Thursday, January 1, 2015

गौतमबुद्ध विमानस्थलमा एडीबीको ५ अर्ब

लागत अनुमान १० अर्ब

माघ १९, काठमाडौं । भैरहवास्थित गौतमबुद्ध विमानस्थलका लागि एशियाली विकास बैङ्क (एडीबी)ले ५ अर्ब रुपैयाँ (५ करोड डलर) ऋण सहयोग गर्ने भएको छ । ऋण सहयोगका लागि एडीबीले सहमति दिइसकेको र बैङ्कको बोर्डले त्यसलाई औपचारिक स्वीकृति दिन मात्र बाँकी रहेको अर्थ मन्त्रालयअन्तर्गतको अन्तरराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख मधुकुमार मरासिनीले जानकारी दिए । ‘यसपछि झण्डै ३ करोड डलरबराबरको थप ऋण दिन पनि एडीबी सकारात्मक देखिएको छ,’ उनले भने । उनका अनुसार सन् २०१८ को अन्त्यसम्ममा विमानस्थलको स्तरोन्नतिको काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
सन् २०१२ को अन्त्यमा विमानस्थलका लागि ३ करोड ६० लाख डलरबराबर सहुलियतपूर्ण ऋण दिन एडीबी सहमत भएको थियो । त्यसबेला सो विमानस्थल स्तरोन्नतिका लागि ४ करोड २० लाख डलर लाग्ने अनुमान गरिएको थियो । तर, एक कोरियाली परामर्शदाताले गरेको अध्ययनले ७ करोड ७० लाख डलर लाग्ने बताएपछि परियोजना नै अन्योलमा परेको थियो ।
पछिल्लो अनुमानअनुसार विमानस्थल स्तरोन्नतिका लागि ९ करोड ५५ लाख डलर लाग्ने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतीशचन्द्र लाल सुमनले जानकारी दिए । ‘परियोजनामा प्राधिकरणको २ करोड २० लाख डलर लगानी रहनेछ,’ उनले भने । वर्षौंदेखि स्तरोन्नतिका लागि प्रयास भइरहे पनि काम अघि बढ्न नसकेका बेला एडीबीको सहयोगले विमानस्थलको स्तरोन्नति सुनिश्चित भएको छ ।
सन् २००९ मा एडीबीले गरेको  अध्ययनअनुसार पहिलो चरणको स्तरोन्नतिका लागि ३ करोड ८० लाख डलर लाग्ने अनुमान गरिएको थियो । तर, त्यसपछि पटकपटक प्रयास हुँदै आए पनि विमानस्थल स्तरोन्नतिको काम अघि बढ्न सकेको थिएन । गौतमबुद्ध विमानस्थल स्तरोन्नति परियोजना निर्माण आयोजनाले गत मङ्सिरमा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल बनाउन पहिलो चरण निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । एडीबीको सहमतिमा सुधारिएको खरीद प्रणालीअनुसार बोलपत्र आह्वान गरिएको सुमनको भनाइ छ ।
सिभिल वर्क र विद्युतीय तथा अन्य प्राविधिक उपकरण गरी दुई चरणमा निर्माण सम्पन्न गरिने प्राधिकरणले जानकारी दिएको छ । त्यसैअनुरूप पहिलो चरणको निर्माणका लागि बोलपत्र आह्वान गरिएको हो । पहिलो चरणमा पूर्वाधार निर्माणसम्बन्धी कामहरू सम्पन्न गरिनेछन्, जसअन्तर्गत ३ हजार मिटरको रनवे, कण्ट्रोल टावर, अन्तरराष्ट्रिय टर्मिनल भवन, ट्याक्सी वे, अग्नि नियन्त्रण भवन, मेण्टिनेन्स भवन, एयर कार्गो भवन, सुरक्षा पोष्ट, नदी डाइभर्सनलगायत काम गरिनेछ । सन् २०१४ को मध्यतिरबाट निर्माणको काम शुरू हुने बताइएको छ । दोस्रो चरणमा धावन मार्ग तथा भवनमा उपकरण जडान गर्नेलगायत काम हुनेछन् ।
सो विमानस्थल निर्माणसँगै संसारभरकै बौद्धमार्गी तथा अन्य पर्यटकका लागि आकर्षक गन्तव्य मानिएको लुम्बिनीको पर्यटनको विकासले गति लिने पर्यटनकर्मीहरू बताउँछन् । त्यसले श्रीलङ्का, चीन, थाइल्याण्डजस्ता बौद्ध धर्मावलम्बी भएका मुलुकबाट पर्यटकलाई सीधै लुम्बिनीमा ल्याउन सकिनेछ । साथै, त्यसलाई त्रिभुवन विमानस्थलको विकल्पका रूपमा पनि प्रयोग गर्न सकिनेछ । सन् १९५८ जुलाईबाट सञ्चालनमा आएको भैरहवा विमानस्थल हाल ८४ बिगाहा क्षेत्रफलमा फैलिएको छ ।

February 3, 2014 Published in Aarthik Abhiyan

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...