलुकले नेपालीलाई ३० दिने ‘अन अराइभल’ भिसा दिने गरेका छन् । पछिल्ला वर्षहरूमा फिलिपिन्स चिकित्साशास्त्र अध्ययनका लागि धेरै नेपाली विद्यार्थीको गन्तव्य बनेको छ भने माल्दिभ्स रोजगारीका लागि आकर्षक मानिन्छ ।

त्यस्तै कम्बोडिया आउटबाउण्ड पर्यटनमा जाने नेपालीको गन्तव्य बन्दै छ । यसरी आगमन भिसाले समय र खर्चका बचत हुने मुरारका बताउँछन् । ‘कम्बोडिया र श्रीलङ्का जाँदा मैले ‘अन अराइभल’ भिसा लिएको छु,’ उनले भने, ‘यसले यात्रालाई निकै सरल र कम झन्झटिलो बनाउँछ ।’

अझ रोचक कुरा त के छ भने माइक्रोनेसिया र सेण्ट भिन्सेण्ट एण्ड द ग्रेनाडिन्समा त नेपालीलाई ३० दिने भ्रमणका लागि कुनै भिसा नै चाहिँदैन । गाम्बियामा ९० दिन र डोमिनिकामा २१ दिनको भ्रमणका लागि पनि भिसा लिनुपर्दैन । तर, त्यसरी ‘अन अराइभल’ भिसाका लागि कतिपय मुलुकमा विशेष व्यवस्था गरिएको हुन्छ । त्यसको जानकारी लिन भने बिर्सनुहुँदैन । जस्तै बुरुण्डीमा बुजुम्बुरा विमानस्थलमा मात्र आगमन भिसा दिने व्यवस्था छ भने म्यानमारमा यङ्गुन, नेपिता वा मण्डले विमानस्थल भएर जानुपर्छ । श्रीलङ्कालगायत अन्य कतिपय मुलुकमा फिर्ती टिकट पनि साथमा हुनुपर्छ । सोमालियामा ३० दिनको आगमन भिसा लिन त सकिन्छ । तर, त्यसका लागि त्यहाँको स्पोन्सरकोे पत्र विमानस्थल अध्यागमन कार्यालयमा कम्तीमा २ दिनअघि पेश गरेको हुनुपर्छ । सर्बियामा भने यूरोपेली सङ्घ वा संयुक्त राज्य अमेरिकाको भिसा लिएका व्यक्तिलाई निःशुल्क ९० दिने भिसा प्रदान गरिन्छ । त्यसरी ती मुलुकमा जानुभन्दा अघि सम्बन्धित मन्त्रालयको वेबसाइटबाट वा त्यहाँको परराष्ट्र मन्त्रालयमा ई–मेल गरेर थप जानकारी लिनु उचित हुने राहदानी विभागको भनाइ छ ।

‘अन अराइभल भिसा’ दिने मुलुक
बोलिभिया, बुरुण्डी, कम्बोडिया, केप भर्डी, कोमोरोस, जिबुटी, डोमिनिका, गाम्बिया, गिनिबिसाउ, हैटी, केन्या, लाओस, माडागास्कर, मालावी, माल्दिभ्स, माली, मौरिटानिया, मोरिसस, मेक्सिको, माइक्रोनेशिया, मोजाम्बिक, म्यानमार, पाकिस्तान, पलाउ, फिलिपिन्स, सेण्ट भिन्सेण्ट एण्ड द ग्रेनाडिन्स, समोआ, सर्विया, सेशेल्स, सिङ्गापुर, सोमालिया, श्रीलङ्का, ताञ्जानिया, पूर्वी टिमोर, टोगो, तुभालु, युगाण्डा

December 25, 2014 Published in Aarthik Abhiyan

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...