Thursday, January 1, 2015

जनादेश फेरिने सङ्केत



मङ्सिर ५, काठमाडौं । संविधानसभा निर्वाचनको प्रारम्भिक नतीजाले जनादेश फेरिने बलियो सङ्केत देखिएको छ । २०६४ चैतमा भएको पहिलो संविधानसभा निर्वाचनमा अप्रत्याशित नतीजा ल्याएर सबैभन्दा ठूलो दल बनेको एमाओवादी यसपटक धेरै निर्वाचन क्षेत्रमा पछाडि परिरहेको छ । बुधवार साँझसम्मको मतगणनाले देखाएको परिणाम हेर्दा अधिकांश स्थानमा नेपाली काङ्ग्रेस र नेकपा (एमाले)ले अग्रता लिइरहेका छन् । साँझ ९ बजेसम्मको नतीजाअनुसार काङ्ग्रेसले सबैभन्दा बढी ४३ सीटमा अग्रता लिइरहेको छ भने एमालेले ३० स्थानमा अग्रता कायम गरेको छ । एमाओवादी भने १२ स्थानमा मात्र अगाडि देखिएको छ, जसमध्ये धेरैमा मतअन्तर झिनो रहेको नतीजाहरूले देखाएका छन् ।

एक मधेश एक प्रदेश र माओवादीले भन्दा उग्र जातीयतावादी नाराको सहायताले अघिल्लो संविधानसभामा चौथो, पाँचौं र छैटौं ठूलो शक्ति बनेका मधेशी दलहरूको स्थिति पनि निरीह बन्ने सङ्केत देखिएको छ । ५ वर्षअघि दिएका नारा र वाचामा खरो नउत्रिएका मधेशकेन्द्रित दलहरूको नीतिप्रतिको वितृष्णा आमजनताले भोटमार्पmत व्यक्त गरेका छन् । धनुषा, मोरङ, रूपन्देहीलगायत तराईका जिल्लाहरूमा काङ्ग्रेस र एमालेले लिएको अग्रताले शायद त्यही सन्देश दिइरहेको छ । मजफो (लोकतान्त्रिक) ४ स्थानमा अगाडि छ भने तमलोपा २ र मजफो नेपालले १ स्थानमा मात्र अग्रता लिइरहेका छन् ।
यसअघिका सरकारहरूमा बसेर पनि तराईको विकासका लागि केही नगरेको र व्यक्तिगत स्वार्थमा चिराचिरामा विभाजित भएको भन्ने आरोप खेपिरहेका मधेशकेन्द्रित दलहरूको उपस्थिति अबको संविधानसभामा पातलिने सम्भावना देखिएको छ ।

गएको ५ वर्षमा माधव नेपाल नेतृत्वको सरकारमा बाहेक अन्य समय सत्ताको स्वाद चाख्ने अवसर नपाएको काङ्ग्रेसप्रति आमजनताको सहानुभूति पुनः जागेर आएको प्रारम्भिक नतीजाले देखाएको छ । सत्तामा कम बसेकाले उसले गल्ती पनि कमै गरेको थियो । सत्तामा पटकपटक गएका एमाओवादी, एमाले र मधेशकेन्द्रित दलहरूले संविधान निर्माणलगायत जनपक्षीय मागहरूलाई बेवास्ता गरेको अनुभव आमजनताले गरेका छन् । त्यसमाथि संविधानसभा भङ्ग हुने बेलामा सरकारको नेतृत्व गरिरहेको एमाओवादीलाई यसपटक कमै जनताले पत्याउने सङ्केत पनि मतगणनाको प्रारम्भिक नतीजाले दिएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल स्वयम् काठमाडौं क्षेत्र नं १० मा अप्ठ्यारो स्थितिमा देखिएका छन् । यो समाचार तयार पार्दासम्म उनले काङ्ग्रेसका राजन केसीलाई पछ्याइरहेको स्थिति छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल काठमाडौं क्षेत्र नं २ मा बलियो स्थितिमा देखिएका छन् भने काङ्ग्रेस सभापति सुशील कोइराला चितवन क्षेत्र नं ४ र बाँके क्षेत्र नं ३ मा थोरै मतअन्तरले अगाडि छन् । त्यस्तै, काङ्ग्रेस उपसभापति रामचन्दै पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला र एमालेका उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेललगायत नेताहरूले पनि अग्रता लिइरहेका छन् ।

राप्रपा नेपालले यो निर्वाचनमा अनपेक्षित नतीजा हासिल गर्ने सङ्केत दिएको छ । गणतन्त्रवादीहरूले राजतन्त्रवादी र घोर दक्षिणपन्थीको संज्ञा दिएको राप्रपा नेपालका उम्मेदवारहरूले कतिपय क्षेत्रमा ठूला दलका उम्मेदवारहरूलाई पछ्याइरहेका छन् । प्रत्यक्षमा सीट नजिते पनि उसले समानुपातिकमा राम्रै सीट हासिल गर्ने सम्भावना देखिएको छ । पछिल्लो समय राजतन्त्रको नारालाई मत्थर पार्दै हिन्दू राष्ट्र नेपालको मुद्दामा जोड दिएको राप्रपा नेपालको यो सफलताले प्रजातान्त्रिक तथा गणतान्त्रिक शक्तिहरूलाई सोच्नैपर्ने स्थितिमा पुर्‍याउने भने पक्का छ । त्यस्तै मजफो नेपाल २ स्थान, तमलोपा, राष्ट्रिय जनमोर्चा र राप्रपाले पनि एक/एक स्थानमा अग्रता लिएका छन् ।

November 21, 2013 Published in Aarthik Abhiyan

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...