Thursday, January 1, 2015

सेकेण्ड ह्याण्ड मेशिनको भरमा मुद्रण उद्योग


- कानूनविपरीत रिकण्डिशण्ड मेशिन आयात
- सरकार बेखबर


असार ४, काठमाडौं । नेपाली मुद्रण उद्योग सेकेण्ड ह्याण्ड अर्थात् रिकण्डिशन गरिएका मेशिनको भरमा चलेको छ । हाल सञ्चालनमा रहेका प्रिण्टिङ प्रेसमध्ये झण्डै ९० प्रतिशत प्रेस सेकेण्ड ह्याण्ड छन् । नेपाल मुद्रण उद्योग महासङ्घका अनुसार यहाँ १० प्रतिशतको हाराहारीमा मात्र नयाँ मेशिन भित्रिएका छन् । भारत, जर्मनी, बेलायतलगायत मुुलुकबाट एकपटक बिग्रिएर मर्मत गरेका तथा विभिन्न पार्टपुर्जा फेरेका छापाखाना नेपाल भित्रिने गरेको व्यवसायीहरू बताउँछन् । 

नेपाली कानूनले यसरी रिकण्डिशन गरिएका तथा सेकेण्ड ह्याण्ड मेशिन ल्याउन प्रतिबन्ध लगाएको छ । भन्सार विभागका उपमहानिर्देशक तोयम राया भन्छन्, ‘प्रिण्टिङ प्रेसमात्र होइन, कुनै प्रकारको पुरानो मेशिनरी सामान नेपालमा आयात गर्न पाइँदैन ।’ नेपाल भित्रिने प्रिण्टिङ प्रेस वीरगञ्ज र भैरहवा नाकाबाट नेपाल भित्रिने गरेको छ । नेपाली मुद्रण व्यवसायीहरूले पोली, एडाष्ट, हाइडेलबर्ग, प्लानेटा, कोमारी, रोल्याण्डलगायत ब्राण्डका प्रिण्टिङ प्रेस सञ्चालन गरिरहेका छन् । यी सबै ब्राण्ड तेस्रो मुलुकका हुन् । तेस्रो मुलुकबाटै सेकेण्ड ह्याण्ड मेशिन नेपाल आउन सम्भव नभएको नेपाल समुद्रपार निकासी पैठारी सङ्घका अध्यक्ष अशोक अग्रवालको भनाइ छ । तर, तेस्रो मुलुककै प्रसिद्ध ब्राण्डका रिकण्डिशण्ड मेशिन नेपालमा छ्याप्छ्याप्ती छन् । हाल नेपालमा १ हजार ५ सयजति छापाखाना सञ्चालनमा छन् । 

कतिपय मेशिन त ‘भारतमा उत्पादित’ भन्ने ट्याग लगाएर नेपाल आउने गरेका छन् । त्यसैले यसमा एउटा ठूलै गिरोह सक्रिय रहेको हुन सक्ने अनुमान व्यवसायीहरूको छ । सो गिरोहले तेस्रो मुलुकका मेशिनहरू भारतमा ल्याई त्यहाँको ट्याग लगाएर नेपाल पठाउने उनीहरू बताउँछन् । सेकेण्ड ह्याण्ड मेशिन बेच्नका लागि एजेण्टहरूमार्पmत काम हुने गरेको छ । ‘नेपाली व्यवसायीहरू ठूलो रकम खर्च गरेर यूरोप तथा जापान गई मेशिन हेर्न सक्दैनन् त्यसैले मेशिनको गुणस्तर तथा अन्य सुविधाका बारेमा दलालहरूमा नै भर पर्नुपर्छ,’ एक व्यवसायीले भने । 

पुरानो मेशिन किन्दा गुणस्तरको कुनै ग्यारेण्टी नहुने भएकाले व्यवसायीहरू ठगिएका पनि छन् । त्यस्तै, कतिपय मेशिनको उत्पादन बन्द भएको नेपाली व्यवसायीलाई थाहा हुँदैन, तर उनीहरू त्यही ब्राण्ड किनिरहेका हुन्छन् । त्यस्तो अवस्थामा मेशिनको मर्मत तथा स्पेयर पार्टस्मा ठूलो समस्या सृजना हुने गरेको नेपालका लागि जर्मन ब्राण्ड हाइडेलबर्ग प्रिण्टिङ मेशिनका अधिकृत विक्रेता कृष्ण कायस्थले जानकारी दिए ।

त्यसका साथै, विभिन्न दुर्घटनामा परेर बिग्रिएका मेशिनहरू छोटो समयमै बिग्रने गरेका उदाहरणहरू पनि छन् । तर, यसबारेमा व्यवसायीहरू खुल्न भने चाहँदैनन् । अभियानले सम्पर्क गरेका धेरै व्यवसायीहरूलाई यसरी पुरानो मेशिन आयात गर्नु गैरकानूनी हो भन्ने थाहा नभएको देखियो । 

नयाँ र सेकेण्ड ह्याण्ड मेशिनको मूल्यमा निकै ठूलो अन्तर छ । यूरोप तथा जापानमा बनेको प्रिण्टिङ मेशिनको मूल्य ७ देखि १२/१४ करोड रुपैयाँसम्म पर्छ भने रिकण्डिशन गरिएको सोही मेशिन ८० लाख देखि २ करोड रुपैयाँसम्ममा पाइन्छ । यसरी मूल्यमा आकाश–जमीनको फरक भएका कारण उद्योगी–व्यवसायीहरूले पुरानो मेशिन मगाउने गरेका छन् । बुटवलस्थित पशुपति स्क्रिन प्रिण्टिङका सञ्चालक गोपाल गैरे भन्छन्, ‘नेपालमा धेरै चलेको जर्मन ब्राण्ड हाइडेलबर्गको नयाँ मेशिनलाई १४ करोड रुपैयाँ पर्छ भने त्यही मेशिन सेकेण्ड ह्याण्डलाई २ करोड रुपैयाँजतिमा पाइन्छ ।’ नयाँ मेशिनको मूल्य उच्च भएकै कारण नेपाली तथा अन्य विकसित मुलुकका मुद्रण व्यवसायीहरूले सेकेण्ड ह्याण्ड मेशिन आयात गर्ने गरेको महासङ्घ अध्यक्ष उदय श्रेष्ठ बताउँछन् । पछिल्ला वर्षहरूमा वर्षेनि २० देखि ३० ओटा प्रिण्टिङ मेशिन नेपाल आयात हुने गरेका छन् ।

June 19, 2014 Published in Aarthik Abhiyan

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...