Thursday, January 1, 2015

नेपालमा लैङ्गिक विभेद उच्च

प्रतिव्यक्ति आय : पुरुष २,१३० डलर/महिला ८७६ डलर

कात्तिक १०, काठमाडौं । एउटा नेपाली पुरुषले प्रतिवर्ष २ हजार १ सय ३० अमेरिकी डलर कमाउँदा एउटी महिलाले ८ सय ७६ डलर मात्र कमाउँछिन् । यहाँ ज्याला असमानता पनि झण्डै दोब्बर छ । एउटा पुरुषले १ सय रुपैयाँ कमाउँदा महिलाले ५९ रुपैयाँ मात्र हात पार्छिन् । मुलुकमा ८० प्रतिशत प्रोफेशनल तथा प्राविधिक पुरुष छन् भने त्यस्ता पेशामा महिला २० प्रतिशत मात्र छन् । यसले नेपालमा लैङ्गिक विभेद उच्च रहेको स्पष्ट पार्छ । विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ)को पछिल्लो प्रतिवेदनले आर्थिक सहभागिता, शिक्षा र स्वास्थ्यका क्षेत्रमा लैङ्गिक विभेद उच्च रहेको देखाएको छ । मञ्चको ‘ग्लोबल जेण्डर ग्याप रिपोर्ट २०१३’का अनुसार नेपाल अध्ययनमा समावेश १ सय ३६ मुलुकमध्ये नेपाललाई १ सय २१ औं स्थानमा रहेको छ ।
प्रतिवेदनले चार मुख्य सूचकमध्ये राजनीतिक सशक्तीकरणमा मात्रै नेपालको अवस्था सन्तोषजनक रहेको देखाएको छ । सो सूचकमा नेपाल ४१ औं स्थानमा छ भने आर्थिक सहभागिता र अवसरमा १ सय १६ औं, शैक्षिक उपलब्धिमा १ सय ३० औं र स्वास्थ्य तथा जीविकाका क्षेत्रमा १ सय १२ औं स्थानमा छ । प्रतिवेदनले ज्याला समानता, अनुमानित वार्षिक आय तथा विभिन्न पेशाका क्षेत्रमा नेपाली महिलाको स्थिति धेरै कमजोर रहेको तथ्य सार्वजनिक गरेको हो । अनुमानित आय सूचकले नेपालको स्थान १ सय १५ मा देखाएको छ भने साक्षरतामा १ सय २५औं स्थानमा छ । हाल नेपालमा ७१ प्रतिशत पुरुष र ४७ प्रतिशत महिला साक्षर छन् । वरिष्ठ अधिकारी तथा प्रबन्धकजस्ता पदमा १४ प्रतिशत मात्र महिला छन् । प्रतिवेदनले गतवर्षको तथ्याङ्कलाई आधार मानेकाले राजनीतिक सशक्तीकरणमा महिलाको स्थिति राम्रो देखिएको हो । किनकि, संविधानसभामा ३३ प्रतिशत महिलाको उपस्थिति रहेको थियो, जुन अहिले छैन । त्यस्तै, गरीब मुलुकहरूमा महिलाले श्रमशक्तिको महत्वपूर्ण हिस्सा ओगटेको प्रतिवेदनले देखाएको छ, जसअनुसार नेपालमा ८३ प्रतिशत महिला श्रमशक्तिको रूपमा रहेका छन् जबकि पुरुषको प्रतिशत ८९ छ ।
यति हुँदाहुँदै पनि नेपाल गतवर्षको तुलनामा दुई स्थान माथि उक्लिएको छ । खासगरी आर्थिक सहभागिता तथा अवसरका क्षेत्रमा सुधार गरेकाले नेपाल माथि चढेको प्रतिवेदनमा उल्लेख छ । गतवर्ष नेपालले श्रमशक्तिमा महिलाको दरमा सुधार गरी ज्यालादरको अन्तर कम गरेको थियो । गतवर्ष नेपाल १ सय २३औं र सन् २०११ मा १ सय २६औं स्थानमा थियो । सूचकमा समावेश न्यून आय भएका १६ मुलुकमध्ये नेपाल १३औं स्थानमा छ । क्षेत्रीय वरीयतामा पनि नेपाल पाकिस्तानसँगै पुछारमा छ । अफगानिस्तान सूचकमा समावेश छैन । आइसल्याण्ड सूचीको शीर्षस्थानमा छ । आर्थिक सहभागिता र अवसरमा २२औं र स्वास्थ्य तथा जीविकामा ९७औं स्थानमा रहेको यो मुलुक शैक्षिक उपलब्धि र राजनीतिक सशक्तीकरणमा समेत शीर्षस्थानमा छ । फिनल्याण्ड, नर्वे, स्वीडेन र फिलिपिन्स सूचीको शीर्ष पाँच स्थानमा छन् । पाँचौं स्थानको फिलिपिन्स र १०औं स्थानको निकारागुआबाहेक सूचीको शीर्ष दशमा यूरोपेली मुलुक मात्रै छन् । बेलायत १८औं र अमेरिका २३औं स्थानमा रहेको प्रतिवेदनले देखाएको छ ।


October 28, 2013 Published in Aarthik Abhiyan

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...