Thursday, January 1, 2015

आफ्नै प्रयासमा च्याउ बीउ प्रयोगशाला




फागुन २७, झापा । 
विज्ञान विषयमा स्नातकोत्तरसम्मको अध्ययन गरेर पनि धेरै नेपाली युवा कामको खोजीमा विदेशिएका छन् । स्नातकसम्म अध्ययन गरेका पनि धेरै जागीरको खोजीमा हुन्छन् । अनारमनी–८, बिर्ताबजार निवासी रामबहादुर खत्री त्यस्ता धेरै युवाका लागि प्रेरणा बन्न सक्छन् । सामान्य शिक्षा प्राप्त गरेका उनले आफ्नै लगन र प्रयासमा च्याउको बीउ उत्पादन प्रयोगशाला स्थापना गरी वार्षिक हजारौं किलो बीउ उत्पादन गरिरहेका छन् ।
खत्रीले ४ वर्षअघि दर्ता गरेको पाथिभरा च्याउ उद्योगले वर्षमा ५ सय मन गहुँबाट च्याउको बीउ उत्पादन गर्छ । सिजनमा मासिक करीब ५ लाख रुपैयाँको कारोबार गर्ने उनले मासिक लाखौं रुपैयाँ कमाएका मात्र छैनन्, उनको उद्योगले घरका तीन र बाहिरका दुई गरी पाँच जनालाई रोजगारी पनि दिएको छ । असोजदेखि फागुनसम्म बीउको बढी माग हुने उनी बताउँछन् । गर्मीमा भने ५० प्रतिशतसम्म माग घट्ने गरेको छ । आफ्नै घरको एउटा कोठामा प्रयोगशाला स्थापना गरेका उनले उत्पादित बीउ भण्डारणका लागि अलग्गै ठाउँको व्यवस्था गरेका छन् । ‘मागअनुसार उत्पादन गर्न भने सकिएको छैन,’ उनले भने । सरकारी, गैरसरकारी संस्था तथा निजीक्षेत्रका उद्यमी सबै बीउ खोज्दै उनीकहाँ आउने गरेका छन् । बीउ भण्डार घरमा रहेको सेतोपाटीमा उनले आगामी महीनासम्म आपूर्ति गर्नुपर्ने मागको सूची बनाएका छन् । त्यो सूची नै ११ लाख रुपैयाँभन्दा बढीको छ ।
एसएलसीअगावै पढाइ छोडेर नेपाली सेनाका जागीरे बनेका खत्रीले २०६२ सालमा जमदार पदबाट अवकाश लिएका हुन् । अहिले उनलाई उनकी श्रीमती कृष्णकुमारी र छोरी विमलाले सघाइरहेका छन् । ‘छोरी आफैले बीउ उत्पादनका सबै काम गर्न सक्ने भएकी छिन् । आवश्यक केमिकलको मात्रा, त्यसलाई शीशामा राख्नुपर्ने अवधिको बारेमा उनी पोख्त भइसकेकी छिन्,’ उनी भन्छन्, ‘म त मार्केटिङ र आपूर्तिमै व्यस्त हुन्छु ।’ अहिले आफूले उत्पादन गरेको बीउ नेपालका अधिकांश स्थानमा जाने उनी गर्वसाथ सुनाउँछन् । सबैभन्दा बढी बीउको माग भने अझै पनि काठमाडौं उपत्यकाबाटै आउने गरेको छ ।
पाँच वर्षअघि ६० हजार रुपैयाँबाट शुरू भएको उनको उद्योगमा हालसम्म १० लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)ले सञ्चालन गरेको लघु उद्यम विकास कार्यक्रम (मेडेप)ले सहयोगस्वरूप दिएको गहुँ उसिन्ने स्टीमर अटोक्लिप मेशिनले उनलाई छोटो समयमै धेरै बीउ उत्पादन गर्न सहयोग गरेको छ । केमिकलबाट ढुसी (फङ्गस) बनाउने आधुनिक मेशिन भने उनी आफैले किनेका छन् । भारतका विभिन्न ठाउँ घुमी च्याउको बीउ उत्पादन सिकेका उनले अहिले नयाँ दिल्ली, कोलकातालगायत ठाउँबाट केमिकल ल्याउँछन् । नेपालमा सबै र भनेजस्तो केमिकल नपाउने र पाइए पनि त्यो धेरै महँगो हुने गरेको उनको अनुभव छ । अहिले उनी छोरी विमलालाई च्याउको बीउ उत्पादनका लागि प्राविधिकको लाइसेन्स दिलाउन लागिपरेका छन् ।

March 12, 2014 Published in Aarthik Abhiyan Daily

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...