Thursday, January 1, 2015

उत्पादक, व्यापारी र उपभोक्ताको त्रिवेणी



फागुन १ गतेदेखि वीरगञ्जमा शुरू हुने ‘नेपाल–भारत व्यापार मेला २०१४’ मा भारतीय उद्योगी–व्यवसायीको उल्लेख्य सहभागिता रहने भएको छ । हालसम्म भारतीय पक्षले मेलाका १० ओटा स्टल बूकिङ गरिसकेका छन् । मेलामा भारतीय उद्योगी–व्यवसायीका कृषिउपज, सेवा र औद्योगिक उत्पादनका स्टल रहने मेला संयोजक रवीन्द्रकुमार वरनवालले जानकारी दिए । मेलामा भारतीय व्यवसायीको सहभागिता बढाउन वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले काम गरिरहेको छ । नेपाल र भारतबीचको व्यापारिक सम्बन्ध विस्तारका लागि अति महत्वपूर्ण मानिएको मेलाले दुई देशबीच आर्थिक तथा व्यापारिक विकास र प्रविधि तथा दक्षता आदानप्रदानमा उल्लेख्य सहयोग पुग्ने महावाणिज्यदूत एस.एम. अख्तर बताउँछन् ।
मेला आयोजक वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार वैद्य मेलामा तेस्रो मुलुकका व्यवसायी पनि सहभागी हुने सम्भावना भएको बताउँछन् । ‘बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका व्यवसायी यहाँ आउने सम्भावना छ,’ उनले भने । उनका अनुसार मेलामा करीब ५ लाख दर्शक आउने अपेक्षा गरिएको छ । भारतका सीमावर्ती क्षेत्रबाट पनि ठूलो सङ्ख्यामा दर्शक आउने उनको भनाइ छ । अहिले मेलाको तयारी तीव्र रूपमा अघि बढेको छ । मेलाको तयारीका लागि मुख्य मेला आयोजक समिति र १५ उपसमिति सक्रिय छन् । मेलाको आयोजनास्थल वीरगञ्ज रङ्गशालामा स्टल तथा अन्य पूर्वाधार निर्माणको काम भइरहेको वरनवालले बताए । उपसमितिहरूले टिकट विक्री, सरसफाइ तथा खानेपानी, स्वास्थ्य सेवा, सुरक्षा, कृषि पेभेलियनलगायतका क्षेत्रमा काम गरिरहेका छन् । दर्शकको सजिलोका लागि वीरगञ्जका रेष्टुराँहरूबाट टिकट विक्रीको व्यवस्था मिलाइने भएको छ ।
नेपालको आर्थिक राजधानी र मुलुकको प्रवेशद्वारको उपमा पाएको वीरगञ्ज उपमहानगरपालिकामा आयोजना हुने १० दिने व्यापार मेला सफल पार्न यहाँका उद्योगी–व्यवसायी, सरकारी तथा गैरसरकारी निकाय सबै लागिपरेका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयले आफ्नो तर्फबाट हुन सक्ने सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै जिल्ला तथा उपमहानगरपालिकामा रहेका सम्पूर्ण सरकारी निकायलाई मेलाको स्वामित्व लिई काम गर्न निर्देशनसमेत दिएका छन् । ‘यो मेला हामी सबैको हो । त्यसैले, बारा–पर्सा औद्योगिक कोरिडोरका सम्पूर्ण उद्योग सहभागी हुनुपर्छ । त्यसका लागि हामी सबैको प्रयास जरुरी छ,’ उनले भने ।
मेलालाई वीरगञ्ज र आसपासका पर्यटकीय सम्भावना उजागर गरी पर्यटक आकर्षित गर्ने माध्यम बनाउन प्रयास गरिने भएको छ । त्यसका लागि वीउवा सङ्घले बारा र पर्साका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको जानकारीसहितको ब्रोसर प्रकाशन गर्ने भएको छ । ब्रोसरलाई मेलाको अवसरमा सार्वजनिक गरिनेछ । यहाँ पर्यटकीय गतिविधि बढाउन सकेमा त्यसले होटल तथा अन्य सेवा–व्यवसायमा सकारात्मक प्रभाव पार्ने पर्साका स्थानीय विकास अधिकारी गजेन्द्रकुमार ठाकुरले बताए ।
साना उद्यमीका लागि मेला राम्रो ‘प्लेटफर्म’ बन्ने वरनवालले बताए । साथै, मेला रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाताबीच भेटघाटको माध्यम पनि बन्ने उनको विश्वास छ । मेलामा लघु उद्यम, कृषि, अटो, उद्योग तथा सामग्री, सूचनाप्रविधि तथा इलेक्ट्रोनिक्स, गार्मेण्ट, दैनिक उपभोग्य सामग्री तथा फूड स्टल रहनेछन् । बालबालिकाका लागि बाल उद्यान तथा विभिन्न मनोरञ्जनात्मक खेलको पनि व्यवस्था गरिएको छ । त्यसैगरी मेलामा विभिन्न गायक–गायिकाले गीतसङ्गीत प्रस्तुत गर्नेछन् भने राष्ट्रिय तथा स्थानीय कलाकारको मनोरञ्जनात्मक प्रस्तुति पनि रहनेछ । मेलामा आउने दर्शक तथा सहभागीको प्राथमिक उपचारका लागि एउटा मेडिकल टीम तैनाथ रहनेछ । त्यसमा एक एमबीबीएस डक्टर र दुई पारामेडिक रहनेछन् भने स्ट्रेचर र एम्बुलेन्सको व्यवस्था पनि रहनेछ ।
नेपाल टेलिकमले निःशुल्क वाईफाई तथा ल्याण्डलाइन टेलिफोनको व्यवस्था गर्ने भएको छ भने अतिरिक्त बीटीएस टावर थप्ने सम्बन्धमा पनि छलफल भइरहेको नेपाल टेलिकम वीरगञ्ज वितरण केन्द्रका प्रमुख अरुणकुमार चौधरीले जानकारी दिए ।
२०५७ सालमा वीउवा सङ्घका तत्कालीन अध्यक्ष बाबुलाल चाचनको कार्यकालमा वीरगञ्जमा पहिलोपटक मध्यमाञ्चल औद्योगिक व्यापार मेला आयोजना भएको थियो । त्यसको दोस्रो संस्करणका लागि अर्को ६ वर्ष पर्खनुपर्‍यो । २०६३ सालमा विजयकुमार सरावगीको कार्यकालमा वीरगञ्जमा दोस्रोपटक व्यापार मेला सम्पन्न भएको थियो । त्यस्तै, मेलाको चौथो संस्करण अशोक टेमानीको कार्यकालमा २०६८ सालमा अयोजना भएको थियो ।


January 31, 2014 Published in Aarthik Abhiyan

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...