Thursday, January 1, 2015

नेपाली साझेदारको खोजीमा १२ डेनिस कम्पनी


फागुन १९, काठमाडौं । 
नेपाली साझेदार खोज्दै १२ डेनिस कम्पनी नेपाल आएका छन् । यहाँ सञ्चालनमा रहेका साना तथा मझौला उद्योगहरूसँग साझेदारीको खोजीमा नेपाल आएका ती कम्पनीले सम्भावित उद्यमीहरूसँग छलफल गरिसकेका छन् । डेनिस टोलीमा हस्तकला, पर्यटन, सूचनाप्रविधि र कृषिक्षेत्रका उद्यमी संलग्न छन् । उनीहरूले आआफ्ना क्षेत्रका उद्यमीसँग अन्तरक्रिया गरी साझेदारीको प्रक्रिया अघि बढाउने नेपालका लागि डेनिस राजदूत क्रिष्टेन गीलानले जानकारी दिइन् । 

डेनिस अन्तरराष्ट्रिय विकास संस्था (डानिडा)को ‘व्यावसायिक साझेदारी’ कार्यक्रमअन्तर्गत ‘म्याचमेकिङ इभेण्ट २०१४’का लागि नेपाल आएका उद्यमीले सोमवार होटल साङ्ग्रिलामा ५० नेपाली कम्पनीहरूसँग छलफल गरेका थिए । सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरज वैद्य, नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष हरिभक्त शर्मा, नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष सुरेश प्रधानलगायतले डेनिस उद्यमीहरूलाई नेपालका उद्योगको अवस्था तथा औद्योगिक वातावरण र सम्भावनाका बारेमा जानकारी गराएका थिए । डेनिस साना तथा मझौला उद्योग महासङ्घका उद्यमी व्यवसायी र डेनमार्कको परराष्ट्र मन्त्रालयका अधिकारीहरू सम्मिलित सो टोलीले ५ दिनसम्म नेपाली उद्यमीहरूसँग भेटघाट, अन्तरक्रिया र फिल्ड भिजिट गर्ने काठमाडौंस्थित डेनिस दूतावासले जानकारी दिएको छ । 

कार्यक्रमले नेपाली उद्यमीहरूलाई सहयोग उपलब्ध गराउने नभई उनीहरूको क्षमता विकास गर्ने लक्ष्य लिएको गीलानको भनाइ छ । ‘डेनिस कम्पनीहरूको दक्षता र प्राविधिक ज्ञानको प्रयोग गरी नेपाली उत्पादनको गुणस्तर अभिवृद्धि गर्ने हाम्रो लक्ष्य हो,’ उनले भनिन्, ‘त्यसमा नेपालमा उपलब्ध सस्तो श्रम तथा कच्चा पदार्थको प्रयोगले साझेदारीका उद्योगहरू सफल हुनेछन् ।’ 

राजदूत गीलानका अनुसार साझेदारीका कम्पनीले मास प्रडक्शन नभई उच्च गुणस्तरमा ध्यान केन्द्रित गर्नेछन् । त्यसैले स्थानीय कम्पनीको छनोटमा सो कुरामा विशेष जोड दिइएको म्याचमेकिङका लागि नेपाली कम्पनी खोज्ने जिम्मा पाएको व्यावसायिक परामर्शदाता कम्पनी विरुवा भेञ्चर्सका म्यानेजिङ पार्टनर विधान राणाको भनाइ छ । उनका अनुसार थप एक कम्पनी २ सातापछि काठमाडौं आउँदै छ भने अन्य आठ कम्पनी पनि नेपाली उद्योगसँग साझेदारीका लागि इच्छुक छन् । 

नेपाली कम्पनीमा डेनिस साझेदारी भने यसअघि नै शुरू भइसकेको छ । हाल अग्र्यानिक खाद्य, हर्बल तथा प्रो–बायोटिक उत्पादन, पश्मिना र दुग्ध उद्योगमा नेपाली–डेनिस सहकार्य भइरहेको छ । नेपाली विनायक फूड र डेनिस कम्पनी सोबोगार्दको सहकार्यमा अग्र्यानिक आइसक्रीम उत्पादन भइरहेको छ । 

त्यस्तै, डेनमार्कको बायो सिनर्जी र नेपालको चौधरी बायोसिसले हर्बल उत्पादनका लागि साझेदारी गरेका छन् भने बायोसा र नेपाल फर्टिलाइजर कम्पनीको साझेदारीमा प्रो–बायोटिक उत्पादन उद्योग सञ्चालित छ । त्यसैगरी लोटस फेब्रिक्स र डेनिस केयर बाइ मिले पश्मिनामा साझेदारी गरेका छन् भने डेनिस होम लुण्ड र थोपालखोला बहुउद्देश्यीय सहकारी मिलेर डेरी उद्योग चलाइरहेका छन् ।

March 4, 2014 Published in Aarthik Abhiyan

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...