Thursday, January 1, 2015

काठमाडौंमा पुनः होर्डिङ बोर्ड




ललितपुरमा असारदेखि हटाइने 

चैत १९, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र छिट्टै होर्डिङ बोर्ड देख्न पाइने भएको छ । तर, अब पहिलेजस्तै गरी जथाभावी र आफूले चाहेका ठाउँ र आकारमा भने होर्डिङ बोर्ड राख्न पाइने छैन । गत असारदेखि ६ महीनाको प्रयासबाट महानगर क्षेत्रका होर्डिङ बोर्ड हटाएको काठमाडौं महानगरपालिकाले पुनः त्यस्ता बोर्ड राख्न परामर्श थालेको हो ।

‘होर्डिङ बोर्ड सधैंका लागि हटाउने महानगरपालिकाको नियत होइन । हामीले त त्यसलाई व्यवस्थित र मर्यादित बनाउन मात्रै चाहेका हौं,’ महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत लक्ष्मण अर्यालले भने । त्यसैले हालै महानगरपालिकाले कहाँ, कस्तो र कति आकारको होर्डिङ बोर्ड राख्दा उपयुक्त हुन्छ भन्ने अध्ययनका लागि टेण्डर आह्वान गरेको छ । अध्ययनको सुझावअनुसार नै होर्डिङ बोर्ड खुला गरिने अर्यालले जानकारी दिए । 

होर्डिङ बोर्डले शहरी सौन्दर्य बिगारेको कारण देखाउँदै महानगरपालिकाले गत जेठमै असोजसम्ममा होर्डिङ बोर्ड हटाउन सूचना जारी गरेको थियो । तर, अश्लील तस्वीरहरूले सवारी दुर्घटना बढाएको, नगरपालिकाको स्वीकृतिविनै बोर्ड राखिएको र स्वीकृति लिएकाले पनि नियमित कर नतिरेकोलगायत पनि होर्डिङ बोर्ड हटाउने कारण बनेको सरोकारवालाहरू बताउँछन् । गत असारदेखि थालिएको होर्डिङ बोर्ड हटाउने कार्यले मङ्सिरमा पूर्णता पाएको थियो । काठमाडौं महानगरपालिकाभित्र रहेका झण्डै १ हजार होर्डिङ बोर्डको आधाजति घरमालिक आफैले निकालेको महानगरपालिकाका नगर निरीक्षक शिव पौडेलले जानकारी दिए । ‘महानगरपालिकाले १ सय १३ ओटा बोर्ड जफत गरेपछि सरोकारवाला आफै सक्रिय भइ बोर्ड हटाएका हुन्,’ उनले भने । 

काठमाडौंमा कडाइ गरिएपछि ललितपुर उपमहानगरपालिकामा होर्डिङ बोर्डको सङ्ख्या ह्वात्तै बढेको छ । पछिल्ला दिनमा कुपण्डोल, पुल्चोक, जावलाखेल, लगनखेल क्षेत्रमा ठूला आकारका होर्डिङ बोर्ड थपिएका छन् । काठमाडौंकै जस्तो गुनासो ललितपुरमा समेत सुनिन थालेको उपमहानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत मोहननाथ मास्केले बताए । 

‘त्यसैले आगामी असारदेखि ललितपुरका होर्डिङ बोर्ड व्यवस्थापन थालिनेछ,’ उनले भने । काठमाडौं महानगरपालिकाले १८औं नगरपरिषद् बैठकमा होर्डिङ बोर्ड हटाउने निर्णय गरेको थियो । तर, ललितपुरले त्यस्तो निर्णय नगरेकाले आर्थिक वर्षको मध्यमा होर्डिङ बोर्ड हटाउन नसकिएको मास्केको भनाइ छ । ‘आगामी आवदेखि निश्चित आकारका र सुरक्षित होर्डिङ बोर्ड राखिनेछ । अझ एउटै स्थानमा धेरै विज्ञापन प्रदर्शन गर्न सकिने ‘डिजिटल डिस्प्ले’ राख्ने हाम्रो सोच हो,’ उनले भने । हाल ललितपुरले होर्डिङ बोर्डबाट वार्षिक ७५ लाख रुपैयाँ आम्दानी गर्छ भने काठमाडौंले गतवर्षसम्म वार्षिक करीब २ करोड रुपैयाँ राजस्व पाउँदै आएको थियो । 

डेढ लाख रोजगारी प्रभावित 

काठमाडौं महानगरपालिकाले होर्डिङ बोर्ड हटाएपछि त्यस व्यवसायमा संलग्न झण्डै ३ सय कम्पनी र करीब डेढ लाख रोजगारी प्रभावित भएका छन् । होर्डिङ बोर्ड निर्माण, फिटिङ, ढुवानीलगायतमा संलग्न कामदारदेखि क्रिएटिभसम्मको रोजगारीमा महानगरको निर्णयले असर गरेको व्यवसायीहरू बताउँछन् । महानगरपालिकालले तत्कालै विकल्पको व्यवस्था गरिदिने आश्वासन दिए पनि हालसम्म त्यसका लागि कुनै पहल नगरेको होर्डिङ बोर्ड व्यवसायीहरूको छाता संस्था नेपाल साइनेज एशोसिएशनका सदस्य शङ्कर खड्काको आरोप छ । पहुँच हुने केही व्यवसायीलाई मात्र चुनिएका स्थलमा अधिकार दिने महानगरपालिकाको नियत रहेको व्यवसायीहरू आरोप लगाउँछन् ।

त्यस्तै, होर्डिङ बोर्ड हटाउँदा आउटडोर विज्ञापनको एउटा महत्वपूर्ण प्लेटफर्मको विकल्प समाप्त भएको नेपाल विज्ञापन सङ्घका महासचिव सन्तोष श्रेष्ठको भनाइ छ । ‘होर्डिङ बोर्डलाई नियमन गरी व्यवस्थित बनाउनुपर्छ । तर, पूर्णरूपमा हटाउनु प्रत्युत्पादक भएको छ,’ उनले भने । उनका अनुसार माध्यमको विकल्प कम हुँदा विज्ञापनदाताहरूको विज्ञापन बजेट नै कम हुन्छ । यद्यपि हाल बसस्टेशनमा निर्माण गरिएका प्रतीक्षालयहरू विज्ञापनका माध्यम बनेका छन् । त्यस क्षेत्रमा भने केही मात्रामा रोजगारी सृजना भएको छ । 

April 3, 2014 Published in Aarthik Abhiyan 

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...