Thursday, January 1, 2015

व्यावसायिक वातावरणमा सुधार

 उत्पादन बाहिर पठाउन ४२ दिन 
- कम्पनी खारेजीका लागि ५ वर्ष
कार्तिक १२, काठमाडौं 
नेपालमा नयाँ व्यवसाय शुरू गर्न अझ सहज भएको छ । गएको वर्ष व्यवसाय दर्ता प्रक्रियाका लागि पार गर्नुपर्ने १५ ओटा तह घटेर ६ ओटामा झारेको र विभिन्न सरोकारवाला निकायबीच डाटा आदानप्रदान सहज बनाएकाले नेपालको व्यावसायिक वातावरणमा पनि सुधार देखिएको छ । त्यसको फलस्वरूप ‘डुइङ बिजनेश २०१४’ प्रतिवेदनमा नेपाल तीन स्थान माथि उक्लिएको छ । विश्व बैङ्कअन्तर्गतको अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)ले मङ्गलवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार अध्ययनमा संलग्न १८९ मुलुकमध्ये १०५ औंमा रहेको देखाएको हो । दक्षिण एशियामा नेपाल श्रीलङ्का र माल्दिभ्सपछि तेस्रो स्थानमा छ ।
प्रतिवेदनका १० सूचकमध्ये नेपालमा सम्पत्ति दर्ताको स्थिति सबैभन्दा राम्रो रहेको देखिएको छ । सम्पत्ति दर्ता सहज भएका मुलुकमध्ये नेपाल २४औं स्थानमा छ । प्रतिवेदनअनुसार यहाँ सम्पत्ति दर्ता गर्न ५ दिन लाग्छ भने कम्तीमा तीनओटा प्रक्रिया पूरा गर्नुपर्छ । सीमापारको व्यापारमा नेपालको अवस्था सबैभन्दा खराब रहेको छ । सो सूचकमा १८९ मुलुकमध्ये नेपाल १७७औं स्थानमा छ । कुनै सामान नेपालबाट निर्यात गर्न ११ ओटा कागजपत्र तयार गर्नुपर्ने र त्यसका लागि ४२ दिन लाग्ने गरेको छ भने आयातका लागि ११ कागजपत्र र ३९ दिन लाग्ने गरेको छ । कम्पनीको खारेजी र निर्माण अनुमतिका लागि व्यवसायीले कष्ट झेल्नुपर्ने स्थितिको अन्त्य नभएको पनि प्रतिवेदनले देखाएको छ । नेपालमा निर्माण अनुमति पाउन औसतमा १ सय ११ दिन र कम्पनीको खारेजीका लागि ५ वर्ष लाग्छ ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै मुख्य सचिव लीलामणि पौडेलले व्यवसाय दर्ता, कर प्रणालीलगायत क्षेत्रमा रहेका अनावश्यक झन्झट हटाउन नेपालले अझै धेरै काम गर्न बाँकी रहेको औंल्याए । उद्योग सचिव कृष्ण ज्ञवालीले अनलाइन दर्ता प्रक्रियाले प्रतिवेदनमा नेपालको अवस्था सुधार गर्न सघाएको बताउँदै साना तथा मझौला उद्योगका लागि पनि अनलाइन दर्ता प्रक्रिया लागू गर्ने जानकारी दिए ।  
दक्षिण एशियाली मुलुकहरूमा श्रीलङ्का, पाकिस्तान, बङ्गलादेश र भारत गतवर्षको तुलनामा डुइङ बिजनेश वरीयतामा खस्किएका छन् भने माल्दिभ्स गतवर्षकै ९५औं स्थानमा छ । नेपालसँगै भुटान र अफगानिस्तानको स्थितिमा सुधार आएको छ । दक्षिण एशियामा श्रीलङ्का सूचीमा सबैभन्दा माथि ८५औं र अफगानिस्तान सबैभन्दा तल १६४औं स्थानमा रहेका छन् ।
प्रतिवेदनले सिङ्गापुर लगानी र व्यवसाय सञ्चालनका लागि विश्वमै उत्कृष्ट मुलुक रहेको बताएको छ । गतवर्ष पनि सिङ्गापुर सूचीको शीर्षस्थानमै थियो । हङकङ दोस्रोमा छ भने मुख्य भूमि चीन ९६औं स्थानमा रहेको छ । न्यूजिल्याण्ड, अमेरिका र डेनमार्क शीर्ष पाँचमै अटाएका छन् । जापान २७औं र दक्षिण कोरिया सातौं स्थानमा रहेका छन् । अफ्रिकी मुलुकहरू चाड, मध्यअफ्रिकी गणतन्त्र, लिबिया र दक्षिणी सुडान सूचीको अन्तिममा छन् ।

October 30, 2013 Published in Aarthik Abhiyan Daily

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...