Thursday, January 1, 2015

विज्ञापन एजेन्सी ‘समाचार कक्ष’जस्तै हुनेछन्



माइकल म्याडेल
एशिया प्यासिफिक अध्यक्ष, जे वाल्टर थम्सन


अबका दिनमा विज्ञापन पनि समाचारजस्तै निश्चित डेडलाइनमा अपडेट भइरहने प्रकृतिको हुने बताउने माइकल म्याडेल विश्वकै ठूला विज्ञापन निर्माता कम्पनीमध्ये एक जे वाल्टर थम्सनका एशिया–प्यासिफिक क्षेत्रका प्रमुख तथा कम्पनीका बोर्ड सदस्य हुन् । सन् १९९० मा जेडब्ल्यूटी जर्मनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतका रूपमा थम्सन प्रवेश गरेका उनी त्यसको ३ वर्षपछि मध्य तथा पूर्वी यूरोपेली क्षेत्रका निर्देशक र सन् १९९७ मा यूरोप, मध्यपूर्व र अफ्रिकाका अध्यक्ष भएका थिए । समग्र विश्वलाई नै गाँजिरहेको आर्थिक मन्दीले विज्ञापन उद्योगमा प्रत्यक्ष असर पारेको छ । यही सन्दर्भमा गत साता नेपाल भ्रमणमा आएका म्याडेलसँग जेडब्ल्यूटी, विज्ञापन तथा यसका विविध आयामबारे आर्थिक अभियानका मोदनाथ ढकालले गरेको कुराकानीको सार : 


जेडब्ल्यूटी डेढ शताब्दी लामो इतिहास बोकेको कम्पनी हो । अझ विश्व विज्ञापन उद्योग नै यसैसँग हुर्केको भन्दा हुन्छ । यसको हालसम्मको विकासक्रम र सफलतालाई कसरी परिभाषित गर्नुहुन्छ ?

विगतका वर्षहरूमा जेडब्ल्यूटीले ठूला चुनौती र परिवर्तनहरू भोगेको छ । विज्ञापनको इतिहासमा कहिल्यै पनि आजको जस्तो तीव्र विकास र परिवर्तनहरू भएका थिएनन् । र, अहिले भएका परिवर्तनहरू निकै महत्वपूर्ण पनि छन् । त्यसैले कहिलेकाहीँ म आफु नै यस उद्योगमा पाहुना भएजस्तो लाग्छ । यो व्यवसायमा हुनुको सौन्दर्य नै यही हो । अहिले जुन गतिमा प्रविधिको विकास भइरहेको छ, त्यो अचम्मलाग्दो छ । प्रविधिले हामीले र हाम्रा ब्राण्डले कसरी उपभोक्तासँग सञ्चार गर्छन् भन्ने विषयमा क्रान्तिकारी परिवर्तन ल्याइदिएको छ । त्यति मात्र होइन, अहिले उपभोक्ताहरू बीचमै हुने सञ्चारले कुनै पनि कम्पनी वा उत्पादनको ब्राण्डिङमा प्रत्यक्ष प्रभाव पार्छ । त्यसैले अवको सञ्चार त्यसलाई सम्बोधन गर्ने खालको हुनुपर्छ । उपभोक्ताबीचमा हुने त्यस्तो सञ्चार ब्राण्डिङका लागि निर्णायक हुने गरेको छ । 

यो सबै परिवर्तन निकै छोटो समयमा सम्भव भएको छ । केही दशकअघि हामीले ब्राण्ड र उपभोक्ताबीच संवाद स्थापना गथ्र्यौं । यो मूलतः एकतर्फी हुन्थ्यो । त्यसबेला उपभोक्ताहरूले विज्ञापन र अन्य प्रवद्र्धनात्मक सञ्चारको बाढीको सामना गनुपथ्र्यो । र जति बढी मिडियाको प्रयोग गर्न सकियो त्यो त्यति नै बढी प्रभावकारी सञ्चार हुन्थ्यो । त्यसपछिको सञ्चार अन्तरक्रियात्मक हुन थाल्यो । र, विस्तारै त्यसले त्रिकोणात्मक  रूप लियो । अहिले ब्राण्ड, उपभोक्ता र समुदाय गरी तीन क्षेत्रबीच सञ्चार हुन थालेको छ । ब्राण्डिङका लागि सञ्चार गर्दा समुदायलाई बिर्सने ब्राण्ड लामो समय टिक्न नसक्ने स्थिति आइसकेको छ । अर्को शब्दमा भन्नुपर्दा उपभोक्ता र समुदायबीचको सम्बन्ध ब्राण्ड र उपभोक्ताबीचको भन्दा धेरै बलियो हुन्छ । त्यसलाई बुझ्नु जरुरी छ । समुदायमा हुने सञ्चार तत्काल र प्रभावकारी हुन्छ । हाम्रो चुनौती भनेको त्यसलाई बुझेर अगाडि बढ्नु हो । उपभोक्ता र समुदायबीचको जस्तै सञ्चार ब्राण्डसँग स्थापना गर्नु हो । त्यसैले मलाई के लाग्छ भने भविष्यका विज्ञापन एजेन्सी भनेका पत्रिका वा टीभीका ‘समाचार कक्ष’जस्तै हुनेछन् । उदाहरणका लागि कुनै पनि टीभी च्यानलले ब्रेकिङ समाचारलाई केही घण्टा वा दिनपछि दिउँला भनेर पर्खेर बस्दैन । उसले १० मिनेटभित्रैमा त्यो समाचार दिनुपर्छ वा धेरैजसो अवस्थामा तत्कालै ‘लाइभ’ दिनुपर्ने पनि हुन सक्छ । अहिले तीव्र गतिमा विकसित भइरहेको प्रविधि र समाजले विज्ञापनलाई पनि त्यस्तै गरी लाइभ वा तत्काल अपडेट वा परिमार्जन गर्नुपर्ने हुनेछ । नभए तपाईंको सञ्चार नै असान्दर्भिक हुन्छ । 

  • अहिले ब्राण्ड, उपभोक्ता र समुदाय गरी तीन क्षेत्रबीच सञ्चार हुन थालेको छ ।
  • सोसल मिडियाकै कारण ब्राण्ड र उत्पादनले सार्वजनिक बहसमा ठाउँ पाएका छन् । त्यसले उपभोक्तामा ब्राण्डप्रति थप अपनत्वको भावना सृजना भएको छ ।
  • कुनै पनि ब्राण्ड सफल हुन त्यसको ‘पर्सनालिटी’ निर्माण गर्नु जति आवश्यक छ, उत्पादनप्रतिको इमानदारी पनि उत्तिकै जरुरी छ । तपाईं कमसल उत्पादन लिएर विज्ञापनकै भरमा बजारमा लामो समय टिक्न सक्नुहुन्न ।
  • क्रियटिभिटी अथवा विचारको गुणस्तर विज्ञापनका लागि साध्य होइन, साधन मात्र हो । जति नै क्रियटिभ विचार भए पनि त्यसले उत्पादनको विक्री बढाउन सकेन भने त्यो काम लाग्दैन ।
  • हामी आफ्नो विचारबाट आफै प्रभावित हुन वा कुनै अवार्ड हात पार्न यो व्यवसायमा लागेका होइनौं ।

त्यसमा सोसल मिडियाको कस्तो भूमिका रहला ?


सोसल मिडिया निकै शक्तिशाली भएर आइरहेको छ । सोसल मिडिया र समुदायकै कारण कुनै पनि ब्राण्डको स्वामित्व अब कम्पनी वा उत्पादकसँग मात्र छैन । त्यो ब्राण्डको मूल्य बाँडिएको छ । सोसल मिडियाकै कारण ब्राण्ड र उत्पादनले सार्वजनिक बहसमा ठाउँ पाएका छन् । त्यसले उपभोक्तामा ब्राण्डप्रति थप अपनत्वको भावना सृजना भएको छ । 


त्यसो भए जेडब्ल्यूटीको सफलताको आधार के हो ?
विज्ञापनमा डेढ शताब्दी बिताउनु चानचुने कुरा होइन । तर, हाम्रो सफलताको कुरा गर्ने हो भने दुईओटा कुरा मुख्य रूपमा आउँछन् । समयोचित योजना बनाउनु, बदलिँदो र समय सुहाउँदो हुँदै जानु । हामी धेरै क्षेत्रमा पायोनियर हौं । पहिलो टेलिभिजन विज्ञापन, टेष्टिमोनियल, रिसर्चलगायतमा जेडब्ल्यूटी विश्वकै पहिलो एजेन्सी हो । ती कुराको इतिहास हामीसँगै शुरू हुन्छ । त्यसैले सफलता भनेको कुनै एक वा दुई घटना वा उपलब्धिका कारण हुने होइन । यो त तपाईं समयसँग चल्न र विकसित हुन सक्नुहुन्छ कि हुन्न त्यसमा भर पर्छ । हाम्रा पूर्वप्रमुखहरू सधैं हामी सदैव असन्तुष्ट रहने प्राणी हौं भनिरहनुहुन्थ्यो । त्यसको अर्थ हो, तपाईं नयाँ कुराप्रति उत्सुक र खुला रहनुहुन्छ भने मात्र तपाईं समयअनुसार चल्न सक्नुहुन्छ । १ सय ५० वर्ष पुगेको अवसरमा हामीले केही नयाँ गर्ने योजना पनि बनाएका छौं । 



विश्वले अहिले भोगिरहेको आर्थिक चुनौतीले सम्पूर्ण व्यवसायमा नकारात्मक असर पारेको छ । विज्ञापन उद्योगमा त झन् गम्भीर असर परेको छ । यो चुनौतीसँग जुध्न जेडब्ल्यूटीले के कस्ता उपायहरू अपनाएको छ ? एशिया प्यासिफिक क्षेत्रको स्थिति कस्तो छ ?

विश्वमा अहिले तीव्रगतिमा ध्रुवीकरण हुँदै गइरहेको छ । अहिले एशियाले विश्व अर्थतन्त्रको नेतृत्वको तयारी गरिरहेको छ । दक्षिण अमेरिका, पूर्वी यूरोपेली मुलुकहरू पनि राम्रो गरिरहेका छन् । यद्यपि समग्र यूरोपको अवस्था त्यति सन्तोषजनक छैन । अमेरिका पनि बजेट घाटा कम गर्न सङ्घर्ष गरिरहेको छ । ठूला अर्थतन्त्रहरू समस्यासँग जुधिरहेका छन् । त्यसो त एशियामा पनि चुनौतीहरू नभएका भने होइनन् । उदाहरणका लागि चीनको अवस्था अहिले राम्रो भए पनि उसको अवतरण कस्तो होला भन्नेमा धेरैमा शङ्का छ । भारतमा हुने आगामी चुनावले अर्थतन्त्रलाई नयाँ दिशा दिनेछ भन्ने मलाई लागेको छ । त्यस्तै, फिलिपिन्स, म्यानमार लगायत मुलुकमा पनि सकारात्मक लक्षणहरू देखिइरहेका छन् । अहिले हामी एक्लै वा विश्व प्रभावबाट अछूतो रहन सक्दैनौं । मध्यम वर्गको उदय, प्रतिव्यक्ति आयमा वृद्धि, बढ्दो उपभोक्तावादी संस्कृतिलगायतले एशियाली अर्थतन्त्रलाई नयाँ दिशा दिइरहेका छन् । अहिले यो क्षेत्र आयातमा मात्र भर परिरहेको छैन । त्यसैले यहाँ प्रशस्त सम्भावना छन् ।


अनेक खालका चुनौती हुँदाहुँदै पनि जेडब्ल्यूटी कसरी नेपालमा टिक्न सकिरहेको होला भनेर धेरैले आश्चर्य पनि मानेका छन् । यहाँ टिकिरहने तपाईंको सूत्र के हो ? अनि थम्सनसँग त्यस्तो के छ जसले उसलाई नेपालमा रहेका ४ सयजति विज्ञापन एजेन्सीभन्दा फरक बनाएको छ ?


हाम्रो टीम निकै बलियो छ । हाम्रो उपस्थिति भएका ९० भन्दा बढी मुलुकमा हामीले निकै दक्ष कर्मचारीको साथ पाएका छौं । अर्कातर्फ समयक्रसँगै हामीले दिने सेवामा गुणस्तरीय सुधार आएको छ । सेवामा हामीले इन्नोभेशन ल्याएका छौं । सबैभन्दा ठूलो कुरा त हामी गुणस्तरीय सेवाबाट कहिल्यै चुकेनौं । आफ्ना ग्राहकले खोजेको जस्तै उत्पादन दिन हाम्रो टीम सक्षम छ । उनीहरूले आफुले तिरेको मूल्यको उचित प्रतिफल पाएका छन् । मैले केही विज्ञापनदातासँग पनि कुरा गरिसकेको छु । म यहाँको टीमबाट प्रभावित छु । 



अहिले नेपालले लामो राजनीतिक सङ्क्रमणकाल भोगिरहेको छ, जसले सबै क्षेत्रमा अनिश्चितता सृजना गरेको छ । अर्थतन्त्र र उद्योगव्यवसाय मन्दीमा छन् । यस्तो बेलामा सबैभन्दा पहिले विज्ञापन बजेटमा प्रभाव पर्छ । यस्तो चुनौतीपूर्ण समयमा तपाईं आफ्ना क्लाइण्टलाई ब्राण्डिङ र विज्ञापनका लागि कस्तो सल्लाह दिनुहुन्छ ?

त्यसका लागि एउटै उपाय गुणस्तरीय सेवा हो । आजका लागि मात्र फाइदा खोज्नेहरू लामो समय टिक्दैनन् । हामी केही दिन वा वर्षका लागि व्यवसायमा छैनौं त्यसैले दीर्घकालीन सोचका साथ काम गर्नुपर्छ । र, दीर्घकालीन योजनाविना ब्राण्डिङ प्रभावकारी हुँदैन । यसले तपाईंलाई कतिपय अनिश्चितता हटाउन र अल्पकालीन असफलताबाट नआत्तिन सघाउँछ । कुनै पनि ब्राण्ड सफल हुन त्यसको ‘पर्सनालिटी’ निर्माण गर्नु जति आवश्यक छ, उत्पादनप्रतिको इमानदारी पनि उत्तिकै जरुरी छ । तपाईं कमसल उत्पादन लिएर विज्ञापनकै भरमा बजारमा लामो समय टिक्न सक्नुहुन्न । मैले माथि नै भनिसकेँ अहिले हरेक उत्पादन समुदायमा बहसको विषय बन्छ र कमसल वस्तु तथा सेवाहरू विस्तारै पछाडि पर्दै जान्छन् । 


जेडब्ल्यूटीले विश्वभर नै आफ्ना ‘विचार र रचनात्मक उत्पादन’ (आइडियाज एण्ड क्रियटिभ प्रडक्ट) को गुणस्तरमा जोड दिँदै आएको छ । नेपाली विज्ञापनको गुणस्तरका बारेमा तपाईं के भन्नुहुन्छ ?

मैले धेरै नेपाली विज्ञापन हेरेको छैन । तर, नेपाली विज्ञापन उद्योग क्रियटिभिट छ भन्ने मलाई लाग्छ । अर्कातर्फ राम्रो सृजना गर्नका लागि ठूलो मुलुक नै हुनुपर्छ भन्ने छैन । यहाँको प्रतिस्पर्धा कस्तो छ भन्ने कुराले पनि विज्ञापन क्याम्पेनको गुणस्तरमा प्रभाव पार्छ । मलाई के लाग्छ भने क्रियटिभिटी अथवा विचारको गुणस्तर विज्ञापनका लागि साध्य होइन, साधन मात्र हो । जति नै क्रियटिभ विचार भए पनि त्यसले उत्पादनको विक्री बढाउन सकेन भने त्यो काम लाग्दैन । र, हामी आफ्नो  विचारबाट आफै प्रभावित हुन वा कुनै अवार्ड हात पार्न यो व्यवसायमा लागेका होइनौं । हामी कुनै पनि उत्पादनको विक्री र बजार बढाउन विज्ञापन उद्योगमा छौं । विचार र विक्रीबीचको सम्बन्ध कहिल्यै पनि बिर्सनु हुँदैन । यही नै बटमलाइन हो । त्यसका लागि हाम्रो सञ्चार शैलीमा भने परिवर्तन हुनु जरुरी छ । अहिलेसम्म हामीले गरेको सञ्चार ‘कष्ट इनपुट मोडल’मा छ । यसलाई ‘भ्यालु आउटपुट मोडल’मा लैजानुपर्छ । सञ्चारले प्रतिफल दिनुपर्छ । विज्ञापनदातालाई आफ्नो ब्राण्ड निकै प्रिय हुन्छ । विज्ञापनमा त्यो प्रतिविम्बित हुनुपर्छ । त्यसैको आधारमा विज्ञापनदाताले हाम्रो मूल्य तिर्ने हो । 



क्रियटिभिटी, मिडिया छनोट, रिसर्च र प्लेसमेण्ट । यीमध्ये विज्ञापनको प्रक्रियामा सबैभन्दा महवपूर्ण तत्व कुन हो ?

कुनै वस्तु तथा सेवाको विज्ञापन निर्माण गर्दा उपभोक्ताबारेको ज्ञानले निकै ठूलो महत्व राख्छ । यो रिसर्चभन्दा बेग्लै कुरा हो । रिसर्चले निकै ठूलो तथ्याङ्क त दिन्छ तर मुख्य कुरा त त्यो तथ्याङ्कबाट उपभोक्ताका सम्बन्धमा कति ज्ञान लिन सकिन्छ त्यो महत्वपूर्ण कुरा हो । त्यसैले उपभोक्तामाथिको अन्तरदृष्टि विज्ञापनका लागि पहिलो आवश्यक कुरा हो । त्यो अन्तरदृष्टिलाई हामीले कसरी आकर्षक र सान्दर्भिक सोचमा ढाल्न सक्छौं, त्यो दोस्रो कुरा हो । त्यसपछि त्यो विचारलाई फैलाउनका लागि उपयुक्त माध्यम छनोटको कुरा आउँछ । त्यसका लागि कुनै ‘शर्टकट’ छैन । अन्तरदृष्टि, विचार र माध्यम छनोट एकअर्कासँग जोडिएका छन् । यदि कुनै एकमा पनि तपाईं चुक्नुभयो भनेजति नै पैसाको खोलो बगाए पनि तपाईंको विज्ञापनले विक्री बढाउँदैन । त्यो व्यर्थ हुन्छ । 



इण्टरनेटमा पहुँच निकै कम भएको नेपालजस्तो मुलुकमा ‘डिजिटल विज्ञापन’को विकास कसरी हुन सक्ला ? अनि ब्राण्डिङमा सोसल मिडियाको प्रभावकारी प्रयोग नि ?


डिजिटल विज्ञापनको बजार बढ्नेमा कुनै शङ्का छैन । व्यवसायलगायत सबै कुरा डिजिटल बन्दै गएकाले विज्ञापन त्यसबाट अलग रहन सक्दैन । अबक दिनमा डिजिटल र न्यू मिडिया विज्ञापन सस्तो पनि हुनेछ । कुनै पनि विज्ञापनदाताले अहिले दोहोरो शुल्क तिर्नुपरेको छ । विज्ञापन निर्माणका लागि एजेन्सीलाई र प्रकाशन प्रसारण गर्न मिडियालाई । न्यू मिडियामार्फत त्यो खर्चमा धेरै कमी ल्याउन सकिन्छ । पछिल्ला दिनहरूमा न्यू मिडिया विज्ञापनमा काम गर्नेहरू पनि प्रशस्तै आएका छन् । अहिले स्थापना भएका ती कम्पनी छिट्टै स्थापित बन्ने आशा गर्न सकिन्छ । पहिले डिजिटल विज्ञापन शोखजस्तो थियो, अहिले आवश्यकता बनिसकेको छ । 



नेपालमा अझै पनि अडिट ब्यूरो अफ सर्कुलेशन (एबीसी) र रेटिङ एजेन्सी छैनन् । यस्तो बजारमा लक्षित अडियन्ससम्म पुग्न सही माध्यमको छनोट कसरी हुन सक्छ ? नेपाली विज्ञापन उद्योगका लागि के कस्ता ‘सपोर्ट एजेन्सी’को कमी देख्नुहुन्छ ?

यसमा म ठ्याक्कै यही हुन्छ भनेर भन्न सक्दिनँ । अब नेपालमा किन एबीसी तथा रेटिङ एजेन्सी छैनन् भन्ने कुरा पनि तपाईंहरूलाई नै बढी थाहा होला । तर, मुलुकको आर्थिक समृद्धिसँगै आगामी दिनमा यस्ता समस्याको पनि समयोचित सम्बोधन त होला नै । त्यसबेला व्यवसायीहरूले पनि सही तथ्याङ्क खोज्लान् । यो त समयको कुरा पनि हो । तर, ती संस्था भएमा विज्ञापन व्यवसायीलाई निकै सजिलोचाहिँ हुने थियो । सही तथ्याङ्कले उनीहरूलाई आफ्नो निर्णय वा मिडिया छनोटमा ढुक्क हुन सघाउँछ । त्यसले सबैलाई फाइदा नै पुर्‍याउनेमा कुनै शङ्का छैन । 



बढ्दो सञ्चारमाध्यमको सङ्ख्यासँगै विज्ञापनको भीड पनि बढेको कुरालाई कसरी लिनुभएको छ ?


विज्ञापनको जति नै भीड भए पनि उत्कृष्ट र सान्दर्भिक सृजनाले आप्mनो ठाउँ बनाइ छाड्छ । मानिसहरू राम्रो विज्ञापन हेर्नेछन् र कुरा गर्ने छन् । टीभी च्यानल तथा अन्य सञ्चारमाध्यमहरूको तीव्र वृद्धिले पनि विज्ञापनको भीड बढ्लाजस्तो लागेको हो । तर, सञ्चारमाध्यमको सङ्ख्या जति बढी भयो, तपाईंलाई त्यति नै बढी फाइदा हुन्छ । किनकि त्यसले एकै खालको सन्देश ठूलो जनसङ्ख्यामा पुर्‍याउन मद्दत गर्छ । प्रत्येक सञ्चारमाध्यमको आफ्नै खालको ‘पर्सनालिटी’ र प्रभाव हुन्छ । उनीहरूका लक्षित वर्ग पनि फरक फरक हुन्छन् । तर, ती सबैबाट जाने सन्देशमा निहित अर्थ भने एउटै हुनुपर्छ । नभए त त्यो ‘कम्युनिकेशन सुसाइड’ हुन्छ । 


सफल विज्ञापन क्याम्पेनको उदाहरण दिनुपर्दा कुन विज्ञापनलाई सम्झिनुहुन्छ ?


हामीले केही महीना पहिले किटक्याट चक्लेटको विज्ञापन गरेका थियौं । मैले माथि भनेको थिएँ नि, अबका विज्ञापन एजेन्सी ‘समाचार कक्ष’जस्तै हुनेछन् । गत अक्टोबरमा फेलिक्स बाउमगार्टनर को ऐतिहासिक ‘स्पेस जम्प’का बेला जेडब्ल्यूटीले किटक्याटलाई अन्तरिक्षमा पठाएको थियो । त्यसबेला उनी अन्तरिक्षमै भएका बेला हामीले २४ घण्टाभित्रै विज्ञापन तयार गरेर सार्वजनिक गरेका थियौं । त्यो निकै सुन्दर र सान्दर्भिक बनेको थियो । मौसमको खराबीले गर्दा बाउमगार्टनरको ‘जम्प’मा ढिलाइ भएको थियो, त्यही अवसरमा जेडब्ल्यूटी लण्डनले किटक्याटलाई अन्तरिक्षमा पठाउने सोच बनाएको हो । त्यसले उनको साहसिक कार्यलाई समर्थन मात्र गरेन, किटक्याटको ब्राण्डिङमा पनि ठूलो फाइदा पुग्यो । 


जेडब्ल्यूटी

सन् १८६४ मा विलियम जेम्स कार्लटनले स्थापना गरेको कम्पनी नै हालको जेडब्ल्यूटी बनेको हो । सन् १८७७ मा जेम्स वाल्टर थम्सनले कार्लटनबाट कम्पनी किनेपछि यसलाई ‘द जेम्स वाल्टर थम्सन कम्पनी’ बनाएका हुन् । त्यसपछि जे. वाल्टर थम्सन बनेको यो कम्पनीलाई सन् १९८७ मा सर मार्टिन सोरेलको डब्ल्यूपीपी ग्रूपले किनेको हो । सन् २००५ मा जे. वाल्टर थम्सनलाई जेडब्ल्यूटीका रूपमा रिब्राण्डिङ गरिएको हो । सन् २००९ मा ‘एडवीक’ पत्रिकाले जेडब्ल्यूटीलाई विश्वकै उत्कृष्ट विज्ञापन एजेन्सीको सम्मान दिएको थियो । जेडब्ल्यूटीको नेपाल व्यवसाय थम्सन नेपालले सञ्चालन गर्छ । नेपाललगायत विश्वका ९० भन्दा बढी मुलुकमा २ सय कार्यालयबाट सेवा सञ्चालन गरिरहेको जेडब्ल्यूटीमा १० हजार कर्मचारी काम गर्छन् । कम्पनीले जोन्सन एण्ड जोन्सन, नोकिया, शेल, रोलेक्स, किम्बर्ली क्लर्क, एचएसबीसी, युनिलिभरलगायत विश्वभरका १ हजार २ सय कम्पनीलाई सेवा दिइरहेको छ । 

जेडब्ल्यूटी टेलिभिजन विज्ञापन बनाउने विश्वको पहिलो विज्ञापन एजेन्सी हो । त्यसैगरी अन्तरराष्ट्रिय नेटवर्क स्थापना, महिला क्रिएटिभ डाइरेक्टर नियुक्ति, टेष्टिमोनी विज्ञापन निर्माणलगायतमा पनि यो एजेन्सी पायोनियर रहेको छ । जेडब्ल्यूटीले डिजिटेरिया नामको वेबसाइट डिजाइन कम्पनी पनि सञ्चालन गरिरहेको छ, जसले क्रियटिभ कण्टेण्ट निर्माण, अनलाइन मार्केटिङ आदि क्षेत्रमा काम गर्दै आएको छ ।

March 18, 2013 Published in Aarthik Abhiyan Daily

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...